ब्रान्ड बन्दै पैंचो

जसले सामान साटासाट गरेर गर्जो टार्ने परम्परालाई व्यावसायिक रुप दिँदै छ 
विजय तिमल्सिना

(अर्घेली, पाल्पा) — गत वर्ष पुस–माघतिर काउलीको भाउ प्रतिकिलो १५ रुपैयाँ हाराहारीमा थियो । काउलीमा धेरै भाउ नआउने देखेर गुल्मी छत्रकोट–४ का केशवराज पाण्डेले यो वर्ष काउली नलगाउने निर्णय गरे । बरु उनले बारीमा सलादका रूपमा प्रयोग हुने अरू खाद्यान्न उमारे । तर यो वर्ष काउलीको भाउ ६०–७० रुपैयाँ प्रतिकिलोसम्म पुग्यो । काउली महँगिएको यो वर्ष धेरै काउली नफलाएकामा उनलाई थोरै थकथकी लागेको छ । 

ब्रान्ड बन्दै पैंचो

पाण्डेका छिमेकी हुन्, दमाकान्त पौडेल । १२ वर्ष भारतको मुम्बई र गुजरातका होटलमा कुक भई काम गरेपछि केही वर्षअघि उनी नेपाल फर्किएका हुन् । घर छेउका केही रोपनी बारीमा आलु, काउली, खोर्सानी, गाजर र कागती गरी गत वर्ष उनले ३ लाख ५१ हजार आम्दानी गरे । यो वर्ष आम्दानी १० लाख पुर्‍याउने उनको लक्ष्य छ । यही लक्ष्य पूरा गर्न उनले बारीमा आलु र गोलभेंडाको संख्या बढाएका छन् ।


पाण्डे र पौडेलजस्तै गुल्मी, पाल्पा र अर्घाखाँचीका करिब नौ हजार किसानले हरेक वर्ष बढीभन्दा बढी तरकारी फलाउने लक्ष्य पाएका छन् । यी किसानलाई हरेक वर्ष टार्गेट दिएर तरकारी फलाउन उत्साहित पार्ने काम पैंचोले गरेको छ । किसानको घरसम्म पुगेर तरकारी र बारीमा फलेका हरेक खाद्यान्न किन्ने र त्यसबापत घरायसी सामान दिने पैंचोको मोडलले यो क्षेत्रलाई तरकारीको पकेट क्षेत्रका रूपमा विकास गर्न मात्रै सघाउ पुगेको छैन, पौडेल जस्तै धेरैलाई विदेशबाट फर्किएर यही केही गराउन प्रोत्साहनसमेत गरेको छ ।


पौडेल जस्तै गुल्मीको रुरु गाउँपालिका–५ टातिमका भक्तराज पुरी पनि १० वर्षदेखिको कतार बसाइ छाडेर अघिल्लो वर्ष नेपाल आइपुगेका छन् । पत्नी सीता पुरीले पाँच वर्षदेखि गरिरहेको तरकारी खेतीलाई उनको आगमनले ठूलो राहत पुगेको छ । ‘१० वर्षदेखि कतार बसियो, त्यति कमाइ यहीँ बसेर हुने भएपछि फर्किएँ,’ पुरी भन्छन्, ‘घरमै बसीबसी तरकारी बेच्न पाइने भएपछि सजिलो भएको छ ।’ घरअगाडिको बारीमा फलेको सिमी र काउलीले उनको परिवार मात्रै पालिएको छैन, पाँच सन्तानमध्ये दुई जनालाई काठमाडौंमा राखेर पढाउन पनि पुगेको छ ।


भक्तराजका ५८ वर्षीय छिमेकी सूर्य पुरी पैंचोलाई तरकारी बिक्री गरेर आयआर्जन गर्ने अर्का उदाहरण हुन् । घरछेउमा फल्ने धनियाँ उनको आम्दानीको मुख्य स्रोत हो । गत वर्ष उनले ३५ हजार बराबरको धनियाँ मात्रै बिक्री गरे । घरछेउको एउटा पाखोमा फलेको धनियाँबाट पाएको ३५ हजार उनका लागि घर चलाउने आय मात्रै होइन, स्वतन्त्रताको पर्याय पनि हो । ‘घर छेउमा फलाएको धनियाँले गुजारा चल्ने भएपछि बुढेसकालमा अरू कसैको भर पर्नुपर्दैन,’ उनी भन्छन्, ‘छोराछोरीले नहेरे पनि केही हुन्न, आफैं कमाएर खान सकिन्छ ।’


हरेक साता बारीमा फल्ने धनियाँ टिपेर बुझाएबापत उनको घरमा नुन, चिनी, चियापत्ती, चामल र चाहिएको अरू सामान पनि आइपुग्छ । ती सामानको मूल्य कटाएर बाँकी पैसा पनि हात पार्छन् ।


पुरीजस्तै गुल्मीका धेरै किसानको घर अहिले यसरी नै चल्न थालेको छ । पाँच वर्षअघि सुरु भएको पैंचो पसलको अवधारणाले यहाँ उत्पादन हुने परिणाम मात्रै बढाएको छैन, बुटवल र काठमाडौं बसाइँसराइका कारण बाँझो रहन थालेको पाखोबारी तरकारी खेतीका लागि भाडामा लिन थालिएको छ ।


