कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

माथिल्लो दोर्दी ‘ए’ को काम अन्तिम चरणमा

आश गुरुङ

(लमजुङ) — करिब ९६ प्रतिशत निर्माण सकिएको दाबी गरिएको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले चैतभित्रै विद्युत् उत्पादन थाल्ने तयारी गरेको छ । विद्युत्गृहमा १२ दशमलव ५ मेगावाटका २ वटा टर्बाइन राखेर २५ मेगावाट विद्युत् उत्पादन गरिनेछ । 

माथिल्लो दोर्दी ‘ए’ को काम अन्तिम चरणमा

बाँध क्षेत्र, टनेल र पावर हाउसको काम तीव्र गतिमा अघि बढाइएको प्रवर्द्धक लिबर्टी इनर्जी कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए । गत भदौ १४ मा सक्नुपर्ने उक्त आयोजना निर्माण भइरहँदा साउन ८ मा बाढीपहिरो गएपछि बाँध क्षेत्र पुरिएको थियो । आयोजनामा क्षति पुगेपछि निर्माण अवधि पनि सात महिना लम्बिएको छ ।


भूकम्प, नाकाबन्दी र यसै वर्षको बाढीले आयोजना निर्माण समय धकेलिएको आयोजनाका सञ्चालक एवं निर्देशक राजेन्द्र वस्तीले बताए । ‘बाढीले पुरिएका संरचना अहिले मर्मत गर्दै छौं । बाढीले पुरेको हो, बाढीले संरचना भत्काएको भने छैन,’ उनले भने, ‘९६ प्रतिशत निर्माण सकिएकाले अब विद्युत् उत्पादन मिति टाढा छैन ।’ यी विविध कारणले आयोजनामा ६७ करोड ६० लाख रुपैयाँ लागत बढेको उनको अनुमान छ । सुरुमा ३ अर्ब ९६ करोड लागत अनुमान गरिएको आयोजनाको लागत बढेर ४ अर्ब ६३ करोड ६० लाख रुपैयाँ पुगेको उनले बताए । १५ करोड ८४ लाख प्रतिमेगावाट लागत अनुमान गरिएकामा १८ करोड ५४ लाख रुपैयाँ पुग्ने भएको छ ।


आयोजनाको बाँध, डिसेन्डर तथा गेटलगायत सिभिल संरचनाको काम ९४ प्रतिशत सकिएको आयोजनाका साइट प्रोजेक्ट म्यानेजर सुरेशप्रसाद जोशीले बताए । सुरुङ निर्माण सकिएको छ । पनेस्टक लगायत हाइड्रो मेकानिकल काम ९९ प्रतिशत पूरा भएको उनको भनाइ छ । विद्युत्गृह निर्माण पनि सकिएको छ । त्यसमा उपकरण जडानलगायत इलेक्ट्रो मेकानिकलतर्फका काम ९४ प्रतिशत सकिएको छ । स्विचयार्ड निर्माण ९० प्रतिशत सकिएको छ ।


सुरुङको निर्माण वाइबा इन्फ्राटेक प्रालि र पेनस्टकको सिभिल एवं हाइड्रोमेकानिकलको कार्य माछापुच्छ्रे जेभीले गरिरहेका छन् । हेडवर्क्स र पावर हाउसको काम भने बज्रगुरु कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।


प्रकाशित : फाल्गुन ७, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?