मर्मतका लागि कालिगण्डकी ‘ए’ को ड्याम खोलिने

प्रतीक्षा काफ्ले

स्याङ्जा — नेपालकै ठूलो जलविद्युत्त परियोजना कालीगण्डकी ‘ए’ को ड्याम खोलिएको भएको छ । परियोजना कार्यालयले एक सूचना जारी गर्दै मर्मतका लागि बिहीबार रातिदेखि ड्याम खोलिने जनाएको हो ।

बिहीबार राति ९ बजेदेखि चार दिनसम्म ड्याम खोलिने छ।प्राधिकरणले ड्यामदेखि पावर हाउससम्मका क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई सचेत रहन विशेष अनुरोध गरेको छ। प्रशासकीय अधिकृत प्रदीपकुमार भुवाजीको हस्ताक्षरमा जारी सूचनामा स्याङ्जा, पाल्पा र गुल्मीका ६ वटा स्थानीय तहका बासिन्दालाई सचेत रहनसमेत आग्रह गरिएको छ।

प्रभावित क्षेत्रमा पर्ने स्थानीय तहमध्ये स्याङ्जाको कालिगण्डकी, पाल्पाका तानसेन र बगनासकाली तथा गुल्मीका कालिण्डकी, सत्यवती र रुरु गाउपालिका रहेका छन। ६ वटै स्थानीय तहलाई पत्र लेखेर नै सूचना गरिएको प्राधिकरणले जनाएको छ।

ड्याम खोलिएको समयमा सचेत रहन अनुरोध गर्दै प्राधिकरणले क्षति भएमा आफूहरु जवाफदेही नहुने जनाएको छ। कालीगण्डकी परियोजनामा एकसय ४४ मेगावाट विद्यूत उत्पादन गरिन्छ। प्रकाशित : फाल्गुन ८, २०७६ १८:४४

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निर्वाचन क्षेत्रको बजेट तानातान

कार्यक्रमको २ करोड रुपैयाँमध्ये आधा आफूहरूले पाउनुपर्ने समानुपातिक सांसदको माग
प्रतीक्षा काफ्ले

(गण्डकी) — प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच विवाद चर्किंदा प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको निर्वाचन क्षेत्रमा अहिलेसम्म निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम सञ्चालनमा आउन सकेको छैन । उनी पर्वतको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का सांसद हुन् । 

समानुपातिक सांसद ललितकला गुरुङ र जुनादेवी नेपालीले उक्त कार्यक्रमअन्तर्गत विनियोजित रकम बराबर हैसियतले विभाजन गर्नुपर्ने माग राख्दै विरोध जनाएका छन् । ‘आपसी छलफल भइरहेको छ,’ सभामुखका स्वकीय सचिव लोकनाथ आचार्यले भने, ‘योजना छान्ने काम भइरहेका छन् । केही दिनमा टुंगिन्छन् ।’ उपनिर्वाचन, संसद्को बैठक र विविध कारणले योजना छनोटमा समय लागेको उनले बताए ।

कार्यक्रमअन्तर्गत कात्तिक मसान्तसम्म योजना छनोट गरिसक्नु पर्ने हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार फागुनको यतिका दिनसम्म पनि बजेट बाँडफाँट मिलेको छैन । प्रदेशका ३६ निर्वाचन क्षेत्रमध्ये ४ वटामा विवादका कारण अहिलेसम्म कार्यक्रम सञ्चालन हुन नसकेको उनले बताए । प्रदेश सरकारले प्रदेशका सबै सांसदले बाँडफाँट गर्ने गरी चालु वर्षमा ७२ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेट बाँडफाँटका लागि निर्वाचित सांसदको नेतृत्वमा समानुपातिक सांसद सदस्य रहनेगरी समिति बनाइएको हुन्छ ।

प्रदेशको कार्यविधिले प्रतिशत र रकम नतोकेकाले समझदारीमा रकम बाँडफाँट गर्नुपर्ने प्रत्यक्ष निर्वाचित सांसदको भनाइ छ । समानुपातिकका सांसदले भने २ करोडमध्ये १ करोड रुपैयाँ आफूहरूले पनि पाउनुपर्ने माग गर्दै आएका छन् । केही दिनअघि प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विवादित निर्वाचन क्षेत्रका सांसदबीच छलफल गरी सहमतिमा योजना लिएर आउन लगाएको बताएका थिए ।

यसैगरी तनहुँको १ को ‘क’ मा पनि योजना बाँडफाँटमा विवाद छ । निर्वाचित सांसद रामबहादुर गुरुङ, डोवाटे विश्वकर्मा र सरिता गुरुङबीच विवाद हुँदा समस्या निम्तिएको हो । गुरुङले भने, ‘भागबण्डा नगरी सहमतिमा योजना छनोट गरौं भन्दा समानुपातिकका सांसद मिल्नु भएन र अहिलेसम्म लम्बिएको छ । उहाँहरू आफ्नो ठाउँमा मात्र योजना पार्न खोज्नुहुन्छ अनि कसरी कुरा मिल्छ ?’ धेरैपटक छलफल गर्दा पनि समाधान नभएको उनको भनाइ छ ।
जनताको आवश्यकता र अपेक्षाअनुसार बजेट विनियोजन हुनुपर्ने उनको भनाइ छ । विश्वकर्माले भने प्रदेशको कार्यविधिले समान हैसियतले योजना वितरण गर्ने भनेको बताउँदै प्रत्यक्षले ७० लाख र आफूहरूले ६५/६५ लाख बाँडफाँट गर्ने माग राखेको जनाए । २ करोड रुपैयाँमा २५ वटा योजना अनिवार्य हुनुपर्ने छ, जसमा दुईवटा योजना २५ लाख रुपैयाँभन्दा न्यून गर्न पाइने छैन । अन्य योजना १०/१५ लाख रुपैयाँको हाराहारीमा छुट्याउन पाइने व्यवस्था छ ।

यसैगरी विवादित क्षेत्रमध्ये बाग्लुङको १ को ‘क’ पनि हो । प्रत्यक्ष सांसद इन्द्रलाल सापकोटा र समानुपातिक सांसद मणिभद्र शर्मा कँडेलबीच सहमति नहुँदा विवादित बनेको छ । नवलपुलको १ को ‘ख’ मा पनि प्रत्यक्ष सांसद रोशनबहादुर गाहा थापा र समानुपातिक सांसद ओमकला गौतमबीच सहमति नजुट्दा योजना छनोट हुन सकेको छैन । निर्वाचन पूर्वाधार विकास कार्यविधिमा प्रतिशत र यति रकम बाँडफाँट गर्ने भनेर नतोकिएको हुँदा दुवै जनाले सामूहिक योजना लैजानुपर्ने रोशनले बताए ।

चारवटै विवादित क्षेत्रका योजना मुख्यमन्त्रीसमक्ष पुगेका छन् । ‘मुख्यमन्त्रीले छलफल गरेर मिलेर आउन भन्नुभएको छ,’ भौतिक मन्त्रालयका सचिव मरहट्टाले भने, ‘नमिलेमा मुख्यमन्त्रीले निर्णय गर्नुहुने छ ।’

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×