३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कोरोना प्रभावित देशबाट हुने आयातमा कडाइ गरिँदै, भारतबाट भने तस्करी  

‘मासुजन्य उत्पादनमा देश आत्मनिर्भर उन्मुख रहेकाले उपभोक्ता समस्यामा पर्दैनन्’
राजु चौधरी

काठमाडौँ — सरकारले कोरोना भाइरसबाट अति प्रभावित मुलुकबाट आयात हुने प्याकेजिङ प्रडक्टमा कडाइ गर्ने भएको छ । ती मुलुकबाट आयात गर्दा रोगको जोखिम बढ्न सक्ने जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृहकार्य थालेको हो । 

प्याकेजिङ प्रडक्ट आयातका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट आयात परमिट लिनुपर्छ । विभागले आयातकर्तालाई अनौपचारिक रूपमा यसबारे आग्रह गरिसकेको छ ।


औपचारिक रूपमा निर्णय गर्न मन्त्रालय र विभागबीच छलफल भइरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । ‘चीन, दक्षिण कोरिया, जापान, इरान र इटालीमा बढी समस्या देखिएको छ,’ महर्जनले भने, ‘अति संक्रमण फैलिएका मुलुकबाट केही कडाइ गर्न खाजेका हौं । यसका लागि छलफल भइरहेको छ ।’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि यस विषयमा छलफल भइरहेको उनले बताए । मन्त्रालयको निर्देशन आएलगत्तै आयात परमिट बन्द गरिने उनको भनाइ छ ।


संक्रमण बढी फैलिएका ५ मुलुकमध्ये सबैभन्दा बढी प्याकेजिङ प्रडक्ट चीन, कोरिया र जापानबाट आयात हुन्छ । तर नेपालमा बढी आयात हुने पहिलो मुलुकमा भारत पर्छ । भारतपछि सबैभन्दा बढी आयात चीनबाट हुने गरेको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको ७ महिनामा चीनबाट १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँको सामग्री आयात भएको छ । सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । दक्षिण कोरियाबाट ५ अर्ब ५२ करोडको आयात भएको छ । नेपालमा सामान आयात गरिने मुलुकमध्ये दक्षिण कोरिया १३औं नम्बरमा छ । कोरियामा १० करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सारको तथ्यांक छ । जापानबाट ३ अर्ब ६७ करोड बराबरको सामान आयात भएको छ । जापान नेपालमा सामान आयात हुने २२औं नम्बरमा छ । त्यहाँ ६३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । विभागका अनुसार इरान र इटालीबाट आयात न्यून छ । विभागले मुख्यत: मासुजन्य वस्तुमा कडाइ गर्न खोजेको प्रवक्ता महर्जन बताउँछन् ।


‘परमिट दिने क्रममा कहाँबाट कति आयात गर्ने, आयातका क्रममा कति दिन लाग्ने, कति दिनमा आयात हुनेलगायत विषयलाई गम्भीरतासाथ हेरिरहेका छौं,’ उनले भने, ‘आयातकर्तालाई मासुजन्य वस्तु नल्याउन सचेत गराइसकेका छौं ।’ पछिल्लो दिनमा चीनबाट आयात नभएको उनले जानकारी दिए । मासुजन्य पदार्थमा देश आत्मनिर्भर उन्मुख रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ । आयात नभए पनि मासुजन्य पदार्थ अभाव नहुने मन्त्रालयको दाबी छ । कोरोना संक्रमण फैलिएका मुलुकबाट आयात गर्दा रोग सर्ने सम्भावना हुने भएकाले क्वारेन्टाइनमा कडाइ गर्न खोजिएको हो । मन्त्रालयका अनुसार कोरोना भाइरसको प्रकोप मुख्यत: जनावरबाट सरेको अध्ययनले देखाइसकेको छ । ‘यो रोगको निगरानी गर्ने सम्बन्धमा मन्त्रालयका प्रतिनिधिसहित पशुसेवा विभागले कार्यदल गठन गरेको छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘प्रमाणपत्रबिना पशुजन्य पदार्थ ती मुलुकमा भित्रिए नियमानुसार नष्ट गर्न क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिएका छौं ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने वायुसेवाबाट कुनै यात्रुले पशु वा पशुजन्य पदार्थ लिई आएको भए त्यसको जानकारी विमानस्थलस्थित पशु क्वारेन्टाइन चेकपोस्ट र विमानभित्र जानकारी गराउन नागरिक उड्यन प्राधिकरणसँग पशुसेवा विभागलाई समन्वय गर्न भनिएको केसीले बताए ।


भारतबाट भने तस्करी

मन्त्रालयले क्वारेन्टाइनमा कडाइ गर्न निर्देशन दिए पनि खुला सिमानाका कारण अवैध रूपमा प्रशस्त पशुपन्छी भित्रिरहेको छ । नेपालको तुलनामा भारतमा कुखुरा सस्तो छ । जसले गर्दा तस्करी भइरहेको व्यवसायी नै बताउँछन् । ‘अवैध कुखुरा धादिङ, धार्के हुँदै आयात भइरहेको छ,’ कुखुरा व्यवसायी विष्णु खड्काले दाबी गरे, ‘विडम्बना, क्वारेन्टाइन कार्यालयकै मिलोमतोमा खुला रूपमा मासु भित्रिने गरेको छ ।’ उनका अनुसार भारतमा कप ४००जातको कुखुरा पालिन्छ । उक्त कुखुराको खुट्टा लामो र छाती चुच्चो किसिमको हुन्छ ।


नेपालमा कप ५०० जातका कुखुरा पालिन्छ । यो कुखुराको खुट्टा छोटो र छाती पनि गोलो हुन्छ । ‘बर्डफ्लू र कोरोनाका कारण भारतमा कुखुरा सस्तो छ । त्यहाँ सय रुपैयाँमै एउटा कुखुरा पाइन थालेको छ,’ उनले भने, ‘त्यसैले त्यताको कुखुरा तस्करी गरेर आयात भएको छ ।’ तस्करीमा पशु सेवा विभागको पनि मिलोमतो रहेको व्यवसायीको भनाइ छ । विभागका महानिर्देशक वंशी शर्माले भने मासु एवं कुखुरा आयातमा कडाइ गरिएको दाबी गरे । ‘अति प्रभावित मुलुकबाट आयात हुने पशुपन्छीमा कडाइ गरेका छौं,’ उनले भने ।


प्रकाशित : फाल्गुन २७, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?