आफ्नो जग्गाले नपुगेर अरूको जग्गा भाडामा लिएरै खेती गर्ने प्रचलन पनि बढ्दो छ । रुरु गाउँपालिकाकै २७ वर्षीय कमल ज्ञवाली एक यस्तै उदाहरण हुन् । दुई वर्षअघि साउदीबाट फर्किएका उनले यो वर्ष ३५ रोपनी जग्गा भाडामा लिएर काउली र गोलभेंडा खेती गरे । ‘बुवा पनि १४ वर्ष साउदीमा बस्नुभयो, म पनि साउदी पुगें,’ उनले भने, ‘गाउँमै फलेको तरकारीले भाउ पाउन थालेपछि यतै फर्किएँ ।’


पैंचो पसल अहिले ४० वटा भइसकेको छ । तरकारी संकलन केन्द्र भने ५७ वटा छन् । किसानले पैंचो पसल वा संकलन केन्द्रमा लगेर तरकारी बेच्न सक्छन् भने घरमै बोलाएर पनि पठाउन सक्छन् । हरेक क्षेत्रमा सातामा एक दिन पैंचोका कर्मचारी तरकारी किन्न पुग्ने गरेका छन् । पैंचो पसलमा किसानले उत्पादन गरेका दर्जनौं थरी तरकारीसहित घरायसी सामान, लुगाफाटो र शृंगारसम्बन्धी सामग्री पाइन्छन् । किसानले आफूले फलाएको तरकारी दिएर सोही बराबरको सामान लैजान पनि सक्छन् भने बाँकी रकम पनि पाउँछन् ।


गाउँघरमा चलनमा रहेको सामान साटासाट गरेर गर्जो टार्ने परम्परालाई व्यावसायिक रूप दिने उद्देश्यका साथ पैंचो पसलको अवधारणा सुरु भएको प्रबन्ध निर्देशक ध्रुव न्यौपाने बताउँछन् । पैंचो पसलमा बिहान आइपुगेका तरकारी जम्मा हुँदै बुटवलसहित प्रमुख सहरका होटलमा पनि पुग्छ । नबिकेका तरकारीलाई प्रशोधन गरी विभिन्न खाद्य सामग्री बनाउन पैंचोको आफ्नै उद्योग पनि छ । यही उद्योगमा बनेका टमाटरको सस, अचार, गुन्द्रुक, मस्यौराजस्ता दुई दर्जनभन्दा बढी उत्पादन देशभरका डिपार्टमेन्ट स्टोर र पसलमा पुगेका छन् ।


यो क्षेत्रमा तरकारी उत्पादन बढेसँगै उद्योगको प्रशोधन क्षमता पनि बढाएर लैजाने न्यौपाने बताउँछन् । सुरुमा किसानले घर वरपर फलाएका तरकारी सानो सानो परिमाणामा खरिद गर्दै पैंचोको अवधारणा सुरु भएको थियो । अहिले पनि पैंचोले किसानलाई व्यावसायिक रूपमा सके जति तरकारी उत्पादन गर्न प्रोत्साहन गरिरहेको छ । ‘गाउँमा फलेको तरकारीको माग बढ्दो छ, उद्योगको प्रशोधन क्षमता बढाएर उत्पादन पनि बढाउनुपर्नेछ,’ न्यौपाने भन्छन्, ‘किसानले जति फलाए पनि हामी किन्न सक्षम छौं ।’


किसानलाई तरकारी बढाउन सघाउने गरी पैंचो आफैंले दुई दर्जन कृषि प्राविधिकलाई गाउँगाउँमा खटाएको छ । पैंचोले उपलब्ध गराउने कृषि प्राविधिक किसानको बारीमै पुगेर बीउ, विषादी र मौसमबारे जानकारी दिनुका साथै बढी उत्पादन हुने विधि पनि सिकाउँदै आएका छन् । पैंचोलाई प्राविधिक खटाउन नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) ले सघाएको हो । यो नेपाल र स्विस सरकारको संयुक्त पहलमा चार वर्षअघि सुरु भएको कार्यक्रम हो ।


प्राविधिकले आफ्नो क्षेत्रका किसानलाई सघाएर तरकारी उत्पादन बढाएबापत बोनससमेत दिँदै आएको छ । यसले प्राविधिकलाई काम गर्न प्रोत्साहन मिल्ने न्यौपाने बताउँछन् । ‘किसानलाई पनि हरेक वर्ष उत्पादन बढाउन लक्ष्य दिन्छौं,’ उनले भने, ‘कृषि प्राविधिकलाई पनि आफ्नो क्षेत्रमा उत्पादन बढाउने लक्ष्य दिन्छौं ।’


पैंचोले कृषि प्राविधिकमार्फत करिब छ हजार किसानलाई व्यावसायिक कृषिसम्बन्धी तालिम पनि दिएको उनले जानकारी दिए । व्यावसायिक रूपमा तरकारी खेती गरेर बिक्री गर्ने किसान करिब ९ हजार भए पनि आफ्नो करेसाबारीमा फलेका तरकारी बिक्री गर्ने किसानको संख्या भने डेढ लाखभन्दा बढी भएको न्यौपाने बताउँछन् । ‘७०–८० हजारले नियमित थोरै भए पनि नियमित तरकारी दिन्छन्,’ उनी भन्छन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?