कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विमानस्थलमा भएको आगलागीबाट ६ करोडको क्षति 

आगो सुरु भएको क्याफे सर्वोच्च अदालतको अन्तरिम आदेशमा ४ वर्षदेखि सञ्चालनमा
सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार आगलागी भएको कफीसप सर्वोच्च अदालतको अन्तरिम आदेशकै भरमा ४ वर्षदेखि सञ्चालनमा रहेको देखिएको छ। 

विमानस्थलमा भएको आगलागीबाट ६ करोडको क्षति 

विमानस्थलको कर्पोरेट महाशाखाका अनुसार, एयरपोर्ट टि कफी एन्ड कन्फेक्सनरी नामको उक्त पसलको ठेक्का अवधि ०७२ चैतमै सकिइसकेको थियो । तर, उक्त कफी सप सर्वोच्चको अन्तरिम आदेशमा चार वर्षदेखि सञ्चालनमा रहेको देखिएको छ । ‘मुद्दा किनारा नलागेकाले अझै कति चल्ने हो थाहा छैन,’ कर्पोरेटका एक अधिकारीले भने, ‘हाम्रो विमानस्थलभित्र अदालतको आदेशमा ७/८ वर्षदखि चलेका यस्ता थुप्रै पसल छन् । विमानस्थल व्यवस्थापन छ ।’

अत्याधिक कारोबार हुने यो कफीसप ०६९ चैतमा अन्तर्राष्ट्रिय यात्रु प्रस्थान गर्ने स्थानमा वार्षिक ३४ लाख रुपैयाँ भाडा तिर्ने सर्तमा तीन वर्षकालागि लिएको सञ्चालनको अनुमति पाएको थियो । विमानस्थलले सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदन अनुसार, यसको समयअवधि ०७२ चैतमा सकिसकेको छ । विमानस्थलको कर्पोरेटका ती कर्मचारीका अनुसार, त्यसभित्र भएका कफिसपमध्ये सर्वाधिक कारोबार हुने यो कफीसपका साझेदार सोनिगा सर्भिस नामले विमानस्थलभित्र अत्याधिक ठेक्का गर्ने सुवास श्रेष्ठ हुन् ।

सोमबार साँझको उक्त कफीसपबाट सल्केको आगोबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार प्रारम्भिक अनुमानमा उक्त आगलागीबाट क्याफेका सञ्चालक गोपाल बाबु श्रेष्ठले टि कफी एन्ड कन्फेक्सनरीमामात्रै २ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको बताए ।

उनका अनुसार एक घन्टासम्म लागेको आगोबाट विमानस्थलको टर्मिनल भवनमा २ करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । त्यस्तै ६० लाख रुपैयाँको विद्युतिय उपकरण नष्ट भएको, ७५ लाख रुपैयाँ बराबरको सीसीटिभी क्यामरा लगायतका सुरक्षा उपकरण जलेको, २५ लाख रुपैयाँको रेडियो उपकरणमा क्षति पुगेको गरी करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको विमानस्थलले प्रारम्भिक अनुमान गरेको छ ।

‘हाम्रो प्रारम्भिक अनुमान अनुसार ६ करोड रुपैयाँ बराबरको क्षति भएको आँकलन गरेका छौं,’ महाप्रबन्धक केसीले कान्तिपुरसँग भने । क्याफेबाट सुरु भएको आगलागीले विमानस्थलको प्रस्थानतर्फ रहेको स्टेरायल हलमा क्षति पुर्‍याएको छ । विमानस्थलको कर्पोरेट महाशाखाका एक अधिकारीले क्याफे बिना विमा सञ्चालन गर्न दिइएको बताए । उनका अनुसार आगलागीबाट भएको क्षतिको कतै पनि विमा सोधभर्ना हुने प्रावधान छैन । आगलागी लगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आगोबाट क्षतिग्रस्त बनेको प्रस्थान क्षेत्रमा तत्काल पुननिर्माण थाल्न निर्देशन दिएको थियो ।

महाप्रबन्धक केसीले ३० घन्टापछि उक्त क्षेत्र पुन सञ्चालनमा ल्याएको बताए । हाल त्यस क्षेत्रको सरसफाइ पुननिर्माणको काम कुलेश्वरको सिनर्जी बिल्डर्सले गरीरहेको छ । उक्त ठेक्का कम्पनीका कामदारको भुक्तानी र सामान खरिद विमानस्थलले नै गर्ने भएको छ । सचिव अधिकारीको बैठकले खर्च पछि नागरिक उड्डयन प्राधिकरणबाट भराउने निर्णय गरेका छन् ।

यसैबिच अगलागी भएको राति नै विमानस्थल सुचारु गराउन सकेको भन्दै त्यहाँ रहेका अन्तर्राष्ट्रिय वायुसेवाहरुको संस्था एयरलायन्स अपरेटर्स कमिटी नेपालले विमानस्थलका महाप्रबन्धक केसी र उनको टिमलाई शुक्रबार कदर गरेको थियो ।

भिडियाे :


प्रकाशित : फाल्गुन ३, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?