सेल्फ क्वारेन्टाइनमा बस्दै, काममा फर्किंदै

विमल खतिवडा

काठमाडौँ — बुटवल–नारायणगढ सडक आयोजनामा कार्यरत पाँच जना कामदार चीनबाट फर्किएको शुक्रबार २३ दिन भयो । चितवनको भरतपुर अस्पतालका चिकित्सकले गत आइतबार र्‍यालको नमुना लगे पनि रिपोर्ट दिन ढिला गर्दा उनीहरू लामो समयसम्म सेल्फ क्वारेन्टाइनमा बस्न बाध्य भए । 

सेल्फ क्वारेन्टाइनमा बस्दै, काममा फर्किंदै

रिपोर्ट नेगेटिभ आएपछि बिहीबारबाट सबै काममा फर्किएका छन् । ‘२४ घण्टामा रिपोर्ट आउने भनिए पनि ढिलो आयो,’ गैंडाकोट–दाउन्ने सडकखण्डका प्रमुख सुजन अधिकारीले भने, ‘अस्पातलमा फोन गर्दा टेकुतिरै बुझ्न भने, उतै रिपोर्ट बुझ्दा नेगेटिभ आयो, अहिले सबै काममा फर्किसकेका छन् ।’ लामो समय क्वारेन्टाइनमा बस्नुपर्दा सबैजना आत्तिएको अधिकारीले बताए ।


सडकको दुई खण्डमा ठेक्का लगाएर विस्तारको काम थालिएको हो । दुवै सडकखण्डका इन्चार्ज मिस्टर लिन हुङ ताओ हुन् । ‘इन्चार्जसहितको टिम सेल्फ क्वारेन्टाइनमा बसेका हुन्,’ उनले भने, ‘स्वास्थ्यकर्मीबाट रिपोर्ट दिन ढिलाइ हुँदा काममा सुस्ती आएको हो ।’ १५ जनाको टोली नयाँ वर्ष मनाउन चीन गएको थियो । पाँच जना फर्किए पनि, अझै १० जना आएका छैनन् । इन्चार्ज नहुँदा कामबारे छलफल हुन सकेको छैन । योजनाबद्ध रूपमा काम गर्न समस्या भएको प्रमुख अधिकारी बताउँछन् । नेपाली कामदार पनि काम गर्न डर मान्न थालेका छन् । दुवै खण्डमा गरेर ४० चिनियाँ कामदार कार्यरत छन् ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले पछिल्लो समय गति लिन सकेको छैन । ‘चिनियाँ कामदार आउनेजाने क्रम चलिरहन्छ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले भने, ‘अहिले कोभिड–१९ ले गर्दा समस्या भएको हो, नयाँ वर्ष मनाउन गएका कामदार समयमै नआउँदा सेड्युअलअनुसार काम हुन सकेको छैन ।’


पोखरा विमानस्थलमा काम गर्नेमध्ये केही चिनियाँ कामदार पनि चीन गएका थिए । त्यसमा चीन गएका ४० जनामध्ये २५ जना फर्किसकेका छन् । त्यस्तै चीनबाट नयाँ ८२ जना कामदार आएका छन् । ‘जति आए उनीहरू सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किसकेका छन्,’ मुनकर्मीले भने, ‘तर काममा दुई महिना ढिला भयो ।’ यो विमानस्थलमा २ सय ५० भन्दा बढी चिनियाँ कामदार कार्यरत छन् ।


प्राविधिक र कामदार नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति पनि घटेको छ । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ठेक्का लिएको विमानस्थलमा कार्यरत प्राविधिकसहितको टोली नयाँ वर्ष मनाउन चीन गएर नफर्किएपछि समस्या भएको हो । नयाँ वर्ष मनाउन गएका २० जना दक्ष प्राविधिकमध्ये ५ जना फर्किएका छन् ।


‘एसीसम्बन्धी काम गर्ने प्राविधिक फर्किएको पाँच दिन भयो,’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘अहिले उनीहरू सेल्फ क्वारेन्टाइनमा छन् ।’ प्राविधिक कामदार नहुँदा विमानस्थलमा उपकरण जडानको काम प्रभावित बनेको छ ।


यी आयोजनाका अतिरिक्त चक्रपथ दोस्रो खण्ड, सुरुङ र मेट्रो रेलको विस्तृत अध्ययन चीनबाट प्राविधिक टोली आउन नसक्दा हुन रोकिएको छ । ‘काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम गरिहाल्ने भनिएको थियो,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘कोभिड–१९ ले गर्दा टोली आउन सकेन, त्यही भएर अध्ययनको काम अनिश्चित बनेको छ ।’

प्रकाशित : चैत्र ९, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?