२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

निगमले मलेसिया उडान पनि रोक्यो

सुरज कुँवर

काठमाडौँ — मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशी नागरिकलाई रोक लगाएपछि नेपाल वायुसेवा निगमले मंगलबारदेखि क्‍वालालम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

निगमले मलेसिया उडान पनि रोक्यो

निगमले अर्को निर्णय नभएसम्मलाई क्‍वालालम्पुरको उडान रोकेको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार चैत ४ देखिका उडानका लागि बिक्री भएका टिकट फिर्ता गर्नुपरेमा सबै रकम भुक्तानी गर्ने जनाएको छ । जेठ १७ गतेसम्म यात्रुहरुले उडानको मिति परिवर्तन पाउने र त्यस्को शुल्क नलाग्ने जनाएको छ ।


निगमले क्‍लालालम्पुरमा सातामा ७ वटा उडान गर्दै आएको थियो । उडान नै रद्द गर्नुपरेको यो दोहापछि दोस्रो गन्त‍व्य हो । प्रवक्ता अर्चना खड्काअनुसार, यात्रु अभाव हुँदै गएपछि निगमले दिल्ली, बैङ्लोर, मुम्बई, बैंकक र हङकङका हुँदै आएका नियमित उडानमा केही संख्या कटौती गर्दै उडान गरिरहेको छ । यी स्थानबाहेक यस्ले जापानको नारिता र दुबईमा उडान जारी नै राखेको छ ।


यसैबीच सातामा ४ वटा उडान गर्दै आएको कोरियन एयरले यात्रु अभाव भएपछि मंगलबारदेखि अर्को शनिबारसम्मका ६ वटा उडान रद्द गरेको छ । त्यस्तै निजी क्षेत्रको हिमालय एयरलायन्सले दुई साताका लागि दमामका उडान स्थगन गरेको छ । साउदी अरबमा विदेशीलाई प्रवेश रोक लगाइएपछि उसले चैत १५ गतेसम्मका लागि दुई साता उडान स्थगन गरेको जनाएको छ ।


यता नेपाल सरकारले विदेशी नागरिकलाई भिसामा रोक लगाएपछि हङकङको क्याथे ड्रयागनले काठमाडौं उडान शुक्रबारदेखि एक महिना बन्द गरेको छ । काठमाडौंस्थित क्याथेको कार्यालयका अनुसार बैशाख १८ सम्म क्याथेले उडान गर्ने छैन । अहिले यसले काठमाडौं–हङकङ–काठमाडौं सातामा ५ वटा उडान गर्ने अनुमति पाएको छ ।


एयरबसको ए–३३० जहाजबाट हङकङ हुँदै अस्ट्रेलिया, जापान, कोरिया जाने नेपाली तथा पर्यटक लैजान्थ्यो भने चीनलगायत प्यासेफिक क्षेत्रबाट पर्यटक ल्याउँथ्यो । क्याथे अघि कोरोना प्रभावका कारण चीनको तिब्बत एयरलायन्स र सिचुवानले उडान स्थगन गरेका छन् ।

त्यस्तै काठमाडौंबाट भारतको बनारस सातामा दुइटा उडान गर्दै आएको बुद्ध एयरले आइतबारदेखि बैशाख १८ गतेसम्मका लागि उडान स्थगन गरेको छ । भारत सरकारले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकाले उडान स्थगन गरेको जनाइएको छ ।

प्रकाशित : चैत्र ४, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?