१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुनको मूल्य पाँच दिनमा ५५ सय रुपैयाँ घट्यो

कोभिड–१९ ले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सिर्जना भएपछि मूल्य घटेको विश्लेषण

काठमाडौँ — सुनको मूल्य पाँच दिनमा प्रतितोला ५ हजार ५ सय रुपैयाँ घटेको छ । गत मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य पाँच दिनमा ५५ सय रुपैयाँ घट्यो

शनिबारसम्म घटेर प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।


‘कोभिड–१९ ले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सिर्जना भएको छ,’ उनले भने, ‘सेयर मार्केट पनि घट्दो छ । अहिले सबैले डलरमा लगानी गरिरहेका छन् । त्यसैले डलर बढेर गएको छ । सुनको भाउ भने घटेको छ ।’ बजारमा मागभन्दा आपूर्ति बढी भएकाले सुन कारोबार हुन नसकेको उनको भनाइ छ । फागुनमा सुनको मूल्यले कीर्तिमानी पनि राखे । यो समयमा एक दिनमा सुनको मूल्य २ हजार २ सय रुपैयाँ बढेको र ३ हजार रुपैयाँ पनि घटेको शाक्यले बताए ।


‘सुनको मूल्यमा भएको गिरावटले घरेलु सुन कारोबारमा समेत असर पुगेको छ,’ उनले भने, ‘हिजोसम्म विवाहको लगन भएकाले आवश्यक पर्नेले किनिरहेका थिए । यसअघि सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँसम्म झर्ने संकेत देखिएको थियो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा अझ तल आउने विश्लेषण गरिएको छ ।’


घरेलु बजारमा बुधबार छापावाल सुन प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला १ हजार १ सय रुपैयाँ घटेर ८१ हजार २ सय रुपैयाँमा कारोबार भयो । शुक्रबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँ घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


अन्तर्राष्ट्रिय बजारमा सुन शुक्रबार प्रतिऔंस १ हजार ५ सय ९० डलरमा कारोबार भएको थियो । शनिबारसम्म ३० डलर प्रतिऔंस घटेर १ हजार ५ सय ३० डलरमा कारोबार भयो ।


चीनबाट सुरु भएको कोभिड–१९ विभिन्न राष्ट्रमा फैलिएपछि आर्थिक गतिविधि घटेकाले सुनको मूल्यमा प्रभाव पारेको विश्लेषण गरिएको छ । भाइरसको संक्रमणले विश्व अर्थतन्त्रमा प्रभाव पारेपछि लगानीकर्ता डलरतर्फ आकर्षित भएका भएको जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा लगानीका अन्य क्षेत्र राम्रो हुन नसकिरहेको अवस्थामा डलरमा लगानीकर्ताको आकर्षण बढेको उनीहरूको विश्लेषण छ ।

प्रकाशित : चैत्र १, २०७६ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?