१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय सडकमा जोडिँदै हुम्ला

‘६७ किलोमिटर मुगु–हुम्ला लिंकरोड निर्माण सकियो’  
१३ सय किमि सडक निर्माण गरेको बेलायती परियोजना फिर्ता हुँदै 
देवेन्द्र भट्टराई

काठमाडौँ — कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला र सुर्खेतबीचको प्राचीन व्यापारिक मार्गलाई जोडेर निर्मित ६७ किमि कच्ची सडक आगामी दसैंदेखि सञ्चालनमा आउने भएको छ । यो लिंकरोडसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । 

राष्ट्रिय सडकमा जोडिँदै हुम्ला

हुम्लालाई सडक सञ्जालमा गाँस्ने लक्ष्य रहेको यो योजना बेलायती सहयोग नियोगअन्तर्गत ग्रामीण पहुँच कार्यक्रमको तत्परतामा निर्माण भइरहेको छ । यसअघि चीनको तिब्बततिरबाट हुम्ला सडक सम्पर्कमा जोडिएको थियो । ‘राष्ट्रिय सञ्जालमा जोडिने मानक सडकका रूपमा मुगु–हुम्ला लिंकरोड निर्माण सकिन लागेकामा यो योजनालाई विशेष उपलब्धिका रूपमा लिएका छौं,’ बेलायती दूतावासमा आयोजित समारोहपछि ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) की टिम लिडर क्रिस्टिन मेरिलिजले भनिन्, ‘यो योजनापछि बेलायत सरकारको ‘र्‍याप’ कार्यक्रम स्थगन हुनेछ । अब यस्ता सडक निर्माणका सबै कार्यक्रम बेलायती सहयोग नियोगअन्तर्गत सञ्चालनमा आउनेछन् ।’


मुगु–हुम्ला लिंकरोड निर्माणपछि सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको मेल्छमसम्म सवारी साधन चल्न थालेको कार्यक्रमका योजना अधिकृत विष्णुराम विष्टले जानकारी दिए । ‘गाउँघरका स्थानीय उत्पादन आसपासका साहरसम्म आउन सक्ने अवस्था आएको छ,’ विष्टले भने । विगतमा हेलिकप्टरका भरमा खाद्यान्न र बिरामी ओसार्नुपर्ने अवस्था रहेकामा हुम्ला–मुगुका भित्री गाउँमा लिंकरोड बनेपछि आवागमन निकै सहज भएको उनले बताए । ०७३ असोजमा सुरु भएको सडक निर्माणको लागत झन्डै २ अर्ब ३२ करोड रुपैयाँ छ । ६७ किलोमिटर लामो सडकभित्रै नयाँ सडक निर्माण र गमगढी बजारदेखि कर्णाली नदीसम्मको चार किलोमिटर सडकको स्तरोन्नतिसमेत गरिएको टिम लिडर मेरिलिजले जानकारी दिइन् ।


मुगु र हुम्लाका गरेर झन्डै २ हजार ५ सय स्थानीय कामदारले यो लिंकरोड निर्माणमा सहयोग गरेको विष्टले बताए । यसमा महिला सहभागिता पनि उत्तिकै रहेको र यो स्वरोजगारका निम्ति कर्णाली भेगकै नमुना कार्यक्रम बनेको उनको भनाइ छ । यसबापत झन्डै ८८ करोड रुपैयाँ स्थानीय तहका कामदारले ज्यालास्वरूप पाएका छन् । ‘यो बृहत् योजनामा प्रदेश र स्थानीय तहका सरकारले भरमग्दुर सहयोग गरेका छन्,’ मेरिलिजले भनिन्, ‘भित्री गाउँमा विकास र निर्माणप्रतिको सर्वसाधारणको सरोकारलाई कम रूपमा आँक्न मिल्दैन, स्थानीय सहयोगकै कारण यत्रो परियोजना तीन वर्षमै पूरा हुन लागेको छ ।’


सन् २००१ मा स्थापित बेलायती सहयोगको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत पूर्वदेखि पश्चिमसम्मका झन्डै दुई दर्जन जिल्लामा गरेर झन्डै १ हजार ३ सय किलोमिटर कच्ची वा स्तरोन्नति सडक बनिसकेको छ । ‘मुगु–हुम्ला लिंकरोड भने अहिलेका निम्ति यो ग्रामीण पहुँच कार्यक्रमको अन्तिम योजना हो,’ कार्यक्रमका सहप्रमुख राम थपलियाले भने, ‘मुगु–हुम्ला लिंकरोडमा एउटा ठूलो र अरू चार सहायक पुल निर्माण गर्नुपर्ने भएकाले तत्कालका लागि यो योजना झन्डै एक वर्ष थपिए पनि अरू नयाँ कार्यक्रम थप नहुने टुंगो लागेको छ ।’

प्रकाशित : फाल्गुन २५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?