पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । 

‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा सामान्य गिरावट आएको छ । स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने,‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुनेछ ।’


समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।


निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । प्रकाशित : फाल्गुन ५, २०७६ १९:१०

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

व्यापारको ‘गंगाजल’मा प्रकाश झा

यज्ञश

काठमाडौँ — वर्ष थियो– सन् १९९७ । सिनेमासँग परिचय भएको केही वर्ष भएको थियो । यस्तैमा टिभीमा एउटा गीत आउन थाल्यो, माधुरी दीक्षितको– ‘केहे दो एक बार सजना... ।’ 

फिल्म थियो– ‘मृत्युदण्ड।’ कलाकार थिए माधुरी, अयुब खान, ओम पुरी, सबाना आजमी, डा. मोहन आगासे आदि।

फिल्म निकै चर्चामा थियो। त्यसैबेला मैले पहिलोपटक प्रकाश झाको नाम सुनेको थिएँ। भारतमा रिलिज भएको केही समयपछि यो फिल्म हेरियो। सामन्ती समाज र पितृसत्ताको जरोमा प्रहार गर्ने यो फिल्ममा शबाना आजमी र माधुरी दीक्षित गजब लागे। प्रकाश झाका बारे दिमागमा एउटा छवि बन्यो– यो मानिस गम्भीर फिल्म बनाउने प्राणी हो।

तर, त्यसपछि उनले बनाए ‘दिल क्या करे?’ अरे, यो त फेरि अर्कै छ। अजय देवगन र काजोलको लभस्टोरी। यो फिल्म बनाउँदा एकथरी समीक्षकले भने– प्रकाश झा नामक रेल आफ्नो ट्रयाक छोडेर तोरीबारीतिर दौडिन थाल्यो !

यस्तो किन पनि भनेका रहेछन् भने झाले ‘मृत्युदण्ड’अघि बनाएका दुई फिल्म ‘दामुल’ र ‘परिणती’ले ती समीक्षकको मनमस्तिष्कलाई कब्जा गरेका रहेछन्। साँच्चिकैयी फिल्म भारतमा बन्न थालेका कला फिल्मका उम्दा उदाहरण थिए। केतन मेहता, कुन्दन शाह, सइद अख्तर मिर्जासँगै प्रकाश झा उभिएका थिए। बँधुवा मजदुरको विषयमा बनेको ‘दामुल’ले धेरैलाई स्तब्ध बनाएको थियो भने राजस्थानका एक जोडीको लोभ र लालचको लोकथामा बनेको ‘परिणती’ले मान्छेको दिमाग हल्लाइदिएको थियो।

भारतीय फिल्म तथा टेलिभिजन इन्स्टीच्युट पुनामा फिल्म पढ्दा–पढ्दै प्रकाश झाले फिल्म बनाउन थाले। जब फिल्म बनाउने नै काम थाले, पढाइ बीचैमै छोडिदिए। राज किरण र दिप्ती नवललाई लिएर भारतको पहिलो हाइस्कुल स्पोर्स्ट फिल्म ‘हिप हिप हुर्रे’ बनाए। दिप्ती नवलसँग उनले विवाह पनि गरे। अहिले भने ६७ वर्षको उमेरमा झा एक्लै छन्। दिप्तीले केही छानिएका फिल्ममा अभिनय गरिरहेकी छन् भने प्रकाश फिल्म निर्माणमा व्यस्त छन्।

‘दिल क्या करे’ र बच्चाको मनोविज्ञानको ‘राहुल’पछि भने प्रकाश झाले एउटा बीचको बाटो समाते। न उनी पूर्णत आर्ट फिल्मको मरुभूमिमा प्यासी बने, न व्यवसायिक हिन्दी फिल्मको हिलोमा फूल्ने कमल बने।

‘मैले कुरा त तितो नै गरें तर त्यसलाई चास्नीमा डुबाएर दिन थालें,’ काठमाडौंको र्‍याडिसन होटलको सोफामा दुई दिन पहिलेको बिहान झाले भने, ‘गुलियो खाने बानी परेकालाई एकैचोटी तितो दियो भने के हुन्छ? तितोले फाइदा गर्छ र गुलियोले हानी गर्छ भन्ने थाहा पाएर पनि मान्छेले गुलियो नै खोज्छ। यो कुराको बोध भएपछि मैले ‘सुगर कोटेट’ गर्न थालें।’

