सुन अहिलेसम्मकै महँगो

कान्तिपुर संवाददाता

काठमाडौँ — घरेलु बजारमा सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भयो । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार प्रतितोला ७८ हजार ५ सयमा किनबेच भएको सुनको मूल्य सोमबार १ हजार ५ सय रुपैयाँ बढेपछि ८० हजार रुपैयाँभन्दा बढी पुगेको हो । 

सुन अहिलेसम्मकै महँगो

विश्व बजारमा सोमबार साँझसम्म सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८१.४० पुगेको छ । सोमबार बिहान (नेपालमा सुनको मूल्य निर्धारण हुँदा) सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ६१.८४ हुँदा घरेलु बजारमा मूल्य निर्धारण गरिएको हो । सोमबार साँझसम्म आइपुग्दा विश्व बजारमा सुनको मूल्य करिब २० डलर बढिसकेको छ । यही मूल्य कायम रहिरहे मंगलबार घरेलु बजारमा प्रतितोला सुन ८२ देखि ८३ हजार रुपैयाँसम्म पुग्ने अनुमान छ ।


अहिले विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण अन्य मुलुकमा पनि पुगेपछि त्यसको असर सुनको मूल्यमा परेको बताइएको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजार (व्यापार) प्रभावित बनेपछि विश्व बजारमा सुनको मूल्य उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।


‘चीन ठूलो अर्थतन्त्र हो । धेरै राष्ट्रमा उसको व्यापारिक सञ्जाल रहेकाले कोरोना भाइरसको असर विश्वव्यापी व्यापारमा पनि पर्‍यो, जसकारण सुनमा लगानी केन्द्रित भएको हो,’ उनले भने । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सेयर बजार पनि ओरालो लागेका छन् । सेयर बजारमा जोखिम बढेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएको सुनमा लगानी बढेकाले सुनको मूल्य निरन्तर उकालो लागेको उनको भनाइ छ । ‘अहिले लगानीकर्ताले सुनमा लगानी बढाएका छन्,’ शाक्यले थपे, ‘लगानीका अन्य क्षेत्र राम्रो हुन नसकेको अवस्थामा सुन सुरक्षित विकल्प देखिएको हो ।’


फागुनमा बिहेको सिजन भए पनि उच्च मूल्यका कारण नेपाली बजारमा सुनको कारोबार घटेको व्यवसायी बताउँछन् । हाल दैनिक औसत १० देखि १५ किलोका दरले सुन कारोबार भएको छ । महँगीकै कारण रहरले सुन किन्ने ग्राहक नभएको उनीहरूको भनाइ छ । यसअघि मंसिर र पुसमा सुन किनबेच घटेको थियो । माघ सुरु भएपछि एक्कासि सुनको माग बढ्यो । तर फागुनमा सुनको कारोबार फेरि सुस्ताएको छ । सुनको माग घट्नुको प्रमुख कारण मूल्य मात्र भएको व्यवसायीको दाबी छ । मूल्य अकासिएको मौका पारेर गैरकानुनी बाटोबाट सुन भित्रिने क्रम बढेको स्रोतले बताएको छ । सोही सुन बजारमा आएपछि व्यवसायीले बैंकहरूको सुन किन्न छाडेको बताइएको छ । रोजगारीका लागि कम्तीमा छ महिना विदेशमा बसेका नागरिकले प्रतिव्यक्ति ५० ग्रामसम्म काँचो सुन (बिस्कुट) ल्याउन पाउने व्यवस्था छ । अन्ततः त्यो सुन पनि बजारमै आउने हो ।


बजारमा सुनको कारोबार घटेपछि बैंकहरूको सुन बिक्री पनि सुस्ताएको छ । फागुन पहिलो सातासम्म बैंकहरूसँग ५ सय ४५ किलो सुन थुप्रिएको बैंकर्स संघले बताएको छ । बैंकहरूमा करिब साढे ५ सय किलो सुन थुप्रिएपछि माघ अन्तिम सातादेखि कुनै पनि बैंकले सुन आयात गरेका छैनन् । संघको तथ्यांकअनुसार गत जेठ २० मा पनि सुन बिक्री नभएर बैंकहरूमा ६ सय ७२ किलो सुन स्टकमा थियो ।


गत आवको तुलनामा यो वर्ष सुन आयात घटेको छ । अघिल्लो आवको माघसम्म बैंकहरूले ४ हजार ३ सय ५० किलो सुन आयात गरेका थिए । चालु आवको सोही अवधिमा २ हजार ५० किलो मात्र सुन आयात भएको संघले जनाएको छ । हाल वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ  । सोही व्यवस्थाअनुसार २२ वटा वाणिज्य बैंकले पालोअनुसार दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन् ।

सम्बन्धित समाचार - सुनमा दिनदिनै रेकर्ड

प्रकाशित : फाल्गुन १२, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?