१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आलुले उकास्यो गाउँ 

कान्तिपुर संवाददाता

(चितवन) — पूर्वी चितवनको खैरहनी नगरपालिका–१० मा पर्छ– खरखुट्टे गाउँ । पूर्व–पश्चिम राजमार्गमा पर्ने खुरखुरे बजारबाट झन्डै पाँच किलोमिटर दक्षिण चितवन राष्ट्रिय निकुञ्जभन्दा तीन किलोमिटर वरको यो गाउँमा पछिल्लो समय आलु खेती फस्टाएको छ । 

आलुले उकास्यो गाउँ 

‘आलु खेती लहाएको बेला घुम्न आएका दंग पर्छन्,’ खरखुट्टेका सीताराम अर्यालले भने । तत्कालीन कृषि विकास कार्यालयले आलु खेतीको पकेट क्षेत्र घोषणा गरेपछि यसबारे चासो राख्ने विभिन्न जिल्लाका किसान एवं विज्ञ यो गाउँ पुग्ने गरेका छन् । अर्यालले मात्र अढाई बिघामा आलु लगाएका छन् । ‘यो वर्ष आलु बेचेर १७ लाख रुपैयाँ आम्दानी भयो,’ उनले भने । गाउँमा आलु खेती गर्ने ४६ घरपरिवार छन् । उनीहरूले सय बिघा हाराहारीमा आलु खेती गरेका छन् । एक कट्ठादेखि तीन बिघासम्म आलु खेती हुने गरेको अर्यालले बताए ।


गाउँमा ०५४/५५ सालबाट आलु खेती हुन थालेको हो । ०६३ सालपति क्षेत्रफल बढ्दै गयो । सोही वर्ष आलु खेती गर्ने किसानको समूह बन्यो । आलु पकेट क्षेत्र पनि घोषणा भयो । सीताराम अर्याल समूहका अध्यक्ष पनि हुन् । यहाँका कृष्णप्रसाद अर्याल पनि पुराना किसान हुन् । उनले दुई बिघामा आलु खेती गरेका छन् । यो वर्ष मात्र १४ लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।


अर्का किसान रामकृष्ण आचार्यले १५ कट्ठामा आलु लगाएका थिए । त्यसबाट यस वर्ष पौने सात लाख रुपैयाँ आम्दानी गरे । ‘श्रीमती पहिला निजी स्कुलमा पढाउँथिन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । उनले जागिर छाडेरै खेतीमा बढी ध्यान दिन थालिन् । आलु खेतीको आम्दानीले घर बनाउन सकियो । गोठ बनाएर गाई पनि पालेका छौं,’ रामकृष्णले भने ।


पहिला ऋण खोज्न अर्को गाउँमा जानुपर्ने बाध्यता रहेकामा आलु खेती फस्टाएसँगै आत्मनिर्भर हुन सकेको खरखुट्टेकी पार्वती पाण्डे बताउँछिन् । आलु खेतीबाट गाउँमा यो वर्ष कम्तीमा पनि ४ करोड रुपैयाँ भित्रिएको किसान सीतारामले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २५, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?