‘सुगर–कोट’ गरिएको उनको तितो औषधिको पुडियाथियो– ‘गंगाजल’। अजय देवगन, ग्रेसी सिंह, मोहन जोशी, मुकेश तिवारी र यशपाल शर्माले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले बिहारको गुन्डाराज र पुलिसराजमाथि नयाँ तरिकाले प्रकाश पार्‍यो। भागलपुरमा भएको एक घटनालाई उनले बिहारको शासनमाथि कटाक्ष गरेका थिए। पुलिस थाना रहेका कैदीको आँखा फोरेर पुलिसले उनीहरुको आँखामा तेजाब हालिएको थियो। यो तेजाबलाई गंगाजल भन्दै पुलिसले भन्छ– ‘आज सारा तेजपुर (भागलपुर) लाई पवित्र गरिदिन्छु।’

यो समाजको जरासम्मै भ्रष्टाचार पुगिसकेको छ भन्ने मान्यता राख्ने प्रकाशले चलेको स्टार, आइटम गीत र एक्सन दृश्यहरुले घेरेर समाज, पुलिस र नैतिकतामाथि आफ्नो भनाई पेश गरे। यसलाई दर्शकले मन पराए। त्यसपछि उनले राजनीति र अपहरण उद्योगमाथि नाना पाटेकर, अजय देवगन र मोहन आगासेलाई लिएर ‘अपहरण’ बनाए।

‘मैले दामुलमा शुद्द कथा भनेको थिएँ। तर, त्यो कसैले हेरेन। त्यसबेला एनएफडिसी (नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन, सरकारी निगम) बाट १२ लाख रुपैयाँ ऋण लिएर त्यो फिल्म बनाएको थिएँ। फिल्मले राष्ट्रिय पुरस्कार पनि पायो। तर, फिल्म हलमा रिलिज नै भएन। अनि पैसा कसरी उठाउने? म ऋणमै थिएँ। राष्ट्रिय पुरस्कार लिन जाँदा मैले त्यसबेलाका सूचना मन्त्रालयका सचिवलाई भनें– मलाई यो अवार्ड नदिनुस्। बरु, निगममा मेरो १२ लाख ऋण छ त्यो तिर्ने व्यवस्था मिलाइदिनुस्,’ उनले आफ्नो व्यवसायिक जीवनको किस्सा सुनाए।


केही दिनमा उनको फरियादले परिणाम दियो। सरकारले उत्कृष्ट फिल्मको राष्ट्रिय अवार्ड पाउने फिल्मलाई दस लाख नगद दिने निर्णय गर्‍यो। ‘यसरी मैले मेरो पहिलो फिल्मको ऋण तिरें,’ उनले सुनाए।

उनले यो किस्सा शुद्द फिल्मले पैसा कमाउदैन र राम्रो फिल्म बनाउने निर्माता सँधै ऋणमा हुन्छ भन्नका लागि सुनाएका थिए। यसको उपाय उनले खोजे– बलिउडमा चल्ने सबै मसला मिलाउने तर आफ्नो कथा पनि भन्न नछोड्ने। यो ठिमाहा शैलीले काम गरेको उनको ठम्याई छ।

यसमा मैले उनलाई प्रश्न गरें, ‘त्यसो भए तपाईं आफ्नो कथा भन्न होइन, दर्शकलाई रिझाउन, उनीहरुलाई मन परेको कुरा भन्नुहुन्छ?’

