नाका खुले, भन्सार खुलेनन्

भन्सार शुल्क बुझाउन एक दिन हिँडेर खलंगा पुग्छन् सेवाग्राही
मनोज बडू

(दार्चुला) — व्यास गाउँपालिका–५ धौलाकोटका चन्द्रसिंह धामीले तिग्रम नाकाबाट सिमेन्ट र सरियाको भन्सार राजस्व बुझाउन एक दिन हिँडेर सदरमुकाम खलंगा पुग्नुपर्‍यो । नाका खुले पनि सीमामा भन्सार कार्यालय स्थापना नहुँदा दार्चुलाका स्थानीयले कठिनाइ बेहोर्नुपरेको छ ।

‘ठूलो परिमाणमा व्यापारिक सामान ल्याउनुपरे त ठीकै हो,’ उनले भने, ‘घरायसी प्रयोजनका थोरै सामग्री ल्याउनुपरे पनि राजस्व तिर्न खलंगा जान झन्झटिलो छ ।’


लेकम गाउँपालिका–३ लालीमा चार महिनाअघि झोलुंगे पुल बनेपछि सीमा नाका सञ्चालनमा आएको छ । तर यहाँका स्थानीयले निर्माण तथा व्यापारिक वस्तु यो नाकाबाट आयात गर्नुपरे भन्सार राजस्व तिर्न खलंगा धाउनुपर्ने लालीका स्थानीय शेरसिंह विष्टले बताए । नजिक स्थानीय बजार नहुँदा यहाँका बासिन्दाले भारतीय बजारबाट दैनिक उपभोग्य तथा निर्माण सामग्री ल्याउने गरेका छन् ।


दार्चुलामा नेपाल–भारत सीमा जोड्ने छ वटा नाका सञ्चालनमा छन् । तर पनि एउटा नाकामा मात्रै भन्सार कार्यालय स्थापना गरिएको छ । अन्य पाँच नाकाबाट राजस्व छली भइरहेको स्थानीय बताउँछन् । पञ्चायतकालमा दार्चुला छोटी भन्सार कार्यालयसँगै तिंकर, सीतापुल, दत्तु र जौलजिवी नाकामा छोटी भन्सार स्थापना गरिएका थिए ।


द्वन्द्वका बेला असुरक्षाका कारण विस्थापित कार्यालय पुनःस्थापन हुन सकेका छैनन् । नाका भने खुला भएका छन् । महाकाली भन्सार कार्यालय झुलाघाटअन्तर्गत दार्चुलाका चार र बैतडीमा झुलाघाटसँगै पञ्चेश्वर क्षेत्रतिर धर्मघाट भन्सार कार्यालय स्थापना गरिएको झुलाघाट भन्सार कार्यालयका प्रमुख रामप्रसाद चौरसियाले बताए । अहिले मूल भन्सार कार्यालय झुलाघाट र दार्चुला छोटी भन्सार कार्यालय खलंगा सञ्चालनमा छन् ।


सरकारले भन्सारमार्फत राजस्व बढाउने नीति लिए पनि विस्थापित भन्सार कार्यालय पुनःस्थापना गर्न पहल नगरेको स्थानीयको गुनासो छ । त्रिदेशीय सीमामा रहेको सीतापुल र तिंकर छोटी भन्सार कार्यालय ०५७ मा विस्थापित भएको हो । स्थानीयले भन्सारको समस्याका कारण जोखिम मोलेर महाकालीबाट सामान तार्ने गरेका छन् । राजस्व तिर्न खलंगा पुग्नुभन्दा जोखिम मोलेर रातिको समयमा ट्युबमै समान अवैध रूपमा तार्ने गरेको स्थानीयको भनाइ छ । नजिक पोस्ट रहेका सुरक्षाकर्मीले जानकारी पाउने भए पनि व्यापारीले केही रकम दिएर बिनारोकावट सामान भित्र्याउने गरेको स्थानीय व्यवसायी नै स्विकार्छन् ।


