कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘सेयर बजारमा लगानीकर्ताकै हात’

ऋषिराम पौड्याल

काठमाडौँ — अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले डेढ वर्षमा पुँजी बजार सुधारका पर्याप्त नीतिगत आधार तयार गरेको दाबी गर्दै नेप्से घट्नु वा बढ्नुमा लगानीकर्ताकै भूमिका बढी हुने बताएका छन् । 

‘सेयर बजारमा लगानीकर्ताकै हात’

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तसमेत रहेका खतिवडाले सरकारको काम नीति र लगानीमैत्री वातावरण बनाउने भएको प्रतिक्रिया दिए ।


‘कुनै व्यक्तिको अनुहार हेरेर होइन, कम्पनीको वासलात, भविष्यमा कम्पनी कति बलियो हुन्छ जस्ता विषय हेरेर सेयरमा लगानी गर्नुपर्छ,’ उनले भने । लगानीकर्ताले सरकारले सेयर बजारको विकासमा कस्तो नीति ल्यायो, त्यसबारे ख्याल गर्ने हो । सेयर मूल्य तलमाथि हुनु बजारको ‘सेन्टिमेन्ट’ हो । त्यसलाई कसैसँग जोड्न नहुने उनको भनाइ छ । पछिल्लो समय कर प्रणालीमा सुधार, कारोबार छोटो समयमा राफसाफ गर्ने, अनलाइन ट्रेडिङलगायत विषयमा धेरै सुधार भएको उनले बताए ।


अर्थमन्त्री खतिवडाले कतिपय विषय गुणस्तर र सुरक्षासँग जोडिने भएकाले राजस्वको अन्तःशुल्क स्टिकर छपाइ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गराइने जानकारी दिए । सरकारले गत असोजमा अन्तःशुल्क स्टिकर छपाइका लागि अन्तर्राष्ट्रिय कम्पनीले मात्र भाग लिन पाउने गरी टेन्डर आह्वान गरेको थियो ।


नेपाली व्यवसायीले आफूहरूले पनि टेन्डरमा भाग लिन पाउनुपर्ने माग गर्दै आएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत कात्तिकमा टेन्डर प्रक्रिया तत्काल रोकेर नेपालीले पनि प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था गर्न निर्देशन दिएको थियो । सरकारले लेखाको निर्देशन पालन नगर्ने अनुमानमा तत्काल स्टिकर छपाइका सबै प्रक्रिया रोक्न माग गर्दै व्यावसायी अदालत गएका थिए ।


अदालतले सुरुमा अन्तरिम आदेश जारी गरेर टेन्डर प्रक्रिया तत्काल रोक्न भनेको थियो । तर गत साता अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय गरेको थियो । लेखाले दिएको निर्देशन कायम रहेकाले स्टिकर छपाइ कसरी अघि बढाउने अन्योल भएका बेला अर्थमन्त्री खतिवडाले गुणस्तर र सुरक्षाका कारण विदेशी कम्पनीले नै छाप्ने गरी प्रक्रिया अघि बढाउने संकेत गरेका हुन् ।


आन्तरिक राजस्व विभागका अनुसार बर्सेनि करिब चार अर्ब थान स्टिकर आवश्यक रहन्छ । तर यसको स्टक सकिँदै गए पनि विकल्प खोजिएको छैन । हाल अन्तःशुल्कबापत प्राप्त हुने राजस्व बर्सेनि करिब १ खर्ब ६ अर्ब रहेको विभागको भनाइ छ । त्यसमध्ये ८५ प्रतिशतभन्दा बढी हिस्सा मदिरा, चुरोट र सुर्तीले ओगटेको छ । अर्थमन्त्री खतिवडाले सेक्युरिटी प्रेस खरिदको विषयमा नयाँ निर्णय नभए पनि प्रतिस्पर्धाबाटै अघि बढ्ने जानकारी दिए । ‘सञ्चार वा अर्थ दुवै मन्त्रालयबाट सम्पादन गरिने सबै काम प्रतिस्पर्धाबाटै हुन्छन्,’ उनले भने । अर्थमन्त्री खतिवडाले कोरोना भाइरसका कारण तत्काल अर्थतन्त्रमा असर नदेखिएको प्रस्ट्याएका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?