१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

भारतबाट गरिने चिनियाँ सामग्री आयात घट्यो

प्रदेश ब्युरो

काठमाडौँ — कोरोना भाइरस संक्रमण प्रभावले नेपालका विभिन्न नाकाबाट आउने चिनियाँ सामग्रीको आयात घटेको छ । केही नाकामा आयात ठप्पप्रायः नै छ । चीनसँग आयातनिर्यात हुने प्रमुख रसुवागढी नाका केही समययता बन्द छ । भारत हुँदै आउने सामग्रीको आयात पनि घटेको छ । चीनमा कोरोना संक्रमण बढेको र उसले अन्य मुलुकमा निर्यात गर्ने वस्तु नपठाएपछि यस्तो समस्या देखिएको व्यवसायी बताउँछन् । 

भारतबाट गरिने चिनियाँ सामग्री आयात घट्यो

जोगबनी नाकाबाट चिनियाँ सामान आयात ठप्प भएको छ । यो नाकाबाट तेस्रो मुलुकबाट हुने आयातनिर्यातको झन्डै ७० प्रतिशत हिस्सा चीनको छ । यससँगै विराटनगर भन्सारको राजस्व असुली प्रभावित भएको छ । भन्सारले फागुनमा ३ अर्ब ९६ करोड राजस्व असुली गर्ने लक्ष्य राखेकामा तेस्रो सातासम्म १ अर्ब ७१ करोड मात्र असुली गरेको सूचना अधिकृत गोपी उप्रेतीले बताए । यो असुली लक्ष्यको ४३ प्रतिशत मात्र हो ।


गत वर्ष माघसम्मको तुलनामा यस वर्ष चिनियाँ सामान आयातमा ३१ प्रतिशत ह्रास आएको छ । त्यसमा यसपालि फागुन पहिलो सातादेखि सामान आयात ठप्पै छ । उप्रेतीका अनुसार गत वर्ष माघसम्ममा जोगबनी नाकाबाट १२ अर्ब ४१ करोड मूल्य बराबरका चिनियाँ सामान आयात भएकामा यसपालि सोही अवधिमा ८ अर्ब ५५ करोड ७० लाख मूल्यको वस्तु आएको छ ।


‘कोरोना भाइरसका कारण भारतलगायत अन्य मुलुकसँगको आयातनिर्यातमा कुनै प्रभाव परेको छैन,’ उप्रेतीले भने, ‘तर चीनबाट भने एक महिनादेखि एक कन्टेनर पनि सामान लोड भएको छैन । पहिल्यै लोड भएर सडकमा रहेका सामान मात्र छिटफुट रूपमा आइरहेको छ ।’


चीनबाट लत्ताकपडा, गार्मेन्टको कच्चा पदार्थ, इलेक्ट्रिक सामान, जुत्ताचप्पल, स्टेसनरी सामान, केमिकल, खेलौना, फलफूल र औद्योगिक कच्चा पदार्थ आयात हुन्थ्यो ।


माघसम्म चीनबाट सामान नियमित आयात हुँदा भन्सार कार्यालयले लक्ष्यको ७६ दशमलव २७ प्रतिशत राजस्व असुली गरेको थियो । माघमा भन्सारले ३ अर्ब ६९ करोड राजस्व असुली लक्ष्य राख्दा २ अर्ब ८२ करोड असुली गरेको थियो । यो असुलीमा चिनियाँ सामानको हिस्सा झन्डै २० प्रतिशत थियो ।


चिनियाँ सामान आयात ठप्प भएसँगै बजारमा पनि आर्थिक कारोबार सुस्ताएको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले बताए ।


‘चिनियाँ व्यवसायीले लिएनन् अर्डर’

कोरोनाको प्रभावले ढुवानी असहज भएपछि रूपन्देहीको बेलहिया नाकाबाट पनि चिनियाँ सामानको आयात घटेको छ । चीनबाट एलसी खोलेर नयाँ सामान मगाउन नसकिएको स्थानीय व्यवसायी बताउँछन् । पहिल्यै आयात गरेर मौज्दात रहेका र भारतको कोलकाता बन्दरगाहमा रहेका सामान आइरहेकाले बजारमा अभाव भइसकेको छैन ।


पछिल्ला दिनमा चिनियाँ व्यवसायीले सामानको अर्डर नलिएको सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा एभरेस्ट रोलिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले जानकारी दिए । ‘कोरोना भाइरसका कारण कतिपय उद्योग बन्द रहेको र ढुवानी गर्न नसकिने जनाउँदै चिनियाँ व्यवसायीले अर्डर लिन छाडेका छन्,’ उनले भने । तत्काल भाइरस नियन्त्रणमा आएर अवस्था सहज बने पनि नियमित रूपमा चीनबाट सामान आउन कम्तीमा तीन महिना लाग्ने उनले बताए । तेस्रो मुलुकबाट आउने सामान कोलकाता बन्दरगाह हुँदै वीरगन्ज नाकाबाट ढुवानी गर्न सजिलो हुन्छ ।