यो प्रश्नले उनी भड्किएनन्। आफ्नो शान्त शैलीमा उनले भने, ‘हो। म बजारको शैलीलाई पछ्याउँछु तर बजारको कथा भन्दिनँ।’ उनको आशय थियो– मैले मोटरमात्रै बजारको लिएको हुँ, त्यसलाई आफ्नै बाटोमा चलाएको हुँ।

मैले त्यसमा फेरि थपें– यसरी त तपाईं सर्जकभन्दा बढी व्यापारी हुनुभएन?
उनी यसमा पनि सहज देखिए। एउटा उदाहरण प्रस्तुत गरे।

‘दामुलले राष्ट्रिय अवार्ड पाएपछि घरमा सबैजना खुशी भए। तिनताका राष्ट्रिय पुरस्कार पाउने फिल्मको सरकारी टिभी च्यानल दुरदर्शनले प्रसारण गर्थ्यो। एक दिन दामुल पनि आउने भयो। घरमा सबै नुवाईधुवाई गरेर, बडो तयारीका साथ फिल्म हेर्न तयार भएर टिभीको अगाडि बसे। त्यसबेला दिप्ती पनि साथै थिइन्। हाम्रो घरमा काम गर्ने बिमला बाई सबभन्दा धेरै खुशी थिइन्, साहबको फिल्म हेर्ने भनेर। फिल्म सुरु भयो। सबैले स्वादले हेरे। फिल्म सकिएपछि खाना खान बसियो। खानाको टेबुलमा सबैले मेरो निकै प्रशंसा गरे। तर, बिमला बाईको अनुहारमा मैले खासै खुशी देखिनँ। अनि मैले उनलाई सोधें– बिमला बाई तिम्ले पिक्चर हेरिनौं? कि मन परेन?’

उनले भनिन्– ‘हेरें साहेब, राम्रो पनि थियो। तर, एउटा कुरा भन्छु। अर्कोपटक बनाउँदा चाहिँ फिल्म बनाउनु।’

‘यसको अर्थ थियो, यसको स्वाद उनलाई परेन। उनको जिब्रो फिल्मका नाममा अर्कै स्वादमा अभ्यस्त भएको थियो। त्यसदिन मलाई लाग्यो, म एकाएक यो स्वाद परिवर्तन गर्न सक्दिनँ। तर, यसको मात्रालाई तलमाथि पारेर मान्छेलाई तानिरहन सक्छु। ‘मृत्युदण्ड’ मेरो त्यही प्रयोग थियो। सुरुमा ‘मृत्युदण्ड’को मुख्य भूमिका पल्लवी जोशीले गर्नेवाला थिइन्। यसमा फिल्मी टाइपका संवाद र गीत थिएनन्। पछि माधुरी आइन्। गीत आयो। ‘पति हौ, पति नै बन, परमेश्वर बन्न नखोज’ भन्ने टाइपका बलिउडी संवाद आए। यसको परिणाम फिल्म चल्यो। मेरो कतै ऋण बाँकी रहेन।’

कुराको निस्कर्ष उनले सुनाए– यदि सच्चा फिल्म बनाउने हो भने कि त फिल्ममेकरमाथि सरकारले लगानी गर्नुपर्छ कि निजी क्षेत्रले। म लगानी डुबाएर कतिवटा फिल्म बनाउन सक्छु? निर्माताको लगानी जोगाइदिनु मेरो कर्तव्य हुन्छ। त्यसमा म असफल भएँ भने मैले अर्को फिल्मका लागि लगानी नै पाउँदिनँ।’
......

बलिउड विस्तारै भोजपुरी मसला र तेलुगु फिल्मको कथातिर ढल्किइरहेको समयमा झाको यही सुगरकोटेड शैली हिट हुन थाल्यो। मृत्युदण्ड, गंगाजल र अपहरणको सफलतापछि प्रकाश झा आफ्नो महत्वाकांक्षी फिल्म ‘राजनीति’का साथ मैदानमा निस्किए।

नाना पाटेकर, अजय देवगन, रनवीर कपुर, मनोज बाजपेयी, अर्जुन रामपाल, नसिरुद्धिन शाह र कट्रिना कैफ। फिल्मको स्टारकास्ट जति भव्य थियो, त्यति नै भव्य थियो फिल्मको विषय। ‘महाभारत’को भारतीय राजनीतिको वर्तमान कालखण्डको एडप्टेसन !

