लुम्बिनीमा वानकी मुन बोलाइने

सुरज कुँवर

काठमाडौँ — सरकारले हरेक दुई वर्षमा आयोजना गर्दै आएको तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तथा बुद्ध जयन्तीमा यस वर्ष संयुक्तराष्ट्र संघका पूर्व महासचिव वानकी मुनसहित २१ वटा राष्ट्रका प्रतिनिधिलाई बोलाउने भएको छ । 


संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार वैशाख शुक्ल पूर्णिमाका दिन हुने लुम्बिनीमा हुने दुई दिने कार्यक्रममा वानकी मुनसहित श्रीलंकाका राष्ट्रपति गोतबाया राजपाक्षे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा, म्यानमारका स्टेट काउन्सिलरलाई निमन्त्रणा गर्ने निर्णय भएको मूल आयोजक समितिका अध्यक्ष एवं पर्यटनमन्त्री योगेश भट्टराइले बताए। उनका अनुसार, बुद्ध जयन्ती र तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भव्यताका साथ मनाउने नेपाल सरकारको (मन्त्रिपरिषद्) को माघ २० गतेको निर्णय अनुसार यो कार्यक्रममा विदेशी पाहुनाहरुलाई बोलाउन लागिएको हो।


‘मेरो (मन्त्री) तह वा प्रधानमन्त्री तथा राष्ट्रपति तह हस्ताक्षर गरेर निम्तो पठाउनुपर्ने हुन्छ विदेशी पाहुनाबारे चाँडै निर्णय गर्नुहोला,’सोमबार मन्त्रालयमा आयोजित मूल आयोजक समितिको पहिलो बैठकमा मन्त्री भट्टराईले उपसमितिका संयोजक तथा सदस्यहरुलाई भने, ‘कार्यक्रम हुन अढाइ महिना बाँकी छ यो समय हामी नेपालीका लागि धेरै हो तर विदेशीहरुका लागि कमै हो ढिलाइ नगर्नुहोला।’


आयोजकले १८ वटा मुलुकका संस्कृति तथा धार्मिक मामिला मन्त्रीलाई निम्त्याउँदै छ। मन्त्रीले बजेट सरकारसँग माग गरिएको तर विनियोजन भइनसकेको बताउँदै यो कार्यक्रमका लागि नेपाल भम्रण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोषबाट रकम विनियोजन हुने बताए। यो कार्यक्रमा लुम्बिनीमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिलान्यास गरिएको ५ हजार व्यक्ति क्षमताको सभा हलमा हुनेछ।


कार्यक्रमको उद्देश्य बृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट हबका रुपमा विकास गर्ने, लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रका रुपमा स्थापना गर्ने लगायतका ८ वटा रहेका छन्।


वैशाख २० गते हुने कार्यक्रमको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवै रहने आयोजकले जनाएको छ। यो कार्यक्रमले नेपालले घोषणा गरेको पर्यटन वर्षलाई पनि टेवा पुग्‍ने मन्त्री भट्टराईले बताए। प्रकाशित : फाल्गुन ५, २०७६ १८:५४

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चौथो प्रयासमा फुयाँल मन्त्री नियुक्त

सुवास विडारी

मकवानपुर — वागमती प्रदेशका सत्तारुढ दल नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँल भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका छन् । पटकपटक मन्त्री बन्‍ने प्रयासमा विफल हुँदै आएका फुयाँलले सोमबार शपथ ग्रहण गरेका छन् ।

फुयाँललाई प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । फुयाँललाई मन्त्री बनाउने विषयमा लामो समयदेखि मुख्यमन्त्री पौडेलले प्रयास गरेपनि मन्त्रिपरिषद्‌ भित्रै असहमति हुँदा सम्भव भएको थिएन ।

मन्त्री भएसँगै प्रतिक्रिया दिँदै उनले पुँजीगत खर्च बढाउने गरी गुणस्तरीय विकास आफ्नो प्राथमकितामा रहेको बताए । ‘प्रदेशको भौतिक पूर्वाधार विकास,सम्पूर्ण स्थानीय तह तथा जिल्लाहरुसँग समन्वय गरेर अगाडि बढ्नेछु’,मन्त्री फुयाँलले भने,‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिएर अगाडि बढ्नेछु ।’ प्रदेश सरकारको कूल बजेटको करिब ३८ प्रतिशत बजेट भौतिक पूर्वाधार मन्त्रालयमा रहेको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल,मन्त्री तथा मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

यसअघि माघ २९ गते शपथ ग्रहणको तयारीमा रहेका फुयाँलको अन्तिम समयमा आएर मन्त्री बन्ने अवसर रोकिएको थियो । तर,मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेतालाई भेटेर समस्याको समाधान गरेपछि फुयाँल मन्त्री बनेका हुन् ।

शीर्ष नेताबाट मन्त्री बनाउन निर्देशन पाएपछि साँझ पाँच बजे फुयाँलको शपथ ग्रहण गरिएको थियो । यसअघि तीन पटकसम्म फुयाँल मन्त्री बन्ने चर्चामै सिमित भएका थिए । चौथो पटकमा भने उनी मन्त्री भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ३को प्रदेशसभा २ बाट निर्वाचित सांसद् हुन् । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । यसअघि संविधानसभाका सदस्य समेत रहेका फुयाँल पहिलोपटक मन्त्री बनेका हुन् । फुयाँल गाविस अध्यक्ष,सभासद्, सांसदहुँदै पहिलोपटक मन्त्री बनेका हुन् ।

प्रकाशित : फाल्गुन ५, २०७६ १८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×