चल्लाबाट महिनामै ४२ करोड ‘लुट’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चल्लाबाट महिनामै ४२ करोड ‘लुट’

राजु चौधरी

काठमाडौँ — मंसिर अन्तिम साता चल्लाको मूल्य ४० रुपैयाँ थियो । ह्याचरी उद्योगीले मंसिर २९ देखि १० दिन चिक्स होलिडे भन्दै चल्ला उत्पादन गरेनन् । त्यसलगत्तै माघ ११ गते मूल्य बढेर ५० रुपैयाँ पुग्यो । मूल्य क्रमशः बढेर माघ १४ गते ६०, माघ १८ गते ७०, माघ २९ मा मच्छेनारायण सप्लायर्सले प्रतिगोटा ७५ रुपैयाँसम्म बिक्री गर्‍यो । ठाउँअनुसार ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । 

यो अवधिमा प्रतिचल्ला औसतमा ३० रुपैयाँ मूल्य बढेको किसानको दाबी छ । किसानले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बुझाएको ज्ञापनपत्रअनुसार प्रतिहप्ता ३५ लाख चल्ला उत्पादन भइरहेको छ । यसअनुसार ह्याचरीहरूले प्रतिचल्ला ३० रुपैयाँ अतिरिक्त मुनाफा गर्दा एक सातामै १० करोड ५० लाख मुनाफा कमाएको राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिको दाबी छ । यो सरासर व्यवसायीको लुट रहेको उनीहरूको भनाइ छ ।


‘ह्याचरीहरूले कार्टेलिङ गरेर किसानबाट एक महिनामै ४२ करोड लुटेका छन्,’ समिति सदस्य दीपक बस्ताकोटीले भने । समितिका अनुसार चल्लाको उत्पादन लागत ३०/३५ रुपैयाँ पर्छ । तर ह्याचरीहरूले ७० रुपैयाँभन्दा बढीमा बिक्री गरिरहेका छन् । चल्लाको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदासमेत सरकारी निकायले हस्तक्षेप नगरेको किसान बताउँछन् । यसले नियामक निकाय पनि कालोबजारीसँग मिलेको पुष्टि भएको संघर्ष समितिको दाबी छ ।


‘३० रुपैयाँमा उत्पादित चल्ला ७० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ,’ समितिले मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग परिसरमै आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक विष्णु खड्काले भने, ‘उद्योगीको कालोबजारीमा विभागको पनि मिलेमतो देखिन्छ ।’ संघर्ष समितिले चल्ला उत्पादन लागत ३०/३५ पर्ने बताए पनि पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले भने उत्पादन लागत महँगो पर्ने बताउँदै आएका छन् । उनका अनुसार उत्पादन लागत ५० देखि ५५ रुपैयाँ पर्छ ।


चल्लाको मूल्यमा कालोबजारी भएपछि संघर्ष समितिले माघ २० गते आपूर्ति विभागमा लिखित उजुरी दर्ता गरेका थिए । तर विभागले कुनै चासो नदिएको उनीहरूको गुनासो छ । अहिले देखिएको समस्या समाधान गर्न सर्वपक्षीय बृहत् पोल्ट्री गोलमेच सम्मेलन गर्नुपर्ने उनीहरूको माग छ । पत्रकार सम्मेलन लगत्तै किसानहरूले आपूर्ति विभागका महानिर्देशक नेत्र सुवेदीलाई ज्ञापनपत्र बुझाए । त्यस क्रममा किसानले कृषि बजारमा दलाल र माफियाले गरिब किसानमाथि खेलबाड गरेको भन्दै गुनासो गरे । ‘कुखुरापालक किसानलाई चरम शोषण गर्दै ऋणमा डुबाइएको छ । यहाँ किसान विस्थापित गराउने खेल भएको छ,’ दुर्गादेवी पोल्ट्री प्रालिका सञ्चालकसमेत रहेका बस्ताकोटीले भने, ‘पोल्ट्री बजारमा व्याप्त सिन्डिकेट तत्काल खारेज गरी किसानको पक्षमा नीतिगत निर्णय गरिनुपर्छ । तर विभागले नियमन गर्नुको साटो दलाल उद्योगीहरूको संरक्षण गरेको देखिन्छ ।’


