कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेडालाई बोकाएर चामल

वसन्तप्रताप सिंह

बझाङ — खाद्यान्न अभाव खेपिरहेका साइपाल गाउँपालिकाका सबै वडामा चामल पुर्‍याइएको छ । बाक्लो हिमपातले बाटो अवरुद्ध भएपछि बझाङको विकट हिमाली भेगमा पर्ने यो गाउँपालिकामा खाद्यान्न संकट बढेको थियो । अहिले खाद्य संस्थानले भेडाच्यांग्राबाट चामल ढुवानी गराएपछि तत्कालका लागि अभाव टरेको छ ।

भेडालाई बोकाएर चामल

खाद्य संस्थानको चामल बोकेर साइपाल गाउँपालिकाको धुलीतर्फ जाँदै गरेका भेडाच्यांग्रा ।तस्बिर ः कान्तिपुर

साइपाल गाउँपालिकाका उत्तरी गाउँलाई जोड्ने रस्यालेक, पानी लोट्यालगायत ठाउँमा करिब चार किलोमिटर बाटोमा जमेको बाक्लो हिउँ अझै पग्लिएको छैन । खच्चडबाट ढुवानी हुन नसकेपछि भेडाच्यांग्रामा बोकाई साइपालमा चामल पठाइएको संस्थानका कर्मचारी राजन धमेनाले जानकारी दिए । ‘स्थानीय बासिन्दाको सहयोगमा भेडा हिँड्न सक्ने बाटो बनाएर खाद्य संकट भएका गाउँमा चामल पठाइएको हो,’ धमेनाले भने ।


खाद्य संकटको सबैभन्दा बढी जोखिम रहेको वडा नम्बर ५ मा पर्ने न्युना गाउँका ३५ परिवारलाई आठ क्विन्टल १० किलो चामल ढुवानी गरेर वितरण गरिसकिएको उनले बताए । धुली र काँडामा पनि केही महिना पुग्ने खाद्यान्न ढुवानी भइसकेको उनको भनाइ छ ।


खाद्य संकटको जोखिममा रहेका यहाँका स्थानीयले गाउँमा चामल पुगेपछि राहत महसुस गरेका छन् । ‘भोकभोकै परिन्छ कि भन्ने चिन्ताले आतंकित थियौं,’ न्युनाका उमेश बोहराले भने, ‘चामल पुगेपछि सबैले राहत महसुस गरेका छन् ।’ खाद्यान्न अभावले केही हप्तासम्म यहाँका बासिन्दाले एक छाक मात्र खाना खाने गरेको उनले बताए ।


चालु आर्थिक वर्षभित्र साइपाल गाउँपालिकामा एक हजार क्विन्टल चामल ढुवानी गर्न डोटीको मेरो कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ । यसअनुसार हालसम्म पाँच सय क्विन्टल साइपाल पुर्‍याइसकिएको र बाँकी पाँच सय क्विन्टल ढुवानीका लागि तल्कोट गाउँपालिकाको स्याँडासम्म पुर्‍याइएको ठेकेदार कम्पनीले जनाएको छ । ढुवानी भएको चामलमध्ये वडा नम्बर १ र २ का बासिन्दाका लागि ३ सय १६ क्विन्टल ६० किलो वितरण भइसकेको छ ।


वडा नम्बर ३ मा ३५ क्विन्टल, वडा नम्बर ४ मा २८ क्विन्टल र वडा नम्बर ५ मा ८ क्विन्टल वितरण भएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । खाद्यान्न अभाव भएको वडा नम्बर ४ र ५ का लागि थप १ सय ५० क्विन्टल चामल भेडामार्फत ढुवानी गरेर धलौनसम्म पुर्‍याइएको छ ।


बाक्लो हिमपातका कारण बाटो अवरुद्ध भएकाले साइपालमा खाद्यान्न अभाव चुलिएको थियो । दुई साताअघि सेनाको हेलिकप्टरले २५ क्विन्टल चामल उत्तरी क्षेत्रमा ढुवानी गरेको थियो । प्रतिव्यक्ति तीन किलोका दरले १ सय २१ परिवारले चामल पाएका थिए । अहिलेलाई संकट टरे पनि जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष धामीले बताए । गाउँपालिकामा वार्षिक पाँच हजार क्विन्टल चामल आवश्यक रहेकामा खाद्य संस्थानले एक हजार क्विन्टल मात्र स्वीकृत गरेको उनको भनाइ छ ।


साइपाल उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले यहाँ खाद्यान्न उत्पादन न्यून हुन्छ । यस गाउँपालिकामा खाद्य संस्थानको स्थायी डिपो स्थापना गर्न गाउँपालिका र यहाँका बासिन्दाले प्रदेश र संघीय सरकारसमक्ष बारम्बार अनुरोध गर्दै आए पनि सुनुवाइ नगरेको धामीले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?