‘महाभारत’ कथा शासक परिवारको मनोमालिन्य र शक्तिको खिचातानीको कथा थियो। उनले त्यसलाई भारतीय कांग्रेस पार्टीमा ल्याएर फिट गरिदिए, जहाँ गान्धी परिवार ‘महाभारत’को कुरु वंशजस्तै थियो।

फिल्म रिलिज नहुँदै चर्चा चल्यो– फिल्ममा कट्रिना कैफ सोनिया गान्धीको भूमिकामा छन्।
अनि त के चाहियो? पूरै कांग्रेस पार्टी जाग्यो। त्यसबेलासम्म भारतमा कांग्रेसकै राज थियो। २०१० चलिरहेको थियो। २०१४ मा नरेन्द्र मोदीको लहरले भारतलाई छोप्न अझै चार वर्ष बाँकी थियो। कांग्रेस पार्टीले फिल्म हेर्ने अडान लियो। आफ्नो पार्टीकी ‘सुप्रिमो’को छविलाई कसरी पेश गरिएको छ, त्यो नहेरी फिल्म पास नहुने भयो।

‘मेरो जहिल्यै सेन्सरमा झगडा हुनेगरेको छ। कति फिल्म त सेन्सरले रोकेर अदालतले समेत खुलाएका छन्। यसपाली चाहिँ सिंगो सत्तारुढ दल मेरो पछि लाग्यो। धेरैवटा स्क्रिनिङ भए। कांग्रेसका नेताहरुले फिल्म हेरे। अनि बल्ल चलाउन पाइयो,’ उनले सुनाए।

फिल्ममा एक पश्चिमा युवतीको चरित्र थियो, जो आफ्नो देशमा पढ्न आएको भारतीय युवाको प्रेममा परेर भारत आउँछे र यहाँ आएको उसको राजनीतिक परिवारबारे थाहा पाउँथे। यो चरित्र यहाँसम्म सोनिया गान्धीसँग मिल्थ्यो। इटलीमा पाइलट पढ्न गएका राजीव गान्धीको प्रेममा परेर सोनिया भारत आएकी थिइन्।

तर, न त यो चरित्र सोनियाको थियो न यो भूमिकामा कट्रिना थिइन्। बरु आफ्नो पतिको हत्यापछि सेतो साडी लगाएर चुनावी सभामा भोट माग्ने पछाडिको दृश्यचाहिँ सोनियासँग मिल्दो थियो। विपक्षी भारतीय जनता पार्टी (भाजपा)ले विदेशीको मुद्दा उराल्दासमेत सोनियाको नेतृत्वमा कांग्रेसले बहुमत ल्याएको थियो।

भारतीय राजनीतिजस्तो गन्जागोलबाट गुज्रिइरहेको थियो, झाको फिल्म पनि त्यस्तै थियो। न यो महाभारत थियो न भारतको राजनीति। यसले राजनीतिमा माथि भने केही खरा टिप्पणी गरेको थियो। फिल्मको सुरुमै पुँजीवादी लोकतन्त्रलाई लल्कार्ने वामपन्थी नसिरुद्धिन शाह हुन् वा दलित भोट बैंकका लागि भिड्ने कर्ण र दुर्योधन (अजय देवगन र मनोज वाजपेयी)को जोडी होस्, फिल्ममा भारतीय राजनीतिको छायाँ थियो।

यो फिल्मको पनि मूलमा एउटै कुरा थियो– भारतीय राजनीति पूर्णत भ्रष्ट भइसकेको छ।
त्यसपछि प्रकाश झाले राजनीति र सामाजिक विषयमा अरु थप फिल्म बनाए– चक्रव्युह, आरक्षण र सत्याग्रह।

‘आरक्षण’ भारतीय शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणविरुद्ध थियो भने ‘सत्याग्रह’ धेरै हदलसम्म अन्ना हजारेले चलाएको भ्रष्टाचार विरोधी आन्दोलनबाट प्रभावित थियो। ‘चक्रव्युह’ नक्सवालीको कथा।

प्रकाश झाका सबैजसो फिल्मको केन्द्रमा भ्रष्टाचारको विषय रहँदै आएको छ।

‘हाम्रो समाजका हरेक व्यक्ति पूर्णतः भ्रष्ट भइसकेको छ। हामीलाई स्वीकार्न मात्र गाह्रो हो, हामी सबै भ्रष्ट छौ, हाम्रो व्यवस्था नै भ्रष्ट भइसकेको छ,’ उनी भन्छन्, ‘फिल्ममेकरका रुपमा यो मेरो धर्म हो कि म यो समय र समाजमाथि प्रश्न उठाउँ।’
.........


