१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दैनिक ६ पसलमा मात्रै अनुगमन

राजु चौधरी

काठमाडौँ — कोरोना भाइरसको प्रभावले मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना भइरहेका बेला दैनिक औसतमा ६ फर्ममा मात्रै अनुगमन हुने गरेको छ । मूल्य नियमनको मुख्य दायित्व पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको तथ्यांकअनुसार फागुन २२ सम्म १८ कार्यदिनमा १ सय ३ व्यावसायिक फर्ममा अनुगमन भएको छ । 

दैनिक ६ पसलमा मात्रै अनुगमन

दैनिक २ देखि ३ टोलीबाट बजार अनुगमन हुने गरेको विभागका सूचना अधिकारी दीपक पोखरेलले बताए । अनुगमन भएको संख्याका आधारमा एक टोलीले करिब ३ फर्ममा मात्रै अनुगमन गर्छन् । ‘यस्तो अवस्थामा सुधारको अपेक्षा गर्न सकिन्न,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । सर्जिकल सामग्रीमा कृत्रिम कालोबजारी हुँदासमेत सरोकारवाला निकायले चासो नदिँदा बजार अस्तव्यस्त बनेको उनले बताए । ‘अनुगमन जुन गतिमा हुनुपर्ने हो, त्यो हुनै सकेन,’ उनले भने, ‘भएको पनि झारा टार्ने किसिमको मात्रै भयो ।’


बिहीबार मात्र २ टोलीले अनुगमन गरेको विभागको तथ्यांक छ । दुई टोलीले ७ औषधि/फार्मेसी मात्रै अनुगमन गरेका थिए । बुधबार पनि फार्मेसी, मार्ट र बिग मुभिज गरेर ६ वटामा मात्रै अनुगमन भएको थियो । अनुगमन टोलीेले ३ वटा सर्जिकल फर्ममा ५ हजार रुपैयाँको दरले जरिवाना गरेको थियो ।


बिहीबार भने सर्जिकल/फार्मेसीमा अनुगमन गरे पनि संख्या न्यून छ । ‘आयुष फार्मेसीलाई २ लाख, आइज्याक हस्पिटललाई २ लाख, एसजे मेडिको सर्जिकललाई २० हजार र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ सूचना अधिकारी पोखरेलले भने । अनुगमन भइरहेको संख्या उचित नै भएको उनको दाबी छ । अनुगमनका बेला सञ्चालक भेट नहुने र कागजपत्र मिलाउँदा मिलाउँदै समय सकिने उनको भनाइ छ । ‘औसतमा ५ वटामा फर्ममा अनुगमन भनेको धेरै हो,’ उनले भने, ‘जरिवाना गर्नुपर्दा धेरै समय लाग्छ ।’


स्रोतका अनुुसार फार्मेसीले १० रुपैयाँमा बिक्री गर्ने मास्क अहिले ३० रुपैयाँमा पनि पाइँदैन । प्रायले चिनियाँ व्यवसायीलाई मास्क बेचेका छन् । यसले पनि बजारमा मास्क अभाव देखिएको हो । ‘विगतमा चीनबाट आयातित मास्क अहिले पुनः चीनमै बिक्री हुने गरेको छ,’ एक फार्मेसी सञ्चालकले भने, ‘अभाव गराएर करोडौं रुपैयाँ कमाउने यहाँ धेरै छन् ।’ ती व्यवसायीको भनाइमा विभागका सूचना अधिकारी पोखरेलको पनि समर्थन छ । उनका अनुसार देशभर मास्क आतंक छ । ‘इलाम, महेन्द्रनगर, धनुषा, सुर्खेत, सुनसरी, मोरङ, झापा, कैलाली, ताप्लेजुङदेखि विभागको ट्रोल फ्री नम्बरमा मास्कसम्बन्धी उजुरी आइरहेका छन् । एक दिनमै ३ सयभन्दा बढी फोन आयो,’ उनले भने, ‘प्रायको गुनासो मास्क पाइएन, कालोबजारी बढ्यो भन्ने छ ।’


आपूर्तिसँगै बजार अनुगमन गर्ने दायित्व स्थानीय निकायको पनि हो । औषधि व्यवस्था विभागले पनि अनुगमन गर्नपर्छ । तर ती निकायबाट अनुगमन भएको छैन । यसले पनि बजारमा कालोबजारी मौलाइरहेको उपभोक्ताकर्मी तिमिल्सिना बताउँछन् । ‘यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय र स्वास्थ्य सेवा विभाग २४ सै घण्टा तयार हुनुपर्ने हो,’ उनले भने, ‘आपूर्तिबाहेक अन्यले केही काम गरेनन् । आपूर्तिको अनुगमन पनि झारा टार्ने भयो ।’


कालोबजारी गर्ने व्यवसायीलाई न्यून जरिवाना गरेर उन्मुक्ति दिएको उनको आरोप छ । ‘उपभोक्ता संरक्षण ऐन, ०७५ मा ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भए पनि कालोबजारी गर्नेलाई न्यून जरिवाना गरिएको छ ।


कालोबजारी तथा केही अन्य सामाजिक आपराधिक ऐन, ०३२ अनुसार पक्राउ पनि गर्नुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘तर विभागले त्यस्ता व्यवसायीलाई उन्मुक्ति दिएको छ ।’ यता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने अबको अनुगमन संयुक्त गरिने दाबी गरे । ‘खाद्य व्यवस्था कम्पनीले खाद्यान्नको अनुगमन गर्छ । इन्धनको हकमा आयल निगम र अन्य क्षेत्रको जिम्मा वाणिज्य विभागलाई दिएका छौं,’ उनले भने, ‘औषधि व्यवस्था विभाग, खाद्य प्रविधि, गुणस्तर तथा नापतौल विभागसहितको सहकार्यमा अनुगमन तीव्र बनाउँछौं ।’ उनले पनि जनशक्तिको अभावले धेरै पसलमा अनुगमन गर्न नसकिएको बताए ।

प्रकाशित : फाल्गुन २३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?