मूल्यवृद्धि ६.८७ प्रतिशत

यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको ६ महिनामा बजार भाउ (मूल्यवृद्धिदर) ६.८७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २.५२ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धिदर ४.३५ प्रतिशत थियो । गत माघसम्मको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ६.८७ प्रतिशत हो । 

मूल्यवृद्धि ६.८७ प्रतिशत

गएको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.६५ प्रतिशत छ । सो अवधिमा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । ‘शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ,’ राष्ट्र बैंकको सात महिनाको प्रतिवेदनमा भनिएको छ ।


माघसम्म काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ७.५८ प्रतिशत छ । यस्तो दर तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत छ । ०७५ माघमा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ५.१९ प्रतिशत, तराइको ३.४४ प्रतिशत, पहाडको ४.९१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत थियो ।


गत माघमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७.१३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१८ प्रतिशत थियो । ‘गएको ६ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुाजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.५१ प्रतिशत, ७.७० प्रतिशत र २.९४ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत माघमा निर्माण सामग्रीको थोक मूल्य ३.८९ प्रतिशतले घटेको छ ।’


गत माघमा नेपालको मूल्यवृद्धिदर भारतको भन्दा बढी हो । भारतमा यस्तो (फेब्रुअरी महिनाको) मूल्यवृद्धिदर ६.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मूल्यवृद्धिदर क्रमशः ४.३५ प्रतिशत र २.५७ प्रतिशत थियो ।

प्रकाशित : चैत्र ५, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?