कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुई जिल्लामा ५५ करोडको सुन्तला

अन्य बालीको तुलनामा सुन्तलाले मनग्गे आम्दानी दिएपछि वैदेशिक रोजगारीमा नगई युवा यसतर्फ लागेका छन् 
वीरेन्द्र केसी

(अर्घाखाँची) — गुल्मी र अर्घाखाँचीमा यस वर्ष ५५ करोड ५३ लाख ४ हजार रुपैयाँको सुन्तला करोबार भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीमा अनुसार यस वर्ष १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा ७ हजार ७ सय ७४ टन उत्पादन भयो । जसबाट ३८ करोड ७७ लाख रुपैयाँको करोबार भयो । गत वर्ष २५ करोड ८७ लाख २० हजार रुपैयाँको कारोबार भएको हो । यस वर्ष सुन्तला प्रतिकिलो सरदर ५० रुपैयाँमा बिक्री भयो । गत वर्ष ४० रुपैयाँमा बिक्री भएको थियो ।

दुई जिल्लामा ५५ करोडको सुन्तला

सबैभन्दा धेरै धुर्कोट गाउँपालिकामा उत्पादन भएको ज्ञान केन्द्र प्रमुख बुद्धिराज घिमिरेले बताए । त्यसपछि छत्रकोट र रेसुंगामा उत्पादन हुन्छ । गुल्मी दरबार, रुरु क्षेत्र, कालीगण्डकी, मदाने, चन्द्रकोटका केही गाउँमा सुन्तला उत्पादन भइरहेको उनको भनाइ छ । बर्सेनि नयाँ बिरुवा रोपिएको छ । तीन–चार वर्षमा फल दिन्छ । आम्दानी मनग्गे भएपछि कृषक जागरुक हुँदा उत्पादन बढ्दो रहेको उनले बताए । धुर्कोटमा चिस्यान केन्द्र स्थापना गरिएको छ । सुन्तला पकेट क्षेत्र बनाउने, अनुगमन गरेर कृषकलाई अनुदान दिने, रोगकिराबाट जोगाउने उपाय, खेती गर्ने तरिका, मलजललगायत प्राविधिक कुरा कृषकको समूहमा गएर सिकाइएको घिमिरेले जानकारी दिए ।


जिल्लाका १२ वटै स्थानीय तहमा सुन्तलाका लागि उपयुक्त ठाउँ छ । कृषकले बगैंचा सुदृढीकरण, बिरुवा काँटछाँट, किटनाशक औषधि प्रयोग गरेको र असिना, हावाहुरी नभएकाले वृद्धिदर उच्च भएको हो । ‘सिंगो जिल्लालाई सुन्तला उत्पादन क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारसँग समन्वय गरेरै कृषकलाई आकर्षण गरिएको छ,’ उनले भने । सुन्तलाका लागि धुर्कोटको हाडहाडे, नयाँ गाउँ र पिपलधारा पकेट क्षेत्र हुन् । बर्सेनि मनग्गे आम्दानी दिएपछि वैदेशिक रोजगारीमा जाने युवालाई रोकेर सुन्तला खेती गर्न विभिन्न योजना सञ्चालन गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए । चालु आर्थिक वर्षमा ३० हजार बिरुवा लगाउन नर्सरी स्थापना गरिएको छ ।


बोट संरक्षण गरेपछि हरेक वर्ष आम्दानी दिइरहने भएकाले सुन्तला पेन्सनसरह भएको छ । यसैगरी अर्घाखाँचीमा १ हजार ९ सय ९२ हेक्टर क्षेत्रफलमा ४ हजार टन सुन्तला उत्पादनबाट १६ करोड ८ लाख ५४ हजार रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्र प्रमुख दिवेश मिश्रले बताए ।

प्रकाशित : फाल्गुन १८, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?