तिंकर भारतीय बजार र चीनको तिब्बत सीमा हो । तिब्बतबाट आयातनिर्यात हुने वस्तुको भन्सार संकलन गर्न नसक्दा राजस्व गुम्ने गरेको छ । झुलाघाट भन्सारका प्रमुख चौरसियाले भने विस्थापित भन्सार पुनःस्थापना गर्न मन्त्रालयले नै निर्णय गर्नुपर्नेमा जोड दिए । भारतको धार्चुलामा भन्सार आउट पोस्ट छ । अन्य नाकामा छैन । भारतले पनि सीमा नाकाहरूमा भन्सार चेक पोस्ट सञ्चालनमा ल्याए नयाँ भन्सार कार्यालय सञ्चालन गर्न सजिलो हुने उनको भनाइ छ । प्रकाशित : फाल्गुन १५, २०७६ ०८:०९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दिल्लीमा अझै त्रास, भड्काउ भाषण दिने नेतालाई पक्राउ गर्न अदालतको आदेश

सुरेशराज न्यौपाने

नयाँदिल्ली — विगत तीनदिनदेखि हिंसात्मक प्रदर्शनका कारण तनावपूर्ण रहेको भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्र बुधबार भने शान्त रह्यो । बुधबार अपराह्न मौजपुर, बाबरपुर पुग्दा देखिएका दृश्य मंगलबार भएको कहालीलाग्दो हिंसा बुझाउन पर्याप्त थिए । सडकका छेउछाउमा जलेका सवारीसाधनहरू यत्रतत्र थिए । चोकचोकमा इँटाका थुप्रा थिए, सडकछेउका पसलहरू प्रायः पनि कुनै सद्दे थिएनन् ।

सोमबार र मंगलबार सबैभन्दा बढी हिंसात्मक घटना भएका जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी क्षेत्र पूरै सुनसान थियो । पसलहरू सबै बन्द थिए भने सवारीसाधन फाट्टफुट्ट मात्र चलेका थिए । अधिकांशको सिसा फुटाइका थिए भने कतिपयमा आगजानीसमेत गरिएका थिए । मंगलबार सबैभन्दा बढी क्षति मौजपुर र गोकुलपुरीको टायर बजार र कबाडी बजारमा पुगेको थियो ।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजालसँग भेट गरेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।

बुधबार स्थिति शान्तिपूर्ण रहे पनि त्यहाँमा बासिन्दामा अझै पनि भय र त्रास रहेको देखिन्छ । तर, स्थानीय बासिन्दाहरूमा अहिले भने भय र त्रास कायमै छ । स्थानीयहरू बाहिरका मानिससँग बोल्नबाट अझै डराइरहेका थिए । स्थानीयहरू घरका छतबाट सडकको दृश्य नियालिरहेको देखिन्थे । केही स्थानीयहरूले समयमै पर्याप्त मात्रामा सुरक्षाफौज तैनाथ गरिएको भए हिंसात्मक घटना हुने थिएन भन्दै आक्रोशसमेत व्यक्त गरे ।

यसैबीच, दिल्ली उच्च अदालतले भड्काउ भाषण दिने कपिल मिश्रलगायतका नेतालाई पक्राउ गर्न आदेश दिएको छ । भारतीय जनता पार्टीका दिल्ली नेता कपिल मिश्रले गत आइतबार नागरिकता ऐनको विरोधमा प्रदर्शन गरिरहेकालाई तीन दिनभित्र प्रदर्शन अन्त्य गर्न अन्यथा आफूहरूले जे पनि गर्न सक्ने भन्दै खुला चुनौती दिएका थिए । मिश्राले त्यस्तो अभिव्यक्ति दिएको भोलिपल्टदेखि प्रदर्शनले दंगाको रूप लिएको थियो । सोमबार र मंगलबारसम्म भएको दंगामा परेर एक प्रहरीसहित २७ जनाको ज्यान गएको छ भने २ सय ५० घाइते भएका छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×