मुआब्जा लिन अंश मुद्दा

भीमबहादुर सिंह

(जाजरकोट) — बारेकोट गाउँपालिका–९ काप्तीका लोकराज बस्नेत अंश र लिखत बदर मुद्दाका लागि दैनिक जिल्ला अदालत धाउँछन् । सोही गाउपालिका–८ सक्लाका धनबहादुर कुमाई लुकाइछिपाई राखेको अंश मुद्दामा अदालत धाएको लामो समय भयो । 

मुआब्जा लिन अंश मुद्दा

उनीहरू उदाहरण मात्र हुन्, जाजरकोट अदालत र मालपोत कार्यालयमा अंश, लिखत बदर, हक कायम, जग्गा रोक्कालगायत मुद्दा थुप्रिने क्रम बढेको छ । नलगाड जलविद्युत् आयोजनाले यो वर्षमा मुआब्जा वितरण गर्ने भएपछि अंशियार र जग्गा किनबेच गर्नेबीच विवाद हुँदा मुद्दा पर्ने क्रम बढेको हो । बाबु–बाजेको पैतृक सम्पत्ति अर्कै व्यक्तिको नाममा भई जग्गाको मुआब्जा प्राप्त नहुने अवस्था आएपछि अंशियारहरू अदालत धाउने क्रम बढेको हो ।


नलगाडले मुआब्जा वितरण गर्ने सूचना निकालेसँगै जग्गा विवाद बढेको स्थानीय राजुराजा सिंहले बताए । ‘विगतमा गाउँभरका स्थानीयको जग्गाजमिन एउटैको नाममा दर्ता र नामसारी गर्ने प्रचलनले अहिले समस्या निम्त्याएको छ,’ उनले भने, ‘बारेकोटमा मात्रै यस्तो समस्या एक सयभन्दा बढी परिवारमा छ ।’ उनका अनुसार पाँच पुस्तासम्म जग्गाको नामसारी नलिएका उदाहरण प्रसस्तै छन् । जग्गा भोगचलन गर्दै आए पनि आफ्नो नाममा नहुँदा स्थानीय मुआब्जा पाउनबाट वञ्चित हुने अवस्था आएको उनले जनाए ।


स्थानीयका अनुसार मुआब्जा नपाउने भएपछि मुद्दा दर्ता गर्नुको विकल्प छैन । बारेकोट गाउँपालिका–७ सुवाकोटका कर्णबहादुर शाहीले लिखत बदरका लागि अदालतको तारेख भोगिरहेको जानकारी दिए । उनका अनुसार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका व्यक्तिको बेमाइनीले विवाद बढ्दै गएको हो । जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षमा अंश तथा जग्गा विवादका तीन दर्जन मुद्दा दर्ता भएका छन् । मालपोत कार्यालयले जग्गा विवादका करिब ६० निवेदन दर्ता भएको जनाएको छ । नलगाड जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षमा बारेकोटमा ४ हजार ६ सय रोपनी जग्गाको २ अर्ब ७३ करोड रुपैयाँ मुआब्जा वितरण गर्ने भएको छ । आयोजनाले बारेकोटमा ६ हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण गर्नुपर्ने जनाएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?