कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे ४ अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार ३ अर्ब ६० करोड ८५ लाख र बुधबार ४ अर्ब १५ करोड ४८ लाख रूपैयाँको सेयर कारोबार भएको थियो 

साढे ४ अर्बको सेयर कारोबार

अघिल्लो दिनजस्तै बिहीबार पनि दोस्रो बजारमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबारको कारोबार दैनिक रूपमा हालसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो ।


अघिल्लो दिनको तुलनामा करिब ३६.०६ अंक बढेपछि समग्र नेप्से १ हजार ६ सय ३२.१७ विन्दुमा उक्लियो । बुधबार नेप्से झन्डै ५१ अंक बढेको थियो । सो दिन कारोबारमा आएकामध्ये बैंकिङ, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढे । बाँकी सबै समूहका परिसूचक घटे । करिब साढे ३५ हजार कारोबारबाट १ सय ८० कम्पनीका १ करोड ८ लाख ५९ हजार कित्ता सेयर किनबेच भए । अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार संख्या र सेयर संख्या दुवै बढी हो । बुधबार ३२ हजार १ सय ५४ वटा सेयर कारोबार हुँदा करिब ९९ लाख ७ हजार कित्ता सेयर किनबेच भएको थियो ।


दुई सातायता नेप्से निरन्तर रूपमा उकालो लागिरहेको छ । नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम, कारोबार संख्या र सेयर संख्याले पनि हरेक दिनजस्तो नयाँ उचाइ बनाएको छ । अघिल्ला दिनमा बिमा, लघुवित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक धेरैले बढ्दा नेप्से उच्च अंकले बढेको थियो । बुधबारदेखि ती उपसमूहको परिसूचकमा करेक्सन देखिएको छ भने बैंकिङलगायत समूहका परिसूचक बढेका छन् । बैंकिङ र विकास बैंकलगायत उपसमूहको परिसूचकमा भएको वृद्धि र कारोबार रकममा भएको कीर्तिमानीले सेयर बजार परिपक्वतातिर लागेको संकेत देखिएको जानकारहरू बताउँछन् ।


सेयर बजार बढेसँगै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा बढाएका छन् भने अनलाइन कारोबारका लागि ‘लगइन’ लिएका लगानीकर्ताले पनि अनलाइनमार्फत लगानी बढाएका छन् । अनलाइन कारोबारमार्फत सेयर किनबेच बढेपछि रकम बढेको नेप्सेको दाबी छ । कुल दैनिक कारोबार रकमको करिब ४५ प्रतिशत कारोबार अनलाइनबाट हुँदै आएको नेप्सेले बताएको छ । नेप्सेका अनुसार बुधबारसम्म ३ हजार ५ सय ५४ जना लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘लगइन’ लिएका छन् । ती लगानीकर्ताले बुधबार मात्र १४ हजार ९ सय १५ वटा कारोबार गरेका छन् ।


सो प्रणालीमार्फत करिब ४० लाख कित्ता सेयर किनबेच भएको छ । बजारलाई आफूले सूक्ष्म रूपले हेरिरहेको र डराइहाल्नुपर्ने अवस्था नरहेको धितोपत्र बोर्डले बताएको छ । केही कम्पनीको कारोबार छोटो समयमै धेरै अंक बढ्नुमा पर्याप्त प्राकृतिक आधार नदेखिएको बोर्डले प्रस्ट्याएको छ । निर्जीवन बिमा, लघुवित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधनलगायत समूहअन्तर्गतका केही कम्पनीको सेयर कारोबार धेरै बढ्नुमा पर्याप्त आधार नभएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । यसकारण राम्रा कम्पनी छनोट गरेर मात्र लगानी गर्न उनले सुझाए ।


बजारमा दिनदिनैजसो नयाँ लगानीकर्ता भित्रिएका छन् । बजार बढेको देखेर आएका लगानीकर्ताले कम्पनी छनोटमा ध्यान नदिँदा नोक्सानीको सम्भावना पनि रहेको विज्ञहरू बताउँछन् । बिमा, लघुवित्त, होटल, जलविद्युत्, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ओभरभ्यालुड (यर्थाथभन्दा बढी) देखिन्छ । यसकारण लगानीकर्ताले हल्लाको भरमा नलागी कम्पनीको आधारभूत एवं प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने उनीहरूको सुझाव छ । बढ्दो बजारमा चलखेलको सम्भावना पनि धेरै हुने भएकाले नियामक निकायले चुस्त एवं प्रभावकारी नियमन गर्नुपर्ने देखिन्छ । जसबाट सर्वसाधारण लगानीकर्ताको सम्पत्ति जोखिममा नपरोस् ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?