१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काबेली ‘ए’ अलपत्र

आनन्द गौतम

(अमरपुर, पाँचथर) — लगातार काम भएको भए ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीबाट यसै वर्ष बिजुली उत्पादन हुन्थ्यो । मुलुकको विद्युत् आपूर्तिमा योगदान पुग्थ्यो । रोजगारी पनि सिर्जना हुन्थ्यो कि भनेर स्थानीय आशावादी थिए । तर विश्व बैंकको समेत लगानीमा निर्माण सुरु भएको आयोजना एक वर्षदेखि अलपत्र छ । निर्माणस्थलमा झार उम्रन थालेको छ ।

काबेली ‘ए’ अलपत्र

जडित सामानमा खिया लाग्न थालेको छ । आयोजना स्थलमा ‘रुँगालो’ राखेर गेट लगाइएको छ । ‘हामी राति र दिउँसो पालो मिलाएर रुङ्छौं,’ अलपत्र आयोजना रुँगेर बसेका एक युवकले भने, ‘बन्छ बन्दैन, कहिलेदेखि बन्छ भन्ने हामीलाई थाहा छैन ।’


स्थानीयले पछिल्लो पटक आयोजना सञ्चालनका लागि आफ्नो तर्फबाट सहयोग पुर्‍याए । सहयोगका लागि समिति नै गठन गरे । आयोजनाको निर्माण तथा पावर हाउस क्षेत्रमा जाने सडकका लागि जग्गा उपलब्ध गराए । सरकारका नाममा आफ्नो जग्गा रजिस्ट्रेसन पनि गरिदिए । अहिले आयोजनाका विषयमा आयोजना स्थलमा रहेका कर्मचारीलाई नबोल्न भनिएको छ । फोटो खिच्न पनि नपाउने नियम राखिएको छ । ११ सय मिटर सुरुङ निर्माणपछि आयोजना बन्द भएको छ । ट्यांकीतर्फ नौ सय र पावरहाउसतर्फ दुई सय मिटर सुरुङ निर्माण गरिएको छ ।


चीनको सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चेचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीलाई कामको जिम्मेवारी दिइएको थियो । ठेकेदार कम्पनीसँगको विवादका कारण आयोजना निर्माण ठप्प बनेको स्थानीय कर्मचारीको बुझाइ छ । चिनियाँ ठेकेदारसँगको सम्झौता रद्द भइसकेको प्रवर्द्धक काबेली इनर्जी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाट बताउँछन् । आयोजना पुनः कहिले सुरु हुन्छ भन्ने विषयमा उनले पनि केही खुलाएनन् । ‘कम्पनीको आन्तरिक वा बाह्य कारण हो, तपाईंलाई भन्न मिल्दैन,’ उनले भने, ‘ठेकेदारको ठेक्का तोडियो, नयाँ ठेक्का लागेको छैन ।’


ठेक्का रद्द भएपछि यहाँका ट्रिपरलगायतका उपकरण मध्य तमोर जलविद्युत् आयोजनामा लगिएको छ । मध्य तमोरको काम पनि चिनियाँ ठेकेदारबाट भइरहेको छ । ८० जनासम्म जनशक्ति ल्याएर काम गरेको चिनियाँ ठेकेदारले आफ्ना जनशक्ति फर्काएपछि उपकरण पनि त्यहाँबाट निकालेको हो ।


आयोजनास्थलमा अहिले जडित क्रसर, एक्स्काभेटर मेसिनलगायत उपकरण छन् । गिट्टी बालुवा भने ठूलो परिमाणमा पाखामा निकालेर थुपारिएको छ । आयोजनाले ३७.६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?