कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ट्यांकर खोल्ने ‘साझा ताल्चा’ हरायो

‘यो कर्मचारीको लापरबाही हो’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगम कर्मचारीको लापरबाहीले ३४२ सिरिजअन्तर्गत चल्ने ट्यांकरको साझा ताल्चा हराएको छ । भारतीय आयल निगमको रक्सौल डिपोदेखि सिनामंगल हवाई डिप्पोसम्म चल्ने ट्यांकरको चाबी हराएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

ट्यांकर खोल्ने ‘साझा ताल्चा’ हरायो

सिनामंगल र थानकोट डिपोसम्म करिब चार सय ट्यांकरले हवाई इन्धन ओसार्छन् ।


‘साझा ताल्चा दुई वटा थिए, एउटा ताल्चा माघमा हरायो,’ प्रवक्ता गोइतले भने, ‘ताल्चा बाटोमा भेटिए खोल्न सक्छन्, त्यसैले आईओसीलाई जानकारी गराइसकेका छौं ।’ यसअघि सिनामंगल डिपो प्रमुख महेशमान श्रेष्ठ थिए । माघ २३ मा साझा ताल्चा हराएपछि अहिले श्रेष्ठलाई सरुवा गरेर केन्द्रीय कार्यालयमा तोनिएको छ ।


श्रेष्ठको ठाउँमा अभिषेक ठाकुरलाई जिम्मेवारी दिइएको छ । कार्यकक्षमा पासवर्डसहितको दराजमा दुई वटा मास्टर ताल्चा राखिएको गोइत बताउँछन् । त्यसमध्ये एउटा हराएको छ । पासवर्ड डिपो प्रमुखसँग हुन्छ । बिहान काम गर्न ताल्चा निकाल्ने र त्यसपश्चात् पुनः सेफमा राख्ने गरिएको थियो ।


निगमले करिब दुई वर्षअघि तेल चोरी गर्न नमिल्ने लकिङ प्रणाली सुरु गरेको हो । केही चालकले यसको विरोधसमेत गरेका थिए । त्यसैले कर्मचारीकै मिलोमतोमा ताल्चा हराएको हुन सक्ने स्रोतको भनाइ छ । ‘यसमा कर्मचारीको लापरबाही र मिलोमतोको आशंका देखियो,’ निगमका एक कर्मचारीले भने, ‘प्रशासन कमजोर हुँदा समस्या देखिएको हो ।’


निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पनि ‘मास्टर की’ हराउनु कर्मचारीको लापरबाही नै भएको दाबी गरे । ‘ताल्चाको ‘पासवर्ड कसरी लिक भयो अचम्मित छु,’ उनले भने, ‘ताल्चा हराएकामा डिपो प्रमुख नै जिम्मेवार हुन्छ ।’ अब सबै ट्यांकरमा नयाँ ताल्चा लगाइने उनले बताए । ‘लकिङ प्रणाली विनियमावलीअनुसार ताल्चा परिवर्तन गर्नुपर्छ । अहिले ढुवानी भइरहेका ट्यांकर सबै सिल भई आउँछन्,’ गोइतले भने, ‘कसैले चोरी गर्न सक्दैनन् ।’


हराएको ताल्चाबारे छानबिन गर्न निगमका निमित्त नायब निर्देशक विशाल ओझाको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । समितिले एक साताभित्र प्रतिवेदन पेस गर्ने गोइतले जानकारी दिए । कर्मचारीको गल्ती देखिए कारबाही हुन्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १३, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?