पछिल्लो सयममा प्रकाश झाको मनमा लोकतन्त्रको मोडललाई लिएर अनेक प्रश्नहरु उब्जिएका छन्।

‘लोकतन्त्रप्रति मेरो निष्ठा अविचल छ। यसको कुनै विकल्प छैन। तर, हामीले जेलाई लोकतन्त्र भनेर प्रयोग गरिरहेका छौं के यो साँच्चिकै लोकतन्त्र हो? के यसले साँच्चिकै सामान्य मान्छेको सेवा गरेको छ? उनीहरुको जीवनस्तरलाई सुधारेको छ? उनीहरुलाई शक्तिशाली बनाएको छ? कि लोकतन्त्रका नाममा केही थोरै व्यक्तिहरुलाई शक्तिशाली बनाएको छ? यो लोकतन्त्र हो कि दलतन्त्र?’

उनले दुईपटक आफ्नो क्षेत्र बिहारको बेतियाबाट चुनाव पनि लडे। तर, दुवैपटक पराजित भए। ‘अब मलाई चुनाव लड्ने रहर छैन। मलाई सांसदहरुले आफूले गर्नुपर्ने काम गरेका छैनन् भन्ने लाग्थ्यो। यसैले म संसदमा गएर काम गरेर देखाउन चाहन्थें। तर, जनताले मलाई चाहेनन्। अब म चुनाव लड्ने छैन।’

उनी अहिले संसारमा चलिरहेको लोकतन्त्रलाई अजिबको देख्छन्। ‘हाम्रै वरपर हेरौं न। भारतमा लोकतन्त्रको नाममा कस्तो शासन चलिरहेको छ? अमेरिकाजस्तो देशले ट्रम्पजस्तो राष्ट्रपति पाएको छ। रुसमा एउटा नेता पुटिनले आफ्नो पदावधिबढाउनलाई हरेक चुनावअघि संविधान परिवर्तन गरिरहेका छन् र जनताले तिनैलाई जिताइरहेका छन्। अरबमा लोकतन्त्रका लागि भनेर मानिसहरु लड्छन् तर शासनचाहिँ धार्मिक अतिवादीको हातमा पुग्छ। चीनमा राष्ट्रपतिले आजीवन आफू देशको नेता हुने भनेर संविधानमै लेखाएका छन्। यही हो त लोकतन्त्र? यहाँ जनता छन् कि नेता मात्रै?’ उनी थप्छन्, ‘चीनमा त लोकतन्त्र छैन भनेर भनौंला, अरु ठाउँमा त छ नि। लोकतन्त्रको यस्तो विजोग किन भएको छ भने लोकतन्त्र खाली संख्याको खेल भएको छ। तपाईंसँग धेरै मानिस छन् भने तपाईं विजयी। तर, यसको मतलब तपाईं सही भन्ने हुन्छ?’
उनी यसको व्याख्या धेरैबेर गर्न सक्छन्। यसैले मैले थप सोधें– त्यसो भए मानिस किन सही र गलत नछुट्याइ कुनै पक्षमा उभिन्छन् त?

उनी पुरानै उत्तर दिन्छन्– ‘किनभने हामी सब भ्रष्ट छौं। हामी आफ्नो स्वार्थ हेर्छौं। कसैले पैसा हेर्छ। कसैले पावर। कसैले जाति हेर्छ, कसैले क्षेत्र त कसैले भाषा। राजनीतिक दलले संख्याको खेलमा जित्नका लागि हामीलाई सकिनेजति विभाजित गर्न खोज्छन्।’

प्रकाश झाले माओवादी आन्दोलनमाथि पनि फिल्म बनाए, ‘चक्रव्युह’। मनोज वाजपेयी, अर्जुन रामपाल र अभय देओलले भूख्य भूमिकामा अभिनय गरेको यो फिल्मले नक्सवादी क्रान्तिकारी र प्रहरी प्रशासनको कथा भन्छ। यो पनि प्रकाशले भनेजस्तै बीचमा बसेको फिल्म थियो। यसले एकातिर क्रान्तिकारीले उठाएका सवालहरुलाई आवाज दिन्थ्यो भने अर्कातिर उनीहरुलाई बाटो बिराएर भड्किएका युवाहरुका रुपमा पनि पेश गर्थ्यो।

