२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हुम्लामा होटल बुकिङ शून्य

छपाल लामा

(हुम्ला) — गत वर्ष यतिबेला होटल व्यवसायी मानबहादुर रावतलाई फोन उठाउन र पर्यटकका लागि कोठा ‘बुक’ गर्न भ्याइनभ्याई थियो । फागुन मध्यसम्म मानसरोवर जाने करिब हजार यात्रुका लागि होटलका कोठा बुक गरिसकेका थिए । यसपालि एउटा पनि कोठा बुक नहुँदा उनी चिन्तित छन् । ‘आजसम्म एउटै कोठा बुक भएको छैन, होटल त डुब्ने भयो,’ उनले भने, ‘यस्तो सुनसान त कहिल्यै हुन्थेन ।’

होटल कैलाशका सञ्चालक रावत मात्र होइन, सिमकोटस्थित अन्य पर्यटकीय होटलका सञ्चालक यस्तै चिन्तामा डुबेका छन् । चीनमा फैलिएको नोवल कोरोना भाइरसको संक्रमणले मानसरोवर यात्रालाई प्रभावित गरेको छ । वर्षेनि चैत अन्तिम सातादेखि भारतीय धार्मिक पर्यटक हुम्लाको हिल्सा नाका भएर मानसरोवर पुग्ने गर्छन् । यसका लागि यात्रा प्रबन्ध गर्ने कम्पनीहरूले फागुन मध्यसम्म होटलका कोठा बुक गरिसक्छन् ।


गत वर्ष यतिबेला करिब १ हजार २ सय पर्यटकका लागि कोठा बुक गरिसकेका होटल शनि भ्याली रिसोर्टका सञ्चालक निमा लामा अहिले काठमाडौंमा छन् । शनि ट्राभलका प्रबन्ध निर्देशकसमेत रहेका उनले अहिलेसम्म कुनै पनि भारतीय पर्यटक मानवसरोवर जान सम्पर्कमा नआएको बताए । ‘कोरोना भाइरसको त्रासकै कारण हुनुपर्छ,’ उनले भने, ‘ग्राहक नै नआएपछि के गर्नु ?’


गत वर्ष सिमकोट भएर करिब १० हजार भारतीय पर्यटक मानसरोवर पुगेका थिए । झन्डै साढे चार महिना लामो तीर्थयात्रीहरू नेपालगन्ज र सुर्खेतबाट जहाजमा सिमकोट, सिमकोटबाट हेलिकोप्टरमा हिल्सा र त्यहाँबाट गाडीमा मानसरोवर पुग्ने गर्छन् । तीर्थयात्रीलाई लक्षित गरी पछिल्लो समय सिमकोट र हिल्सामा करोडौं लगानी गरेर स्तरीय होटल खुलेका छन् । मानसरोवर यात्राको सिजनमा ती होटलले मनग्गे आम्दानीसमेत गर्दछन् । व्यवसायी रावतले गत वर्ष करिब ३०–३५ लाख रुपैयाँ आम्दानी भएको बताए । ‘यो वर्ष शून्य होलाजस्तो छ,’ उनले भने, ‘कोरोनाको सबैभन्दा ठूलो मार हामीमाथि पर्‍यो ।’


होटल व्यवसायी संघ हुम्लाका अनुसार सिमकोट र हिल्सामा गरेर करिब ८० वटा साना–ठूला पर्यटकीय होटल छन् । संघका अध्यक्ष मिम लामाका अनुसार प्रायः सबै होटल कुरुवाको भरमा छन् । ‘मानसरोवर यात्रा हुम्लाको आर्थिक विकासको प्रमुख आधार हो,’ उनले भने, ‘होटल व्यवसायीलाई मात्र होइन, यससँग जोडिएका अन्यलाई पनि समस्या भएको छ ।’


होटल व्यवसायीका साथै पर्यटकका भारी बोक्ने भरिया, ट्रेकिङ व्यवसायी, हेलिकप्टर कम्पनी पनि प्रभावित भएका छन् । सिजनमा चार वटा हेलिकप्टर कम्पनीले सिमकोट–हिल्सा उडान गर्ने गर्छन् । सिम्रिक एयरका पश्चिम क्षेत्र इन्चार्ज कमल गौतमका अनुसार यतिबेला ट्रेकिङ व्यवसायीले हेलिकप्टर कम्पनीसँग छलफल गर्न सुरु गरिसक्थे । यस वर्ष भने सुनसान रहेका उनले बताए । उनका अनुसार सिजनको बेला हुम्ला–सिमकोट दैनिक करिब ४० वटा उडान हुने गर्छन् । नेपालगन्ज–सिमकोटसमेत दैनिक करिब २०–३० वटा उडान हुने गर्छन् ।


हुम्लाका होटलहरू मुख्यतया मानसरोवर यात्रालाई लक्षित गरी खोलिएका हुन् । हिउँदमा मान्छे जाडो छल्न सहरतिर जाने भएकाले मानसरोवर यात्राको सिजनले वर्षभरिको घाटा पूर्ति गर्ने गर्छ । होटल पञ्चमुखीकी सञ्चालक छिनी लामा १ करोड लगानी गरेर खोलेको होटलको लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको बताइन् ।


प्रकाशित : फाल्गुन १५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?