कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

स्याटेलाइट र सेक्युरिटी प्रेस अब प्रतिस्पर्धामार्फत

विजय तिमल्सिना

काठमाडौँ — बिनाप्रतिस्पर्धा जी टु जी मार्फत सरकारले खरिद गर्ने तयारी गरेको सेक्युरिटी प्रेस र स्याटेलाइटजस्ता महँगा परियोजना अब प्रतिस्पर्धामार्फत अघि बढ्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् । 

स्याटेलाइट र सेक्युरिटी प्रेस अब प्रतिस्पर्धामार्फत

‘पूर्वाधार निर्माण सम्बन्धी जति पनि खरिद छन्, ती सबै पूर्ण प्रतिस्पर्धाको आधारबाट पारदर्शी ढंगले हुन्छ,’ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री खतिवडाले भने, ‘चाहे त्यो सेक्युरिटी प्रेस होस् वा स्याटेलाइट ।’

उनले असल मनसायले खरिद गर्दा पनि बारम्बार विवादमा पर्ने अनुभवले देखाएको बताए । ‘स्पष्ट विधि अपनाएर प्रतिस्पर्धी र पारदर्शी ढंगले पूर्वाधार निर्माणको कामलाई अघि बढायौं भने त्यो सबैलाई स्वीकार्य हुन्छ र हामी पनि विवादरहित हुन्छौं,’ उनले भने । उक्त मन्त्रालयले जी टुजी मार्फत खरिद गर्ने गरी अघि बढाएको सेक्युरिटी प्रेस र स्याटेलाइट राख्ने परियोजना विवादित छ ।


सेक्युरिटी प्रेस खरिदको प्रक्रियामा तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले घूस बार्गेनिङ गरेको अडियो सार्वजनिक भइसकेपछि उनले पदबाट राजीनामा दिएका थिए । बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडाले सम्हालेका हुन् । राष्ट्रिय सभामा म्याद सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका खतिवडा बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदमा नियुक्त भएका छन् ।


फ्रान्सेली वा जर्मन कम्पनीबाट सेक्युरिटी प्रेस खरिदका लागि मन्त्रिपरिषद्ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइसकेको छ । कात्तिक २० गतेको मन्त्रिपरिषद्ले ती कम्पनीबाट प्राप्त प्रस्तावको मूल्यांकन

गरी सम्झौता गर्न सहमति दिएको थियो । मन्त्री खतिवडाका अनुसार अब यो प्रक्रिया स्थगित हुनेछ ।


यसअघि मन्त्रिपरिषद्को सहमतिलगत्तै मन्त्रालयले सहसचिव राधिका अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरी दुवै कम्पनीबाट प्राप्त प्रस्तावको अध्ययन गरेको थियो ।


उक्त समितिले आफ्नो प्रतिवेदन मन्त्रालयमा पेस गरिसकेको छ । दुई देशबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट प्रस्ताव बुझाउनेसँग सेक्युरिटी प्रेस खरिद गर्ने भनिए पनि फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग प्रेस खरिद गर्ने गरी मन्त्रालयले तयारी गरेको थियो ।


फ्रान्सेली कम्पनी आईएन ग्रुपको स्थानीय एजेन्ट यति होल्डिङ्स रहेको स्रोतले जानकारी दिएको छ । बिनाअध्ययन र प्रतिस्पर्धा सेक्युरिटी प्रेस खरिद गर्ने सरकारको निर्णय अपारदर्शी भएको भन्दै संसद्को लेखा समितिले समेत छानबिन अघि बढाएको थियो । समितिले फागुन ११ मा सेक्युरिटी प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको थियो ।


त्यसको अघिल्लो दिन सेक्युरिटी प्रेस खरिद प्रक्रियाको क्रममा स्थानीय एजेन्ट विजय मिश्रसँग कमिसनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए । फ्रान्सेली र जर्मन कम्पनीले मन्त्रालयमा पेस गरेको आर्थिक प्रस्तावमा क्रमशः २३ र २२ अर्ब लागत प्रस्ताव गरिएको छ । कान्तिपुरलाई प्राप्त कागजपत्रअनुसार दुवै कम्पनीले प्रस्ताव गरेको रकम करबाहेक र कागज र कार्डमा आधारित छपाइ सुविधाका लागि मात्रै हो । नोटसमेत छपाइ गर्ने प्रविधि राख्दा महँगो पर्ने भन्दै सरकारले तत्कालका लागि नोटबाहेकको सुविधा भएको प्रेस स्थापना गर्न लागेको हो ।


तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा गत वर्ष युरोप भ्रमणमा गएको बेला आईएन ग्रुपसँग सेक्युरिटी प्रेस स्थापनाका लागि समझदारी भएको थियो । आईएन ग्रुपका प्रतिनिधि र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भ्रमणका क्रममा फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग जी टु जीमार्फत स्याटेलाइट खरिदका लागि पनि सहमति भएको थियो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र थ्यालस एलेनियाका प्रतिनिधिले समझदारीमा हस्ताक्षर गरेका थिए ।


३०–३० अर्ब लागत अनुमान गरिएका दुवै परियोजना बिनाप्रतिस्पर्धा जी टु जीमार्फत खरिद गर्न लागिएको भन्दै देशभित्र चर्को विरोध भएको थियो । बुधबार पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायले व्यावसायिक रूपमा काम गर्दा कुनै हस्तक्षेप नगर्ने बताए । सूचना प्रविधि क्षेत्रमा आवश्यक परे राज्यले भूमिका खेल्ने र निजी क्षेत्रले गरिरहेको कुरामा राज्यले प्रतिस्पर्धा गर्नु नपर्ने मन्त्री खतिवडाको धारणा थियो ।


‘समानताको योद्धा हुँ’

बुधबार पुनः मन्त्री नियुक्त भएका खतिवडाले अर्थमन्त्रीका रूपमा पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएलगत्तै उनले अर्थ मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गरेलगत्तै प्रतिक्रिया दिँदै मन्त्री खतिवडाले आफूलाई गरिबी र अभावविरुद्ध लड्ने योद्धाको संज्ञा दिए । ‘विकास, सामाजिक न्याय, समानताको लडाइँ लड्ने म योद्धा हुँ,’ उनले भने, ‘कमान्डरले फर्की नभनेसम्म योद्धा लडिरहन्छ ।’


‘प्रेससँग सम्बन्ध सुधार गर्नु छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले मन्त्रालयले प्रेससँगको सम्बन्ध सुधार्न आवश्यक रहेको बताएका छन् । उनले प्रेससँगको सम्बन्ध स्वस्थ र सुमधुर बनाउन सबैको साथ आवश्यक रहेको जनाए । ‘मन्त्रालयसँग सम्बन्धित केही कुरामा सुधार गरेर जानुपर्ने छ,’ उनले भने, ‘खासगरी प्रेससँगको सम्बन्ध ।’ घूस बार्गेनिङ प्रकरणमा राजीनामा दिएका पूर्वमन्त्री बाँस्कोटा प्रेसप्रति तथा समसामयिक विषयमा कडा टिप्पणी गर्थे । मन्त्री खतिवडाले विगतको उक्त विषय नकोट्याई अब सम्बन्ध सुधारको आवश्यकता रहेको औंल्याए । उनले मन्त्रालयले कानुन, बोली, व्यवहारमार्फत प्रेससँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए ।

प्रकाशित : फाल्गुन २२, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?