रसुवागढी सुनसान

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि महिना दिनयता आयात–निर्यात ठप्प 
बलराम घिमिरे

रसुवा — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि एक महिनायता रसुवागढी नाकाबाट आउजाउ तथा आयात–निर्यात ठप्प भएको छ । अहिले नाकामा सुरक्षा अधिकारीहरू मात्र देख्न सकिन्छ ।

रसुवागढी सुनसान

नाकामा सवारी साधन चलेका छैनन् भने पर्यटकहरूको पनि आवतजावत पूर्ण रूपमा बन्द रहेको नाकामा रहेका सुरक्षा अधिकारीहरूले बताएका छन् । केरुङमा रहेका नेपालीहरू भने फाट्टफुट्ट आइरहेका छन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार टिमुरेको भन्सार यार्ड पनि खालि छ । यार्डमा कुनै गाडी छैनन् । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन पनि प्रभावित भएको खड्काले बताए । नाकामा दुवै देशतर्फका सरकारी कार्यालयहरू भने खुलै छन् ।


चीनबाट आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि यही नाकाबाट आउने गरेको थियो । यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको थियो । रसुवागढी तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेसहित नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत हो । गत वर्ष चीनबाट २ खर्ब ५ अर्ब रुपैयाँको सामग्री आयात भएको थियो ।


यो वर्ष आयात बढेर चीनको हिस्सा बढ्ने क्रममा थियो । यस आर्थिक वर्षको सात महिना (साउन–माघ) सम्ममा १ खर्ब ३२ अर्ब रुपैयाँको सामग्री आयात भइसकेको छ । अहिले विमानस्थल भएर केही सामग्री मात्रै आइरहेको छ । गत वर्ष नेपालले चीनतर्फ २ अर्ब १० करोड रुपैयाँको सामग्री निर्यात गरेको थियो । यस वर्ष १ अर्ब ६ करोड रुपैयाँका सामग्री निर्यात गरेको थियो । आयात–निर्यात दुवै सामग्री यही नाकाबाट हुने गरेको थियो ।


रसुवागढी नाकाबाट आवत–जावत र यातायात चल्न छाडेपछि नेपालतर्फको टिमुरे बजार पनि सुनसान रहेको स्थानीय उर्केन घलेले बताए । ‘सधैं चहलपहल हुने टिमुरे बजारको व्यापार व्यवसाय पनि खस्केको छ,’ उनले भने, ‘रिचार्जकार्ड पाउनसमेत मुस्किल भयो ।’ टिमुरे बजारमा पसलका सटरहरूमा पनि ताला लागेको देखिन्छ ।


पसलहरूमा ग्राहक भेटिँदैनन् । स्थानीय र कर्मचारी मात्र भेटिन्छन् । रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको जाँच भइरहेको छ । तर हेल्थ डेक्स पर्याप्त भने छैन । नाकामै रहेको एउटा सानो टहरामा हेल्थ डेक्स स्थापना गरिएको छ । त्यो टहरा आफैंमा सुरक्षित छैन । माथिबाट ढुंगा झरिरहने समस्या रहेको हेल्थ डेक्समा रहेकी नर्स सिम्रन पाण्डेले बताइन् । ‘ढुंगाले लागेर छेउमै रहेको विश्रामस्थलको छानामा समेत क्षति पुर्‍याइसकेको छ,’ उनले भनिन् ।


नाकाको हेल्थ डेस्कमा टेम्पल थर्मोमिटर, व्यक्तिगत सुरक्षा यन्त्र, केस रिपोर्टिङ फर्म्याट, ट्राभल हिस्टोरी, स्क्रिनिङ, स्याम्पल कलेक्सन फर सस्पेक्टेड र आइसोलेसन रुम (जिल्ला अस्पतालमा) व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।


नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्न भवन तथा आवश्यक सामग्रीको अभाव छ । त्यसैले कोरोना भाइरसको परीक्षणका लागि स्थापना गरिएको हेल्थ डेक्सलाई व्यवस्थित गर्न अस्थायी प्रिफ्याब भवन निर्माण गर्न लागिएको भण्डारीले बताए । दुई वटा कोठा र एउटा हलसहितको भवन निर्माण गर्न लागिएको हो । हेल्थ डेक्सलाई व्यवस्थित गर्न सम्बन्धित मन्त्रालयले अस्थायी भवन निर्माणका लागि जिल्लामा बजेट पठाइसकेको छ ।

प्रकाशित : फाल्गुन १९, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?