कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

द्रुतमार्गका तीन सुरुङ बनाउन टेन्डर

आयोजनाले ६ कम्पनी सर्टलिस्ट गर्नेछ, त्यसमध्ये एउटालाई सुरूङको जिम्मा दिइनेछ
विमल खतिवडा

काठमाडौँ — नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा सुरुङ बनाउन प्रिक्वालिफिकेसन (पूर्वयोग्यता निर्धारण) गर्न टेन्डर आह्वान गरिएको छ । तीन वटा सुरुङ निर्माणका लागि टेन्डरमा ४५ दिनको समय दिइएको छ ।

द्रुतमार्गका तीन सुरुङ बनाउन टेन्डर

टेन्डर हाल्ने कम्पनीमध्ये द्रुतमार्ग आयोजनाले छ वटा कम्पनी सर्टलिस्ट गर्नेछ । त्यसमा पनि एउटा छानेर उसलाई सुरुङ निर्माणको जिम्मा लगाइनेछ । ‘सुरुमा अन्तर्राष्ट्रिय परामर्शदाता (कन्सल्टेन्ट) नछानी काम अघि बढ्दैन,’ सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘सार्वजनिक खरिद ऐन र आर्थिक ऐन नियमावलीमा टेकेर छनोट प्रक्रिया जारी छ ।’ पूर्वयोग्यता निर्धारणका लागि पनि कन्सल्टेन्ट छान्नुपर्छ । त्यसका लागि पाँच वटा अन्तर्राष्ट्रिय परामर्शदाता प्रतिस्पर्धामा छन् । तीमध्ये एक जना परामर्शदाता छानिने उनले बताए ।


‘अहिले परामर्शदाता छनोटमा मूल्यांकनको काम भइरहेको छ,’ उनले भने, ‘वैशाख २६ मा पाँचमध्ये एक जना छान्नेछौं ।’ त्यसपछि सुरुङ निर्माण गर्ने ठेक्का प्रक्रिया अघि बढ्नेछ । ‘छानिएका परामर्शदाता १५ दिन फिल्डमा जानेछन्,’ उनले भने, ‘उक्त परामर्शदाता जेठ पहिलो साताबाट फिल्डमा पुग्नेछ ।’ सडकमा पर्ने पुल, सुरुङ र बाटोको काम आगामी आर्थिक वर्षबाट मात्र सुरु हुनेछ ।


‘ढिलो नहोस् भनेर अहिलेबाटै त्यसको तयारी थालेका हौं,’ उनले भने । सुरुङका लागि आवश्यक कागजपत्र छानिएका परामर्शदाताले तयार गर्ने उनले बताए । अहिले तयार गरेको कागजपत्र रुजु गर्ने काम पनि उसैले गर्ने उनको भनाइ छ ।


सुरुङको काम तीन ठाउँबाट अघि बढाइनेछ । महादेवडाँडा, धेद्रे र लेनडाँडामा गरी ६.४१ किमि सुरुङ खनिने प्रवक्ता पाण्डेले जानकारी दिए । महादेवडाँडामा ३.३५ किमि, धेद्रेमा १.६३ किमि र लेनडाँडा १.४३ किमि रहेको उनले बताए । ‘सुरुङमार्ग निर्माण क्षमता अन्तर्राष्ट्रिय निर्माण व्यवसायीबाहेक अरूसँग छैन,’ उनले भने, ‘त्यसैले इच्छुक अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पूर्वयोग्यता निर्धारणमा भाग लिने गरी टेन्डर गरिएको हो ।’ घटीमा तीन र बढीमा छ वटा निर्माण कम्पनी छान्ने व्यवस्था छ । ‘त्यसैले पूर्वयोग्यता निर्धारणबाट छ वटा निर्माण कम्पनी छान्नेछौं,’ उनले भने, ‘त्यसबाट पनि थप एउटा निर्माण कम्पनी छानेर ठेक्का लगाउनेछौं ।’


७२.५ किमि लम्बाइको द्रुतमार्गमा अहिले सडक बनाउने काम भइरहेको छ । ललितपुरको खोकनाबाट सुरु हुने सडक बाराको निजगढमा पुगेर टुंगिनेछ । पुल र सुरुङमार्गको ठेक्कासमेत भएको छैन । आर्थिक वर्ष ०८०/८१ मा निर्माण सक्ने भनिए पनि पुल र सुरुङ निर्माणको काम सुरु नै नभएकाले तोकिएकै समयमा नसकिने निश्चितप्रायः छ । यो सडकमा कुल १०.५९ किमि पुल बनाइनेछ । निर्माण हुने ८७ पुलमध्ये १६ वटा विशेष पुल हुनेछन् ।


द्रुतमार्गमा ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम भइरहेको छ । ०७४/७५ मा २० र ०७५/०७६ मा १० वटा ठेक्का गरिएको हो । यसमध्ये पाँच प्याकेजमा सेना आफैंले काम गरिरहेको छ । मख्खुबेंसी, सिस्नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले काम आफ्नै जनशक्तिमा काम गरिरहेको छ । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । त्यस्तै काठमाडौं ४ किमि, ललितपुर ७.९ र बारामा ७.६ किमि छ । द्रुतमार्गको सुरु लागत अनुमान १ खर्ब ११ अर्ब रुपैयाँ रहेकामा संशोधित अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ छ ।

प्रकाशित : चैत्र २, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?