रेललाई कर्मचारी पाइएनन्- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रेललाई कर्मचारी पाइएनन्

विमल खतिवडा

काठमाडौँ — जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालन हुने रेलका लागि आवेदन मागिएको संख्यामा कर्मचारीका लागि एउटा पनि निवेदन परेको छैन । यसले रेल सञ्चालन झन्झन् ढिलाइ हुँदै गएको छ । भारतमा रेल सेट बनेको दुई महिना भयो । तर कर्मचारीको टुंगो नलाग्दा अन्योल बढेको रेल विभागले बताएको छ । 

रेल चलाउन फागुन ९ गते रेलवे कम्पनीले २६ जना कर्मचारी करारमा माग गर्दै विज्ञापन खुलाएको थियो । १५ दिनको समय दिएर विज्ञापन खुलाइएको थियो । पहिलो चरणमा २ सय २६ जना कर्मचारी चाहिनेछ । ‘श्रम ऐनमा नेपाली नभए मात्र विदेशी कर्मचारी लिने भन्ने छ,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘नेपाली जनशक्ति पाइएला कि भनेर विज्ञापन खुलायौं तर एक जनाले पनि आवेदन दिएनन् ।’


अब २६ जना प्राविधिक कर्मचारी भारतबाट ल्याउनुको विकल्प नरहेको उनको भनाइ छ । विज्ञापनअनुसार सिनियर सेक्सनल इन्जिनियर १ र स्टेसन मास्टर ८ जना मागिएको थियो । चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १/१ जना माग गरिएको थियो । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र पोइन्ट मेन ३/३ जना मागिएको थियो ।


‘नेपालमा यी जनशक्ति भेटिएनन्,’ मिश्रले भने, ‘अब प्राविधिक जनशक्ति भारतबाटै ल्याउँछौं ।’ थप दुई सय कर्मचारीका लागि पनि केही दिनभित्र विज्ञापन खुलाइने उनले दाबी गरे । जसमा जीएमदेखि कार्यालय सहयोगीसम्म हुनेछन् । टिकट जाँच्ने, बेच्ने, ट्र्याक मर्मत गर्नेलगायत काम गर्ने जनशक्तिका लागि विज्ञापन खुलाइनेछ ।


रेलका लागि भारतबाट केही चालक सम्पर्कमा आएको मिश्रले बताए । ‘२६ जना कोर जनशक्ति हुन्, जो नभई रेल चलाउन सकिन्न,’ उनले भने, ‘यसका लागि के–कसरी अघि बढ्ने भन्नबारे निर्णयमा पुगिसकेका छैनौं, अब पुन: अंग्रेजी पत्रिकामा विज्ञापन निकालेर दूतावासमार्फत पठाउनुपर्ने पनि हुन सक्छ ।’


अब रेल आउन धेरै ढिला नहुने उनको भनाइ छ । कर्मचारीको जोहो नहुँदासम्म भारतमै रेल सेट राखिदिन आग्रह गरिएको उनले बताए । यसअघि चैत तेस्रो सातासम्म रेल ल्याउने भनिएको थियो । कर्मचारीकै कारण अब थप केही समय पछि धकेलिन सक्ने उनको भनाइ छ । ‘तर धेरै ढिला गर्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘जनशक्ति तयार हुनासाथ रेल आइहाल्छ ।’ मन्त्रिपरिषद्ले रेलमा काम गर्ने कर्मचारी भर्नाका लागि गत माघमा स्वीकृति दिएको थियो । त्यहीअनुसार भर्नासम्बन्धी मापदण्ड बनाएर कम्पनीले विज्ञापन खुलाएको थियो ।


विभागले लामो समयदेखि २ सय कर्मचारी भर्ना गर्नुपर्ने माग राख्दै आएको थियो । आठवटा स्टेसनमध्ये एउटामा कम्तीमा १० देखि १५ जना कर्मचारी राखिनेछ । पहिलो चरणमा जयनगगरदेखि कुर्थासम्मको ३५ किमि दूरीमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ, जुन खण्डमा रेल लिकको काम अन्तिम चरणमा पुगेको छ । बिजलपुरादेखि बर्दिवाससम्म १७ किमिमा पनि काम भइरहेको छ । सबैगरी कुल रेल नेटवर्क जयनगरदेखि बर्दिवाससम्म ६९ किमि बन्नेछ ।