यस्तोमा प्रश्न उठ्यो– लोकतन्त्र भ्रष्ट भएको छ भने यसको विकल्प के त? के ‘चक्रव्युह’का क्रान्तिकारीले कल्पना गरेजस्तो साम्यवादी राज्य? वा ‘सत्याग्रह’को जस्तो कुनै राजनीतिक सिद्धान्तलाई प्राथमिकता नदिने नैतिक राज्य? वा ‘आरक्षण’को जस्तो सबैलाई समान अवसर दिने लोककल्याणकारी राज्य?

‘मसँग यसको जवाफ छैन। मेरो काम यसको जवाफ खोज्ने पनि होइन। म फिल्ममेकर हुँ। म प्रश्न उठाउन सक्छु। विवेचना गरेर दर्शकका सामु अवस्था राखिदिन सक्छु। त्यसबाट उत्तर खोज्ने काम दर्शकको हो। समाज र राजनीतिका सवालको चिरफार गर्नेकाम विद्वान र दार्शनिकहरुको हो,’ उनी यसरी उम्किन्छन्।

समाजको कथालाई ‘सुगरकोट’ गर्दागर्दै प्रकाश झाले आफ्नै जीवनमा पनि ‘सुगरकोट’ गरिसकेका छन्। मतलब उनले व्यापारमा पनि हात हालेका छन्। पटना र जमसेदपुरमा उनका दुई सपिङ मल छन्। तिनमा सिनेमा हल पनि छ। जुनबेला उनले भारतीय राजनीतिको कुरुप कथा भन्दै ‘राजनीति’ पर्दामा लेखिरहेका थिए, त्यसै समयमा यी मलको उद्घाटन पनि गरिरहेका थिए। अब उनलाई व्यापारी फिल्ममेकर भन्दा हुन्छ। सायद यसैले पो उनी प्रश्नहरुबाट उम्किन्छन् कि !

फिल्मको पर्दामा नै संसारका सबै समस्याको समाधान भेटिदैन। यो सत्य हो। यदि यसरी समाधान भेटिने भए नेता होइन, फिल्ममेकरहरु देशका प्रधानमन्त्री, राष्ट्रपति बन्थे। तर, राम्रो फिल्मले आफ्ना दर्शकलाई प्रश्न सोध्ने बनाउन चाहिँ सक्छ। प्रतीकात्मक रुपमै, एउटा काल्पनिक कथा र पात्रका माध्यमले सही आफ्नो समाज र जीवनलाई नयाँ नजरले हेर्न फिल्मले सिकाउन सक्छ।

प्रकाश झा जत्तिको राजनीतिक चेतले भरिएको निर्देशक भेट्दा अहिलेको भारतमा चलिरहेको आन्दोलन र सरकारको विरोधबारे नसोध्ने कुरै भएन। सोधियो। तर, उनको स्पष्ट जवाफ आएन। न त उनी अनुपम खेरजसरी सरकारको बचाउमा उत्रिए न अनुराग कश्यप–नसिरुद्धिन शाहजसरी यसको विरोधमा। मलाई लागेको थियो– उनी अनुराग नसिरुद्धिनको कित्तामा उभिनेछन्। उनको कित्ता त यही नै हो, प्रतिपक्षी। तर, उनले झन्डा उठाउन चाहिँ मानेनन्।
उनी अलि दार्शनिक देखिए।

‘यो आजको समस्या हो र? आजको सरकारले सृजना गरेको समस्या हो? कश्मिर आजको समस्या हो? राम जन्मभूमिको विवाद आजको हो? नागरिकताको समस्या आजको हो?’ अनि उनैले जवाफ दिए– ‘होइन। यदि समस्या आजको होइन भने यसको दोष पनि आजको सत्ताले मात्रै पाउँदैन। यसमा म जति दोष भाजपाको देख्छु, त्यति नै कांग्रेसको पनि देख्छु। हिजो मण्डल कमिसनले भारतीय समाजलाई एक हिसाबले विभाजन गरेको थियो, जातीय रुपमा। आज नागरिकता कानुनले धार्मिक रुपमा त्यही काम गरेको हो। आज कांग्रेस र अरु पार्टीले भाजपालाई गाली गर्नुको कुनै तुक छैन। हिजो इन्दिरा गान्धीको आपतकाल र राजीव गान्धीको बेलाको शासन पनि हामीले भुलेका छैनौं,’ उनी धाराप्रवाह बग्न थाले।

