१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेललाई कर्मचारी पाइएनन्

विमल खतिवडा

काठमाडौँ — जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालन हुने रेलका लागि आवेदन मागिएको संख्यामा कर्मचारीका लागि एउटा पनि निवेदन परेको छैन । यसले रेल सञ्चालन झन्झन् ढिलाइ हुँदै गएको छ । भारतमा रेल सेट बनेको दुई महिना भयो । तर कर्मचारीको टुंगो नलाग्दा अन्योल बढेको रेल विभागले बताएको छ । 

रेललाई कर्मचारी पाइएनन्

रेल चलाउन फागुन ९ गते रेलवे कम्पनीले २६ जना कर्मचारी करारमा माग गर्दै विज्ञापन खुलाएको थियो । १५ दिनको समय दिएर विज्ञापन खुलाइएको थियो । पहिलो चरणमा २ सय २६ जना कर्मचारी चाहिनेछ । ‘श्रम ऐनमा नेपाली नभए मात्र विदेशी कर्मचारी लिने भन्ने छ,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘नेपाली जनशक्ति पाइएला कि भनेर विज्ञापन खुलायौं तर एक जनाले पनि आवेदन दिएनन् ।’


अब २६ जना प्राविधिक कर्मचारी भारतबाट ल्याउनुको विकल्प नरहेको उनको भनाइ छ । विज्ञापनअनुसार सिनियर सेक्सनल इन्जिनियर १ र स्टेसन मास्टर ८ जना मागिएको थियो । चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १/१ जना माग गरिएको थियो । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र पोइन्ट मेन ३/३ जना मागिएको थियो ।


‘नेपालमा यी जनशक्ति भेटिएनन्,’ मिश्रले भने, ‘अब प्राविधिक जनशक्ति भारतबाटै ल्याउँछौं ।’ थप दुई सय कर्मचारीका लागि पनि केही दिनभित्र विज्ञापन खुलाइने उनले दाबी गरे । जसमा जीएमदेखि कार्यालय सहयोगीसम्म हुनेछन् । टिकट जाँच्ने, बेच्ने, ट्र्याक मर्मत गर्नेलगायत काम गर्ने जनशक्तिका लागि विज्ञापन खुलाइनेछ ।


रेलका लागि भारतबाट केही चालक सम्पर्कमा आएको मिश्रले बताए । ‘२६ जना कोर जनशक्ति हुन्, जो नभई रेल चलाउन सकिन्न,’ उनले भने, ‘यसका लागि के–कसरी अघि बढ्ने भन्नबारे निर्णयमा पुगिसकेका छैनौं, अब पुन: अंग्रेजी पत्रिकामा विज्ञापन निकालेर दूतावासमार्फत पठाउनुपर्ने पनि हुन सक्छ ।’


अब रेल आउन धेरै ढिला नहुने उनको भनाइ छ । कर्मचारीको जोहो नहुँदासम्म भारतमै रेल सेट राखिदिन आग्रह गरिएको उनले बताए । यसअघि चैत तेस्रो सातासम्म रेल ल्याउने भनिएको थियो । कर्मचारीकै कारण अब थप केही समय पछि धकेलिन सक्ने उनको भनाइ छ । ‘तर धेरै ढिला गर्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘जनशक्ति तयार हुनासाथ रेल आइहाल्छ ।’ मन्त्रिपरिषद्ले रेलमा काम गर्ने कर्मचारी भर्नाका लागि गत माघमा स्वीकृति दिएको थियो । त्यहीअनुसार भर्नासम्बन्धी मापदण्ड बनाएर कम्पनीले विज्ञापन खुलाएको थियो ।


विभागले लामो समयदेखि २ सय कर्मचारी भर्ना गर्नुपर्ने माग राख्दै आएको थियो । आठवटा स्टेसनमध्ये एउटामा कम्तीमा १० देखि १५ जना कर्मचारी राखिनेछ । पहिलो चरणमा जयनगगरदेखि कुर्थासम्मको ३५ किमि दूरीमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ, जुन खण्डमा रेल लिकको काम अन्तिम चरणमा पुगेको छ । बिजलपुरादेखि बर्दिवाससम्म १७ किमिमा पनि काम भइरहेको छ । सबैगरी कुल रेल नेटवर्क जयनगरदेखि बर्दिवाससम्म ६९ किमि बन्नेछ ।

प्रकाशित : फाल्गुन २७, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?