कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२७ बैंकको नाफा पौने ३३ अर्ब

अपेक्षित व्यवसाय नबढ्नु, कर्जा र निक्षेपबीचको ब्याजअन्तर घट्नु, सञ्चालन खर्च बढ्नुलगायत कारण नाफा खुम्चिएको हो 
यज्ञ बञ्जाडे

काठमाडौँ — अघिल्लो आर्थिक वर्षको पुससम्म २९ प्रतिशत बढेको बैंकहरूको खुद नाफा यस वर्ष साढे ६ प्रतिशतमा सीमित भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकले ३२ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको दोस्रो त्रैमासको तुलनामा गत पुससम्मको नाफा करिब साढे ६ प्रतिशत मात्र बढेको हो । 

२७ बैंकको नाफा पौने ३३ अर्ब

अपेक्षित रूपमा व्यवसाय बढ्न नसक्दा सञ्चालन मुनाफामा कमी आउनु, कर्जा र निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) घट्नु, सञ्चालन खर्च बढ्नुलगायत कारण नाफा वृद्धिदर खुम्चिएको हो । अघिल्ला वर्षहरूमा उच्च दरले मुनाफा कमाइरहेका बैंकहरू चालु आवको सुरुदेखि नै एकल अंकको वृद्धिदरमा सीमित छन् । यो आवको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा करिब ५ प्रतिशत मात्र बढेको थियो । ०७५ पुससम्म यी बैंकहरूको खुद नाफा ३० अर्ब ७५ करोड रुपैयाँ थियो ।


निरन्तर उच्च नाफा आर्जन गरिरहेकाले अघिल्ला वर्षहरूमा बैंकहरूलाई अप्ठ्यारो परिस्थितिमा पनि उच्च नाफा कमाएको आरोप लाग्दै आएको थियो । पछिल्ला त्रैमासहरूको अवस्था हेर्दा बजारमा उच्च नाफाको अवस्था नरहेको बैंकरहरू बताउँछन् ।


स्प्रेड दरमा कमी, लगानी वृद्धिदर खुम्चिनु, लागत वृद्धि, उच्च प्रतिस्पर्धालगायत कारण बैंकिङ क्षेत्रको नाफा वृद्धिदर घटेको बैंकर्स संघका पूर्वअध्यक्ष अनिलकेशरी शाहले बताए । ‘नाफा वृद्धिदरमा कमी स्वाभाविक हो, कर्जा विस्तारको स्थिति, केही नीतिगत व्यवस्थालगायत कारण यो अवस्था आएको हो,’ उनले भने, ‘यसबारे बैंकर्स संघमार्फत राष्ट्र बैंकलगायत निकायमा हामीले धेरै पहिले नै जानकारी गराएका छौं ।’ हालकै अवस्था रहिरहे आउँदा दिनमा बैंकहरूको नाफा धेरैले घट्ने उनले दाबी गरे । ‘राष्ट्र बैंकले स्प्रेडको नयाँ सूत्र लागू गरेको छ, ०७७ असारसम्म बैंकहरूले सोही सूत्रअनुसार स्प्रेड कायम गर्नुपर्छ,’ उनले भने, ‘त्यही कारणले मात्र बैंकहरूको नाफा करिब २५ प्रतिशत घट्ने सम्भावना छ ।’


लगानीकर्ताको आत्मविश्वास बढ्न सकेको छैन । यसकारण अपेक्षित रूपमा कर्जा प्रवाह विस्तार छैन । सरकारको नीतिअनुसार बैंक दुर्गम गाउँ पुगेका छन् । त्यसले लागत बढेकाले नाफा घटेको शाहले बताए । ‘आगामी दिनमा अवस्था झनै कठिन बन्ने देखिन्छ,’ उनले भने । तोकिएको अवधिमा वित्तीय संस्थाले कति नाफा कमाए भनेर हेर्न तिनको सञ्चालन नाफा हेर्नुपर्छ । सञ्चालन नाफाले सो अवधिमा भएका वित्तीय गतिविधिबाट मात्र आर्जन गरेको नाफा देखाउँछ । सञ्चालन नाफामा कर र विभिन्न कोष कट्टी कटाएर खुद नाफा गणना गरिन्छ । खुद नाफामा बैंकको खराब कर्जा असुलीलगायत अन्य आय पनि जोडिन्छ । बैंकहरूको सञ्चालन नाफा दोस्रो त्रैमासमा औसत ७ प्रतिशत मात्र बढेको छ । यो वर्षको पहिलो त्रैमाससम्म सञ्चालन नाफा वृद्धिदर औसतमा ०.०६ प्रतिशत मात्र थियो ।


गत पुससम्म बैंकको नाफा वृद्धिदर कम देखिए पनि १६ वटा बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन् । तीमध्ये राष्ट्रिय वाणिज्य, नबिल र एनआईसी एसिया बैंकले २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएर धेरै नाफा गर्ने बैंकहरूमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान ओगटेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये आठ बैंकको नाफा घटेको छ भने बाँकीको बढेको छ ।


गत वर्षको दोस्रो त्रैमाससम्म १५ वटा बैंकले अर्बभन्दा बढी नाफा कमाएका थिए । गत वर्ष पुससम्म ९८ करोड २० लाख रुपैयाँ नाफा कमाएको सानिमा बैंकले यो वर्षको सोही अवधिमा अर्बभन्दा बढी नाफा कमाएपछि १६ बैंकको नाफा अर्बभन्दा बढी भएको हो । बाँकी ११ बैंकको खुद नाफा अर्ब रुपैयाँभन्दा कम छ । धेरै नाफा आर्जन गरेका राष्ट्रिय वाणिज्य बैंक र दोस्रो स्थानमा रहेको नबिल बैंकको नाफा गत वर्षभन्दा घटेको छ । तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको भने नाफा बढेको छ ।


चाुल आवको पहिलो ६ महिनामा पनि बैंकहरूको कर्जा प्रवाह वृद्धिदर निक्षेप संकलन दरभन्दा धेरै छ । गत वर्षको पुससम्मको तुलनामा यो वर्ष बैंकहरूको निक्षेप वृद्धिदर १०.९५ प्रतिशत बढेको छ । सोही अवधिमा कर्जा प्रवाह वृद्धिदर १५.०६ प्रतिशत छ । गत असारको तुलनामा भने निक्षेप र कर्जा प्रवाह दर दुवै घटेका छन् । असारको तुलनामा पुससम्म निक्षेप ६.२८ र कर्जा प्रवाह ९.७८ प्रतिशत बढेको बैंकहरूको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?