‘सुदूरपश्‍चिम सधैं पछि परेको प्रदेश बन्‍न चाहन्‍न’

राष्ट्रपति विद्यादेवी भण्डारीसँग कञ्चनपुर विमानस्थल सञ्चालन गराइदिन आग्रह
भवानी भट्ट

(कञ्चनपुर) — शुक्रबार मझगाउँ विमानस्थल क्षेत्रमा आयोजित कार्यक्रममा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारीसामु जनप्रतिनिधिहरूले विमानस्थल सञ्चालनका लागि आग्रह गरे । विकास निर्माणका अन्य दर्जनौं माग पनि उनीहरूले राष्ट्रपतिसमक्ष राखे । 

‘सुदूरपश्‍चिम सधैं पछि परेको प्रदेश बन्‍न चाहन्‍न’

लामो समयदेखि बन्द कञ्चनपुरको यो विमानस्थल सञ्चालनका हुनुपर्नेमा विगतदेखि नै यहाँका बासिन्दाले जोड दिँदै आएका छन् । पछिल्लो पटक स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यो मुद्दा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए । उनीहरूले विमानस्थलसँगै सुक्खा बन्दरगाह, महाकाली करिडोर र दैजी छेला औद्योगिक क्षेत्रलगायत मुद्दामा समेत राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।


‘मझगाउँ विमानस्थल सञ्चालन गर्न यस क्षेत्रको मागअनुसार प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको छ,’ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘संघीय सरकारले छिट्टै यो माग पूरा गर्ने अपेक्षा गरेका छौं ।’ महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया–दिपायल ट्र्याक खोल्ने र औद्योगिक क्षेत्रको काम छिट्टै सञ्चालन हुने अपेक्षासमेत उनले राष्ट्रपतिसामु व्यक्त गरे ।


सुदूरपश्चिममा हालसम्म पनि भारतसँगको औपचारिक व्यापारिक नाका छैन । गौरीफन्टा नाका दुधुवा नेसनल पार्कका कारण बन्द भएपछि कञ्चनपुरको महाकाली नगरपालिकामा सुक्खा बन्दरगाहको कुरा उठेको छ । ‘हामीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाहसँगै दैजी क्षेत्रमा औद्योगिक क्षेत्र र चाँदनी हुँदै तिंकरसम्मको महाकाली करिडोरको कुरा उठाएको धेरै भयो,’ कञ्चनपुरबाटै निर्वाचित प्रतिनिधिसभाका सदस्य डा. दीपकप्रकाश भट्टले भने, ‘अहिले यसतर्फ सकारात्मक कदम पनि अघि बढेको छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जग्गाको स्वामित्व हस्तान्तरणका लागि प्रक्रियासमेत अघि बढाएको छ ।’


‘अब सुदूरपश्चिम सधैं पछि परेको प्रदेशका रूपमा रहन चाहँदैन, हामी यो देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा प्रस्तुत हुन चाहन्छौं,’ सांसद भट्टले भने, ‘अहिलेको सरकारले यसतर्फ कदम पनि चालेको छ ।’ महाकाली करिडोर निर्माणको काम पनि छिट्टै अघि बढ्ने समेत उनले बताए । सुदूरपश्चिमका प्रचुर सम्भावनालाई अवसरमा बदल्न सके देशकै विकासमा महत्त्वपूर्ण योगदान पुग्ने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको भनाइ छ ।


भीमदत्त नगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवका अवसरमा राष्ट्रपति भण्डारी कञ्चनपुर पुगेकी हुन् । सोही अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता महोत्सवले भ्रमण वर्षलाई समेत फाइदा पुग्ने बताइन् । ‘शुक्लाफाँटाको ठूलो घाँसे मैदान र यहाँका वन्यजन्तुले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भनिन्, ‘झोलुंगे पुल, चुरे क्षेत्रका धार्मिक पर्यटकीय स्थलको संरक्षण र प्रचारप्रसारले पर्यटकलाई लोभ्याउन सकिन्छ ।’


रानाथारू समुदायको मौलिक पहिचान समाजको अमूल्य निधि भएकाले सम्बन्धित पक्षले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । यस क्षेत्रको पर्यटन विकासका लागि धनगढीको विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलमा स्तरोन्नति गरिनुपर्ने उनले बताइन् । कैलाश मानसरोवरसम्मको पहुँचमार्ग निर्माणतर्फ पनि सम्बद्ध निकायको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।


सुदूरपश्चिम कृषि उत्पादनका लागि पनि चिनिने भएकाले त्यसलाई ध्यान दिएर कृषिको पनि आधुनिकीकरण गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । महेन्द्रनगरमै रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर यस क्षेत्रमा गुणस्तरिय जनशक्ति उत्पादन गरेर कृषि र पर्यटनमा विकास गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?