‘म सँधै प्रतीपक्षमा छु। हिजो कांग्रेसको शासनमा, राजीव गान्धी र वीपीसिंहको बेला पनि म प्रतिपक्षमै थिएँ, आज पनि प्रतिपक्षमा छु,’ उनले भने, ‘तर, हामीले के बिर्सन हुन्न भने यो जनताले अनुमोदन गरेको सरकार हो। लोकतन्त्रमा पार्टीहरुलाई सजाय दिने जनताले हो। भाजपालाई त जनताले मत दिए?’ उनी आफैं संख्याको गोलचक्करमा आइपुगे।

झन्डै डेढ घन्टाको कुराकानीमा धेरै विषय थिए। केही प्रश्न थिए, केही कुराका प्रसंग थिए। प्रकाश झा आफ्नो फिल्मजस्तै ‘सुगरकोट’ गरेर बोल्न पोख्त छन्। उनी प्रश्नलाई आफू अनुकुल घुमाएर उत्तर दिन उस्ताद छन्।

जब प्रश्न अहिलेको बलिउडमाथि आयो उनी खुलेर बोले। मेरो प्रश्न एउटै थियो– के जावेद अख्तरले भनेजस्तो अहिलेको बलिउडबाट मध्यमवर्गको मानिस हराउँदै गएको हो? व्यापारका नाममा उग्र राष्ट्रवाद र दिमागहीन कमेडीहरु मात्र बन्न थालेका हुन्?

उनले यसको उत्तर इसारामा दिए, हातले पैसा गनेर। ‘पैसा हो सर, पैसा। जे बिक्छ, बलिउडले त्यही देखाउँछ।’ राष्ट्रवादी र कमेडी फिल्मलाई खारेज गरे पनि उनले मध्यमवर्ग हराएको कुरा भने स्वीकार गरेनन्। ‘मध्यमवर्गको कथा त झन् राम्ररी आएको छ। पछिल्ला फिल्महरुमा मध्यम वर्गका कथा आएका छन्। बरु करण जौहरका ‘स्टुडेन्ट अफ दि इयर २’ जस्ता फिल्मलाई दर्शकले अस्वीकार गरेका छन्।’

अब जम्मा दुइटा विषय।

एउटा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउडको 'मिटु'।
..........
तस्बिरहरु : अ‌ंगद ढकाल

मैले उनलाई अघिल्लो वर्ष बर्लिन फिल्म फेस्टिभलमा नवाजुद्धिन सिद्दिकीसँग गरेको अन्तर्वार्ताको प्रसंग सुनाएँ। ‘मिटु’ अभियानबारे सोध्दा नवाजुद्दिनले यसलाई ‘ओभररेटेड भनेका थिए। र, पछि फेरि के सोचेर हो कुन्नी आफ्नो एजेन्टमार्फत् यो कुरा नलेखिदिन आग्रह गरेर मलाई संकटमा पारेका थिए। तैपनि, मैले यो प्रसंग अन्तर्वार्तामा उल्लेख गरेर प्रकाशित गरेको थिएँ।
झाले भने यसलाई ‘ओभररेटेड’ मानेनन्।

‘हेर्नुस्, शक्तिमा रहनेले अरुलाई मौका दिनका लागि उसको शोषण गर्नु गलत हो। मुम्बईमा यस्ता धेरै केस छन्। कतिपय सन्दर्भमा युवतीहरु नै मौकाका लागि आफूलाई समर्पण गर्ने हुन्छन्। तर, त्यो उनीहरु शक्तिहीन भएका कारण हो। यसरी कोही आयो भने पनि समझदार मानिसले उसको बाध्यता बुझ्ने हो, त्यसको फाइदा उठाउने होइन।’

