कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सिलिगुडीमा पोखराको प्रवर्द्धन

दीपक परियार

(सिलिगुडी, भारत) — चीनमा नोवल कोरोना भाइरसको सन्त्रासले पोखराको पर्यटनसमेत सुस्ताएपछि व्यवसायीले भारतको उत्तरपूर्वी सहरमा प्रवर्द्धन थालेका छन् । पोखराका पर्यटन व्यवसायी पश्चिम बंगालको सिलिगुडी र कोलकातामा प्रवर्द्धनात्मक कार्यक्रमसहित पुगेका हुन् । 

सिलिगुडीमा पोखराको प्रवर्द्धन

पोखरा पर्यटन परिषद्को अगुवाइमा व्यवसायीले उत्तरपूर्वी भारतकै ठूलो पर्यटन मेला बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागिता जनाए । सिलिगुडीको क्लब मोन्टाना भिस्टामा शनिबार मेला सुरु भएको छ । तीन दिन चल्ने मेलामा व्यवसायीले भारत, भुटान र बंगलादेशका ट्राभल तथा टुर कम्पनी, होटल, अवलोकनकर्ताबीच पोखराको प्रवर्द्धन गर्नेछन् । बीटीएममा नेपालको छुट्टै स्टल छ । भारतको इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसन (इटोआ) ले आयोजना गरेको मेलामा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अन्तर्राष्ट्रिय एसोसिएट पार्टनर हुन् । मेलामा ५० भन्दा बढी स्टल छन् ।


नेपालको स्टलमा पोखराका होटल, ट्राभल, ट्रेकिङ र माउन्टेनियरिङ सम्बद्ध १२ व्यवसायीले डेस्क राखेका छन् । आइतबार मेलामा ‘पोखरा नाइट’ हुनेछ । उक्त नाइटमा पोखरासम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिँदै छ ।


पोखराको लोकसंस्कृति झल्किने प्रस्तुतिसमेत राखिनेछ । परिषद्ले भारत सेल्स मिसन २०२० अन्तर्गत बीटीएममा सहभागिता जनाएको हो । फागुन १२ मा सेल्स मिसन टोली पश्चिम बंगालको राजधानी कोलकाता पुग्नेछ । फागुन १३ मा कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बीटूबी सेल्स मिसन कार्यक्रम हुनेछ । कार्यक्रममा पोखराका व्यवसायीले आफ्ना प्याकेजबारे जानकारी दिनेछन् । पोखरामा भारतीय पर्यटक आकर्षित गर्न व्यवसायीले योजना प्रस्तुत गर्नेछन् । बंगाल ट्राभल मार्टमा पोखरा पर्यटन परिषद्को यो पाँचौं सहभागिता हो ।


भारतका उत्तरपूर्वी सहरमा विगतमा भएका प्रवर्द्धनात्मक कार्यक्रमले भारतीय पर्यटकको पोखरा आगमनमा वृद्धि भएको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । ‘चिनियाँ पर्यटकको कमीलाई पूर्ति गर्न पनि भारतीय सहरमा प्रवर्द्धन रोजेका हौं,’ उनले भने, ‘पर्यटनमा परेको संकटलाई यसले थोरै भए पनि राहत पुग्नेछ ।’ उत्तर पूर्वी भारतका पर्यटक पोखरामा साहसिक गतिविधिमा संलग्न हुन रुचाउने उनको भनाइ छ । पश्चिम बंगालबाट पशुपतिनाथ हुँदै मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको संख्या ठूलो छ । सिक्किम, दार्जिलिङ, कोलकाता, आसामबाट जाने पर्यटकको संख्या बढ्दो छ ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?