चुन्नीखेल (कपन) का किसान सूर्यनारायण श्रेष्ठले पनि आफूहरू सधैं नोक्सानमा रहेको गुनासो गरे । चार वर्षदेखि कुखुरापालन गरे पनि कुनै लटमा नाफा नभएको उनले सुनाए । ‘चल्लाको मूल्य अस्वाभाविक रूपमा बढेको छ । कुखुरा बिक्री गर्ने बेला मासुको मूल्य घट्छ,’ उनले भने । संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै महानिर्देशक सुवेदीले उद्योगीसँग विभागको मिलेमतो नभएको दाबी गरे । ‘कसैले अनुसन्धानमा सघाउँछ भने त्योसँग मिलेमतो हुन सक्ला । अरूसँग मिलेमतो गर्ने, सुविधामा चुक्ने काम गर्दिनँ,’ महानिर्देशक सुवेदीले भने ।


यस विषयमा पशुसेवा विभागका आधिकारिक व्यक्ति बोलाएर छलफल गरिने उनले बताए । अहिले भइरहेको मूल्यका सन्दर्भमा विभाग आँखा चिम्लेर नबसेको उनको दाबी गरे । ‘सम्बद्ध पक्षलाई बोलाएर छलफल गर्छु । चल्ला मार्ने काम मिलेर गरेको पनि देखिन्छ,’ उनले भने, ‘निर्णय हुन केही समय लाग्छ । दोषी देखिए कारबाही हुन्छ ।’ चल्लाको मूल्यवृद्धि हुँदा ह्याचरीलाई पत्र नकाटिएको संघर्ष समितिका संयोजक खड्काले आरोप लगाए । ‘३५ रुपैयाँमा तयार भएको चल्ला ७० देखि ९० रुपैयाँसम्ममा बिक्री गर्नु कत्तिको जायज हो,’ खड्काले महानिर्देशक सुवेदीलाई प्रश्न गरे, ‘यस विषयमा विभाग किन बोलेन ? मूल्य घटाउन कहिलेदेखि ताकेता गर्नुहुन्छ ?’

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

सिस्टम डाउन हुँदा तेल आयात असहज

कान्तिपुर संवाददाता

झापा — पेट्रोलियम निर्यातमा भारतले लागू गरेको नयाँ अनलाइन प्रणालीका कारण आयातमा आएको कठिनाइले झापालगायत मेचीका जिल्लामा पेट्रोलियम अभाव भएको छ । 

अनलाइन सिस्टम डाउन भएका कारण भारतीय भन्सारमा भएको ढिलासुस्तीले चार दिनदेखि तेल आयातमा समस्या भएको नेपाल आयल निगम चारआली डिपोले जनाएको छ । समयमै आयात नहुँदा झापासहित मेचीका धेरै पम्पमा तेल अभाव भएको हो । यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ ।

नयाँ सिस्टमका कारण आयातमा समस्या भोग्नुपरेको आयल निगम चारआली डिपोका प्रमुख विपिनकुमार श्रेष्ठले जनाए । यद्यपि बुधबारबाट झापासहितका जिल्लामा तेल आपूर्ति सहज बन्ने उनको दाबी गरे । ‘मंगलबार साँझ २३ वटा गाडी पास भएका छन्, बुधबारदेखि सबैतिर सहज रूपमा तेल पाइन्छ,’ उनले भने ।

झापाका केही पम्पले मात्रै मंगलबार तेल वितरण गरे । धेरैजसो पम्पले ‘तेल छैन’ लेखेको सूचना टाँसेका थिए । उपभोक्ताले भने नेपाल आयल निगमले तेलको मूल्य घटाएका कारण पम्पहरूले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन् । ‘तेलको मूल्य घट्नेबित्तिकै पम्पहरूमा तेल छैन,’ बिर्तामोडका स्थानीय प्रभुनारायण साहले भने, ‘हिजोसम्म पाइएको तेल आज किन छैन ?’

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइरालाले व्यवसायीका कारण तेल अभाव नभएको दाबी गरे । ‘व्यवसायीका कारण नभएर भारतीय भन्सारले लागू गरेको अनलाइन सिस्टमका कारण तेल अभाव भएको हो,’ उनले भने । मेचीका चार जिल्लामा दैनिक पेट्रोल सय केएल र डिजेल अढाइ सय केएल खपत हुने गरेको चारआली डिपोको भनाइ छ । सोमबार राति इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाइएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×