त्यसपछि उनले आफ्नो उदाहरण थिए। ‘मजस्ता निर्देशकलाई भेट्न, फिल्ममा एउटा मौकाको खोजीमा कलाकारहरु छ महिनासम्म अफिसबाहिर धाउँछन्। तर म कसैलाई भेट्दिनँ। कसैलाई कुनै भूमिकामा लिने कि नलिने कास्टिङ डाइरेक्टरको काम हो। म उसैलाई भेट् भन्छु। कहिलेकाहीं कुनै पार्टीमा स्थापित हिरोइनहरु भेट हुन्छन्। उनीहरु भन्छन्– तपाईंलाई भेट्न मैले दुई वर्षसम्म प्रयास गरें तर सकिनँ।’

उनले नाना पाटेकरसँग ‘राजनीति’ र ‘अपहरण’जस्ता फिल्ममा काम गरे। नानालाई अभिनेत्री तनुश्री दत्ताले ‘मिसकन्डक्ट’को आरोप लगाइन्। नानालाई अहिले अदालतले सफाइ दिइसकेको छ। तैपनि, यसले बलिउडमा ठूलै तरंग ल्यायो। ‘यो प्रकरणले बलिउडलाई ब्युझाइदियो। जे हुँदै आइरहेको छ, त्यो ठीक होइन भन्ने मान्यता स्थापित भयो,’ उनले भने, ‘कसैको चरित्रमाथि मैले सर्टिफिकेट दिन वा चोख्याउन मिल्दैन। तर, यसलाई केही पनि होइन भनेजसरी किनारा गर्न मिल्दैन।’
....

नरेन्द्र मोदीबारे तपाईंको भनाई के छ? यो साह्रै कमसल प्रश्न हुन्थ्यो। यसैले प्रश्न गरियो– ‘तपाईं नरेन्द्र मोदीमा महाभारतको कुनचाहिँ पात्र देख्नुहुन्छ?’

उनी एकछिन गम्भीर भए। अनि भने, ‘यो प्रश्न अचानक आयो। म आफ्नो प्रधानमन्त्रीलाई यसै कुनै पात्रका रुपमा व्याख्या गर्न सक्दिनँ। तपाईंले सोध्नुभयो, अबचाहिँ म विचार गर्छु।’
त्यसपछि उनले मोदीबारे एक दुई वाक्य बोले, ‘मोदी भारतका अहिलेका सबभन्दा लोकप्रिय जनअनुमोदित नेता हुन्। उनले एउटा भिजन लिएर देश चलाइरहेका छन्।’

यसमा प्रश्न थप गरियो– यो भिजनले भारतलाई कुन दिशातिर लगिरहेको छ त?

उनी फेरि विनम्र र कुटनीतिक सुनिए– ‘त्यसको मूल्यांकन गर्ने मेरो हैसियत छैन। त्यसको मूल्याङ्कन भारतीय जनताले गर्छन्।’

आउने चुनावमा? चुनावलाई त तपाईंले नै संख्याको खेल भनेको होइन?

‘हो। यो खेल हो। तर, तपाईं खेलमा हुनुहुन्छ भने त्यसको नतिजालाई पनि मान्नु पर्छ। आफू पराजित भएपछि खेलको नियम मान्दिनँ भन्न पाइदैन,’ अनि थपे, 'कि त हामीले मापनको नयाँ विधि खोज्नु पर्‍यो, होइन भने यही संख्याकै चक्करमा चलिरहन्छौं।'

त्यसैले उनको तर्क छ– ‘लोकतन्त्र भनेर हामीले मानिआएको मोडलमा नै प्रश्न गरौं। के यो सही छ त? हामी लोकतन्त्रको जुन डुंगामा सवार छौं त्यसको बहना कसले खियाइरहेको छ? यो बजारको हातमा छ कि व्यक्तिको हातमा छ? ठूला कर्पोरेसनहरुको हातमा छ कि राजनीतिक दलका केही नेताहरुको?’

उनका कुरा सुनेपछि मलाई उनकै फिल्मको संवाद याद आयो– ‘यो गंगाजल हो यसले सबैलाई पवित्र बनाइदिन्छ।’

यसमा एउटा सानो संशोधन– ‘चुनाव यस्तो गंगाजल हो, जसले सबकुरालाई पवित्र बनाइदिन्छ !’

प्रकाशित : फाल्गुन ५, २०७६ १८:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×