एकै दिन ४ अर्बको सेयर

बैंकिङ, लघुवित्त, बिमा, जलविद्युत्, होटल र उत्पादन तथा प्रशोधन समूहका केही कम्पनीको चलखेल भएको आशंका
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर बजारमा बुधबार ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक यस दिन झन्डै ५१ अंकले बढेर १ हजार ५ सय ९३.१३ विन्दुमा पुग्यो । अघिल्लो दिन ४३.०२ अंकले बढेको थियो ।

एकै दिन ४ अर्बको सेयर

आइतबार ३ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो । १२ उपसमूहको परिसूचक उकालो लागेपछि बुधबार समग्र नेप्से उच्च अंकले बढेको हो । अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनको चर्चासँगै सेयर कारोबार बढ्नुलाई जानकारहरूले ‘अर्थपूर्ण संयोग’ मानेका छन् ।


केही कम्पनीको कारोबार छोटो समयमै धेरै अंकले बढ्नुमा पर्याप्त प्राकृतिक आधार नदेखिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘निर्जीवन बिमा, लघुवित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधनलगायत समूहअन्तर्गतका केही कम्पनीको सेयर कारोबार धेरै बढ्नुमा पर्याप्त आधार देखिँदैन,’ उनले भने । बजारलाई धितोपत्र बोर्डले निरन्तर सूक्ष्म रूपले हेरिरहेको जानकारी दिँदै उनले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए ।


‘लगानीकर्ताले राम्रा कम्पनी छानेर लगानी गर्नुपर्छ,’ उनले भने । बुधबार ३२ हजार १ सय ५४ वटा सेयर कारोबार हुँदा करिब ९९ लाख ७ हजार कित्ता सेयरको किनबेच भएको छ ।


ती कारोबारमा करिब १६ हजार लगानीकर्ता सहभागी भएको नेप्सेले जनाएको छ । दुई सातायता नेप्से निरन्तर उकालो लागिरहेको छ । पछिल्ला १३ दिनमा ११ दिन नेप्से परिसूचक बढ्यो भने २ दिन घट्यो । ११ दिनमा नेप्से परिसूचक करिब २ सय ८० अंकले माथि उक्लियो । दुई दिनमा करिब साढे ३ अंकले मात्र बजार तल झर्‍यो ।


केही दिनयता धेरै नयाँ लगानीकर्ता भित्रिएका छन् । बजार बढेको देखेर आएका लगानीकर्ताले कम्पनी छनोटमा ध्यान नदिँदा नोक्सानको सम्भावना पनि रहेको जानकारहरू बताउँछन् । ‘बैंकिङ उपसमूहको परिसूचक र समग्र नेप्से परिसूचकको अन्तर सम्भवतः हालसम्मकै धेरै हो,’ नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले भने, ‘यसको अर्थ बैंकिङ उपसमूहको परिसूचक अझै अन्डरभ्यालुड (यथार्थभन्दा कम) छ ।’ उनका अनुसार बिमा, लघुवित्त, होटल, जलविद्युत्, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ओभरभ्यालुड (यर्थाथभन्दा बढी) देखिन्छ । यसकारण लगानीकर्ताले हल्लाको भरमा नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘केही कम्पनीको कारोबारले बजार विवेकशील छैन कि भन्ने संकेत पनि देखाएको छ,’ उनले थपे ।


पछिल्लो समयमा बजारमा देखिएको वृद्धि स्वाभाविक भएको ब्रोकरहरूको दाबी छ । ‘बजार आफ्नै गतिले अघि बढेको छ, अस्वाभाविक गतिविधि देखिएको छैन,’ स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, ‘अनलाइन कारोबार बढेपछि कारोबार रकम पनि बढेको छ । यसले बजारको दिगोपनको संकेत गर्छ ।’