प्रकाशित : फाल्गुन २७, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

जाइकाको टोलीले थाल्यो परामर्श

कोटेश्वर–जडीबुटी खण्डको डीपीआरलाई अर्को टोली आउने
विमल खतिवडा

काठमाडौँ — कोटेश्वर–जडीबुटी खण्डको ट्राफिक जाम हटाउने उपायबारे जापनिज सहयोग नियोग (जाइका) ले पठाएको कन्सल्टटेन्ट (परामर्शदाता) ले परामर्श थालेको छ । आइतबार आएको छ सदस्यीय टोलीले सम्बन्धित मन्त्रालय, विभाग र यस मातहतका कार्यालयसँग कुन विकल्प अपनाउने भन्दै परामर्श सुरु गरेको हो ।

वर्ष दिनअघि जाइकाले प्रारम्भिक अध्ययन गरेर बुझाएको प्रतिवेदनअनुसार नै तीन विकल्पमध्ये सरकारले एउटा विकल्प छान्नुपर्नेछ ।

‘कन्सल्टेन्टको ११ जनाको टिम हुन्छ,’ सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘थप पाँच जनाको टोली केही दिनभित्रै आउनेछ ।’ उनका अनुसार परामर्श टुंगिएपछि डीपीआरको काम सुरु गरिनेछ । ‘यो टोलीले सबैसँग छलफल गरेर सरकारलाई सहज हुने एउटा विकल्प छान्न लगाउनेछ,’ उनले भने, ‘त्यसपछि कुन विकल्पमा जाने, त्यही अनुसारको विज्ञ टोलीलाई कन्सल्टेन्टले जापानबाट बोलाउनेछ ।’

विकल्प छानिएपछि कन्सल्टेन्टमध्ये केही जाने र केही यहीँ बसेर डीपीआर तहको अध्ययनमा सघाउने छन् । ‘डीपीआर गर्न एक वर्ष लाग्नेछ,’ उनले भने, ‘जुन अध्ययन ठेक्का सम्झौता गर्ने तहसम्मको हुनेछ ।’ फ्लाइओभर र सुरुङ (२ वटा) मध्ये एउटा विकल्प छान्नुपर्ने हुन्छ । यीमध्ये अन्य विकल्प भए परामर्शदाताले बुझ्नेछन् । डीपीआरको क्रममा डाटा संकलन र सर्भेदेखि डिजाइनसम्मको काम हुनेछ । ‘सरकारले विकल्प छानेपछि त्यहीअनुसार डिजाइनको काम थालिनेछ,’ उनले भने । अध्ययनको सबै खर्च जाइकाले नै व्यहोर्नेछ ।

‘कुन विकल्प छान्ने भन्नेबारे हामी आपसमा पनि छलफल गर्नेछौं,’ उनले भने, ‘छलफल नगरी निर्णय हुने छैन ।’ कसले बनाउने भन्नेबारे निर्णय भइसकेको छैन । जाइकाको वर्ष दिनअघिको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसारका तीन विकल्पअन्तर्गत पहिलो तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ यात्रु हिँड्ने पुलसम्म सवारी साधन गुड्ने अकासे–पुल बनाउने रहेको छ, जसको दूरी १ दशमलव ६ किमि हुनेछ । यो पुल चार लेनको हुनेछ । अकासे–पुल नबनाउने हो भने त्यही खण्डमा सुरुङ बनाउने दोस्रो विकल्प छ । तेस्रो विकल्प तीनकुनेबाट जडीबुटीसम्म सुरुङ निर्माण गर्ने रहेको छ । सुरुङ १ दशमलव ४ किमिको हुनेछ ।

सबैभन्दा कम लागतको विकल्प फ्लाईओभरलाई लिइएको छ, जसको लागत ९ अर्ब रुपैयाँ रहने प्रारम्भिक अध्ययनका क्रममा अनुमान गरिएको छ । यही खण्डमा निर्माण गरिने सुरुङमार्गका लागि १८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘यो प्रारम्भिक अध्ययनको रिपोर्ट मात्र हो,’ उनले भने, ‘डीपीआरपश्चात् यसको लागत र दूरी तलमाथि हुन सक्छ तर विकल्प भने यिनै हुन् ।’ उनका अनुसार महाशाखाले निकालेको विकल्पमा नयाँबानेश्वरबाट आउने सिधा सडकलाई विमानस्थल मुनिबाट जडीबुटी निकाल्ने गरी सुरुङ निर्माण गर्ने भन्ने पनि छ, जसको दूरी ९ सय मिटर र लागत २२ अर्ब आकलन गरिएको छ । यसले विमानस्थलको धावनमार्ग छुने छैन । ट्राफिक प्रहरीका अनुसार भक्तपुरबाट कोटेश्वर र्हुदै दैनिक २४ हजारभन्दा बढी सवारी साधन ओहोर–दोहोर गर्छन् । तर घण्टौं ट्राफिक जामले गर्दा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×