१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ‘समृद्धिको आधार, राज्य–निजी क्षेत्र साझेदार’ नारासहित बुधबार ढकालले उम्मेदवारीको घोषणा गरेका हुन् । 

वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

‘महासंघमा सक्रिय भएपछि यसकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा देशभर पुग्ने अवसर पाएँ । उद्योगी व्यवसायी साथीहरू, नागरिक समाजका प्रतिनिधिहरूसँग औपचारिक/अनौपचारिक थुप्रै बसाइ भए, भेला र बैठकहरू भए,’ घोषणा कार्यक्रममा उनले भने, ‘जिल्ला/जिल्लाको सुझाव, आग्रह र शुभेच्छालाई स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।’


ढकाल हाल महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति हुन् । यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरेका ढकाल आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् । ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायत दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ ।


उनले उद्योगी व्यवसायीको मनोबल सधैं उचो बनाउने काममा लाग्ने बताए । ‘व्यवसायीहरूको भरोसा र आशाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता गर्दछु,’ उनले भने, ‘जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरूलाई थप सशक्त बनाउन प्राथमिकता दिनेछु ।’ उनले महासंघको भावी अध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पनि प्रशंसा गरे । गोल्छा भने उनको घोषणासभा कार्यक्रममा उपस्थित थिएनन् । आगामी तीन वर्षका लागि गोल्छालाई अध्यक्ष पाइसकेको बताउँदै उनले सबैसँग सहकार्य गरेर काम गर्ने बताए । ‘तीन वर्षका लागि ‘डाइनामिक’ नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं ।


उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ,’ ढकालले भने, ‘यो टिम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरूसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर एघार बनाउनेछौं ।’ मुलुकको अर्थतन्त्रममा निजी क्षेत्रको योगदान ७५ प्रतिशत रहे पनि राज्यबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन नसकेको उनले गुनासो गरे । ‘राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ,’ उनले भने, ‘राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।’ आगामी चैतमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा मुलुकभरका व्यवसायीहरूको समर्थन रहेको उनले दाबी गरे ।


महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । उम्मेदवारी घोषण कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, महासंघका उपाध्यक्ष अमेशलाल श्रेष्ठ र महासंघका सातमध्ये छ प्रदेश अध्यक्षहरू उपस्थित थिए ।


प्रकाशित : फाल्गुन १५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?