सेयर कारोबारको वृद्धिसँगै अस्वाभाविक गतिविधि पनि बढेको छ । ‘बजारमा चलखेल बढेको छ, सीमित व्यक्तिको हातमा रहेका सेयर एकीकृत गरी निश्चित समूहले कृत्रिम रूपमा सेयर घटाउने–बढाउने गरिरहेको देखिन्छ,’ सरोकारवाला एक अधिकारीले भने, ‘कमजोर नियामक निकायको फाइदा ती समूहले उठाएका छन् ।’ खासगरी बैंकिङ, लघुवित्त, बिमा, जलविद्युत्, होटल र उत्पादन तथा प्रशोधन समूहका केही कम्पनीको सेयर कारोबारमा यस्तो चलखेल भएको उनले दाबी गरे । ‘फ्रन्टलाइन रेगुलेटर नेप्से र नियामक निकाय धितोपत्र बोर्ड निकम्मा भए,’ उनले भने, ‘अहिले सेयर बजारमा केही ठूला/संस्थागत लगानीकर्ता र ब्रोकरको मिलोमतोमा सेयर बढाइएको छ ।’ बजार यसरी बढ्दा सीमित लगानीकर्ताले मुनाफा पाए पनि बहुसंख्यक साना लगानीकर्तालाई नोक्सान हुने उनले बताए । ‘बहुसंख्यक लगानीकर्ता सेयर बढेको देखेर हचुवामा बजार छिरेका छन्,’ उनले भने, ‘साना लगानीकर्तालाई सचेत गराउनु जरुरी छ ।’


एक–दुई दिनयता बजार परिपक्वतातर्फ लागेको संकेत देखिए पनि जोखिम उच्च रहेको एक जानकारले बताए । ‘केही राम्रा वाणिज्य बैंकको मात्र सेयर मूल्य बढेको छ, यो राम्रो संकेत हो,’ उनले भने, ‘तर लघुवित्त, बिमा, जलविद्युत्लगायत समूहका नराम्रा कम्पनीको सेयर मूल्य पनि धेरै माथि पुगेको छ । यो स्वाभाविक लाग्दैन ।’


उनका अनुसार अवस्था राम्रो नभएका जलविद्युत्, उत्पादन तथा प्रशोधनलगायत समूहका संस्थापक लगानीकर्ताले ठूलो परिणाममा धमाधम सेयर बिक्री गरिरहेका छन् । यसले ती समूहको सेयर परिसूचक बढेको पनि देखिन्छ । परिसूचक बढेको देखेर साना लगानीकर्ताले ती कम्पनीकै सेयर किनेका छन् । एक–दुई दिनमा ठूला लगानीकर्ताले सेयर बिक्री गर्छन् । त्यसपछि सेयर मूल्य घट्छ । यस्तो अवस्थामा साना लगानीकर्ता नराम्रोसँग फस्छन् ।


एक ब्रोकरले बैंकबाट सजिलै ऋण पाइएपछि बजार बढेको तर्क गरे । बैंकले सेयरमा लगानी बढाएको सत्य भए पनि दुई सातायता मात्र बजार बढ्नुको कारण भेटिँदैन । चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरूको ऋण प्रवाहदर सुस्त छ । त्यसपछि बैंकहरूले सेयर कर्जा बढाएका हुन् । किनकि सेयर कर्जामा जोखिम भए पनि ब्याजदर धेरै लिन पाइन्छ, सेयर मूल्य घटे ‘मार्जिन कल’ मार्फत पैसा उठाउन सकिन्छ । एकनास उच्च दरले उकालो लागेको बजारमा यसैगरी गिरावटको सम्भावना पनि रहेकाले लगानीकर्ता सचेत बन्नुपर्ने अर्का एक लगानीकर्ताले बताए ।


‘बजार बेलुनजस्तै बढेको छ, बेलुन जतिबेला पनि फुट्न सक्छ,’ उनले भने, ‘अहिलेको बजारलाई अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनसँग पनि जोडिएको छ । जुन विवेकशील तर्क होइन ।’ लगानीकर्ताले हल्लाको भरमा नलागी कम्पनीको वित्तीय अवस्था हेरेर मात्र लगानी गर्नॅपर्ने उनले बताए । लगानीकर्ताको सम्पत्ति र हकहित संरक्षण गर्ने दायित्व बोकेको नियामक निकाय पनि चनाखो हुने बेला आएको उनको भनाइ छ । ‘धितोपत्र बोर्ड र नेप्से परिसूचक हेर्दै मक्ख हुने होइन,’ उनले भने, ‘भित्री चलखेल नियन्त्रण गरी सम्भावित जोखिम न्यूनीकरणमा लाग्नुपर्छ ।’


प्रकाशित : फाल्गुन १४, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?