त्यसैले भैरहवा नाकाबाट कम आउने गरेको भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए । पछिल्लो समय भैरहवा नाकाबाट दैनिक एक–दुई गाडी मात्रै चिनियाँ सामान आउने गरेको उनको भनाइ छ ।


भन्सार तथ्यांकअनुसार गत आवको माघसम्म भैरहवा नाकाबाट १ अर्ब ८० करोड ७१ लाख रुपैयाँ मूल्य बराबरको चिनियाँ सामान नेपाल आएकामा चालु आवको सोही अवधिमा २ अर्ब १७ करोड ४३ लाख रुपैयाँ मूल्यको सामान आयात भएको छ । तर पुस महिनामा यो नाकाबाट २५ करोड ६२ लाख रुपैयाँका चिनियाँ सामान आयात भएकामा माघमा घटेर २२ करोड २० लाख रुपैयाँ बराबरको मात्र आएको छ ।


नेपालगन्ज नाकाबाट पनि चिनियाँ सामग्री आयात कम भएको भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए । दुई महिनायता नेपालगन्जमा चीनबाट कुनै सामान नभित्रिएको उनको भनाइ छ । ‘कोरोना भाइरस देखिएपछि चीनले सामान पठाएको छैन,’ निरौलाले भने, ‘त्यसभन्दा अघि लोड भएको सामान मात्र आएको छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार नेपालगन्जमा प्रत्येक महिना २० करोड रुपैयाँको आर्थिक कारोबार हुने गरेको छ । तर पछिल्लो समय आयात स्वाट्टै घटेको उनको भनाइ छ ।


सुदूरपश्चिममा पनि चिनियाँ सामान अभाव

चीनबाट आयात रोकिएपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका बजारमा चिनियाँ सामग्रीको अभाव हुन थालेको छ । लत्ताकपडा, जुत्ता, फलफूललगायत कस्मेटिक सामानको अभाव हुन थालेको व्यापारीहरूले बताएका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि चीनबाट व्यापारिक मालसामानको आयात रोकिएको छ । बन्दरगाहमा पनि स्टक नरहेकाले अभाव हुन थालेको व्यवसायी बताउँछन् । ‘चिनियाँ सामान आउन बन्द भएको छ । भएको सामान पनि सकिएपछि व्यापार सुकेको छ,’ कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका व्यवसायी मदनराज पन्तले भने ।


केरुङ नाका बन्द भएकाले लामो समयदेखि करोडौं रुपैयाँ बराबरको व्यापारिक सामान रोकिएको व्यवसायीले बताएका छन् । केरुङ नाकामा आफ्नो डेढ करोडभन्दा बढीको रेडिमेड कपडा रोकिएको धनगढीका व्यापारी टेकबहादुर खड्काले गुनासो गरे । गर्मी सिजनका लुगा बिक्री हुने समय सुरु भए पनि नाकामै सामान रोकिएकाले बैंकको ब्याज तिर्न समस्या भएको उनको भनाइ छ । चीनबाट लत्ताकपडा, इलेक्ट्रोनिक सामान मात्रै नभई फलफूलदेखि खाद्य समाग्रीसमेत आउने गरेको छ । तर स्याउलगायत फलफूल आयात पनि रोकिएपछि भारतबाट आयातित फलफूल महँगो भएको छ ।


वीरगन्जबाट आयात प्रभावित हुने डर

वीरगन्जका दुवै भन्सारमा कोरोना भाइरसको असर परेको छैन । भन्सारमा चहलपहल पनि घटेको छैन । दुवै भन्सारको दैनिक राजस्व असुली पनि औसत नै छ । तर चैत लागेपछि भने असर देखिन सक्ने वीरगन्ज आईसीपी भन्सार कार्यालयका सूचना अधिकृत विमल साहले बताए ।


अहिले यो भन्सारले दैनिक ४५ देखि ५० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गरिरहेको साह बताउँछन् । ‘औसतमा यतिको राजस्व संकलन राम्रो हो,’ उनले भने, ‘फागुनमा १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा बुधबारसम्म ७ अर्ब ८६ करोड रुपैयाँ संकलन भइसकेको छ, जुन मासिक लक्ष्यको ५२ प्रतिशत हो ।’ सिर्सिया सुक्खा बन्दरगाहमा पनि हालसम्म कोरोनाको असरले आयातनिर्यात व्यापार प्रभावित नभएको बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत जगदीशकुमार पूर्वेले बताए । यो बन्दरगाहमा हुने कुल आयात कारोबारमध्ये ६० प्रतिशत चीनबाट र बाँकी ४० प्रतिशत अन्य मुलुकबाट हुने गरेकाले चीनमा परेको कोरोनाको प्रभाव यो बन्दरगाहमा पक्कै पनि पर्ने उनको दाबी छ ।


विनोद भण्डारी (विराटनगर), माधव ढुंगाना (भैरहवा), रूपा गहतराज (नेपालगन्ज), मोहन बुढाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर) र शंकर आचार्य (पर्सा)

प्रकाशित : फाल्गुन २३, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?