कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक सुरक्षित गर्न १ खर्ब चाहिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सडक दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित सडक बनाउन नेपाललाई आगामी एक दशकमा थप १ खर्ब रुपैयाँ आवश्यक पर्ने विश्व बैंकको नयाँ अध्ययनले देखाएको छ ।

सडक सुरक्षित गर्न १ खर्ब चाहिने

स्विडेनको स्टकहोममा आयोजित सुरक्षित सडकसम्बन्धी तेस्रो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनका क्रममा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।


‘दक्षिण एसियामा सडक सुरक्षा : क्षेत्रीय साझा अभियानको अवसर’ नामक अध्ययन प्रतिवेदनमा नेपालसहित भारत, भुटान र बंगलादेशमा सडक दुर्घटनाका तुलनात्मक अध्ययन गरिएको छ । नेपालमा मात्रै सन् २००० यता सडक दुर्घटनाको दर बढ्दो क्रममा रहेको प्रतिवेदनमा जनाइएको छ । सन् २०१७/१८ मा प्रति एक लाख जनसंख्यामा सडक दुर्घटनामा मृत्यु हुने दर ८ दशमलव ५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका लागि दक्षिण एसियाली उपाध्यक्ष हार्टविथ सफरले दक्षिण एसियामा पछिल्लो समय भएको तीव्रतर आर्थिक वृद्धिदरले सवारी साधन किन्नेको संख्या बढेको र सडक दुर्घटनामा मृत्युदर बढ्दा आर्थिक अवसरमा धक्का पुग्ने धारणा राखे ।


दक्षिण एसियामा सडक दुर्घटनाको अवस्था भयावह अवस्थामा भए पनि यसलाई रोक्न सकिने उनको भनाइ थियो । विश्व जनसंख्याको ठूलो हिस्सा ओगट्ने दक्षिण एसियामा सडक र सवारी सुरक्षा प्रमुख प्राथमिकता हुनुपर्ने अध्ययन प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनले सडक र सवारी सुरक्षाका लागि क्षेत्रीय रूपमा अभियान थाल्नुपर्ने औंल्याएको छ ।


क्षेत्रीय व्यापार करिडोरमा दुर्घटना बढी हुने र सडक पनि असुरक्षित रहेको अध्ययनले देखाएको छ । यस्ता करिडोरमा जनावरदेखि पैदलयात्री, मोटरसाइकल, रिक्सा, तीनपांग्रे, कार, मिनी बसजस्ता सबै खालका सवारी चल्ने भए पनि लेन साँघुरो रहेको र पैदलयात्रीका लागि पर्याप्त सुविधा नभएको प्रतिवेदनमा उल्लेख छ ।


नेपालसहित भारत र बंगलादेशका राजमार्गको तथ्यांकअनुसार प्रतिकिलोमिटर शून्य दशमलव ३ देखि ३ वटासम्म मृत्युका घटना भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?