१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एबीसी पुग्‍न थाले पदयात्री

दीपक परियार

(पोखरा) — एक महिनाअघि गएको हिमपहिरोका कारण बन्द अन्नपूर्ण सेन्चुरी पदमार्ग पुनः सञ्चालनमा आएको छ । यससँगै अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म पर्यटक पुग्न थालेका छन् । 

एबीसी पुग्‍न थाले पदयात्री

एबीसी पुग्ने पदमार्गमा पर्ने सबै होटल खुलिसकेका छन् । बाक्लो हिमापातपछि माघ ३ मा हिंकु केभ र देउरालीको बीचमा हिमपहिरो आएपछि होटल बन्द गरेर पोखरा आएका कामदार पुनः होटल फर्किएका छन् । पदमार्ग सुरक्षित रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । मौसम सफा भएको र हिउँ घटिरहेकाले पदमार्ग सुरक्षित रहेको समितिका अध्यक्ष बुद्धिमान गुरुङले बताए । होटल सञ्चालक र कामदार फर्किसकेकाले पर्यटकलाई कुनै असुविधा नहुने उनले जनाए । ‘हिमपहिरो आएको ठाउँमा हिँड्न मिल्ने गरी बाटो बनाएका छौं,’ उनले भने, ‘अन्यत्र कुनै खतरा छैन ।’ अप्ठ्यारो स्थानमा समितिकै अग्रसरतामा हिउँ पन्छाएर

बाटो खुलाउने काम भएको उनको भनाइ छ ।


आन्तरिक र बाह्य पर्यटकको आवागमन सुरु भइसकेकाले पर्यटक बढ्ने उपाध्यक्ष जगनरास गुरुङको आशा छ । हिउँमा रमाउँदै पदयात्रा गर्न चाहने पर्यटकलाई अहिले उपयुक्त मौसम भएको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का छोम्रोङ चेकपोस्ट इन्चार्ज नेत्र शर्माका अनुसार तीन दिनयता १७ पर्यटक एबीसी पुगेका छन् । मंगलबार दुई विदेशी पर्यटक र चार सहयोगी एबीसी पुगेर फर्किएका छन् । विदेशी पर्यटकसहित ११ जनाको अर्को टोली छोम्रोङबाट एबीसीतर्फ गइसकेको छ ।


एक्याप र पर्यटन बोर्डले अनुमति नरोकेकाले पर्यटक एबीसी पुग्न सक्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष हरि भुजेल बताए । पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) र एबीसीमा गरी ६० होटल छन् । भ्रमण वर्ष सन् २०२० को तयारीस्वरूप होटल थपिने क्रममा छन् ।


अनुभवी गाइडको अभाव

माघ ३ मा बाक्लो हिमपात भयो । देउरालीका होटलमा बास बसेका पर्यटक एबीसी जान नसक्ने भएपछि फर्किने तरखर गरे । स्थानीय होटल सञ्चालकले मौसम सुध्रिएपछि मात्रै फर्किन आग्रह गरे पनि केही टोली अटेर गरी फर्किए । गाइड (पथप्रदर्शक) मा समेत मौसमसम्बन्धी ज्ञान कम हुँदा दुर्घटना हुने गरेको समितिका सचिव दिलीप गुरुङको भनाइ छ ।


पदमार्गमा पर्ने माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) मा होटल सञ्चालन गर्ने उनले गाइडलाई मौसमसम्बन्धी उचित तालिम आवश्यक रहेको बताए । ‘पहिलेपहिले अनुभवी गाइड हुन्थे,’ उनले भने, ‘अहिले भाषाको राम्रो ज्ञान भएका गाइड छन् । तर उनीहरूमा भूगोल र मौसमसम्बन्धी चेतना कम छ ।’ हिमपातमा कसरी हिँड्ने, कसरी जोगिने भन्ने ज्ञान अत्यावश्यक हुने उनको भनाइ छ ।


१६ घण्टासम्मको मौसम पूर्वानुमान हेर्ने र हिमपातका बेला स्थानीयसँग समन्वय गरेर पदयात्रा गर्नुपर्ने समितिका अध्यक्ष बुद्धिमान गुरुङ सुझाउँछन् । ‘ट्रेकिङ कम्पनीले पनि हिउँ पर्ने बेला र नपर्ने बेलाको आइटिनरी फरकफरक बताउनुपर्छ,’ उनी भन्छन्, ‘अरू बेला सात दिन लाग्ने पदयात्रा हिउँ पर्ने बेला १० दिनको बनाउनुपर्छ ।’


हिमपहिरोमा हराएका अझै भेटिएनन

हिमपहिरोमा बेपत्ता भएका चार कोरियाली र तीन नेपाली अझै भेटिएका छैनन् । पहिरो आएको स्थानमा अत्यधिक हिउँ जमेकाले खोजतलास गर्न अप्ठ्यारो भएको हो । काठमाडौंबाट आएको उद्धार टोलीले समेत बेपत्ताको अवस्था पत्ता लगाउन नसकेको टान पश्चिमाञ्चल अध्यक्ष भुजेलले बताए । डिटेक्टर मेसिन ल्याएर हिउँमा पाँच मिटर खाल्डो खनी पाँच मिटर लामो डिटेक्टर रड गाड्दासमेत जमिनको सतह फेला पर्न नसकेको उनको भनाइ छ । अझै १२–१३ मिटरभन्दा गहिरो हिउँ जमेको हुन सक्ने उनको अनुमान छ । हिउँ नपग्लिएसम्म कुनै पत्तो नलाग्ने भएपछि काठमाडौंबाट आएको टोली फिर्ता गइसकेको उनले बताए ।


हिमपहिरोमा हराएका चार कोरियाली नागरिकका परिवार आए पनि भेटिने सम्भावना नदेखेपछि स्वदेश फर्किसकेका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?