२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धार्मिक पर्यटनलाई छैन वास्ता

नेपालको पर्यटनका दुई आधार पर्यटन र संस्कृति भए पनि नेपालको पर्यटन नीतिले प्रकृतिको मात्रै कुरा गरेकोमा सरोकारवालाको चिन्ता 
दीपक परियार

(पोखरा) — कालीगण्डकीको शिर दामोदर कुण्डदेखि देवघाटसम्मको २ सय ४० किलोमिटर क्षेत्रमा २४ धार्मिक स्थल छन् । तर पहिचान, भौतिक संरचनाको विकास र पर्याप्त सूचना अभावमा ती स्थान ओझेलमा छन् । कागबेनीलाई श्राद्ध गर्ने पवित्रस्थल मानिन्छ । तर, नेपाली नै भारतको गया पुग्छन् । बुद्ध सर्किटमा आउने विदेशी पर्यटक दुई घण्टा लुम्बिनी घुमेर भारत नै फर्किन्छन् । धार्मिक पर्यटनको प्रारम्भ नेपालबाटै भए पनि राज्यले ध्यान नपुर्‍याएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक पर्यटनलाई छैन वास्ता

पोखरामा हालै आयोजित अन्तर्क्रियामा भ्रमण वर्ष २०२० मै धार्मिक पर्यटन बेवास्तामा परेको बताइएको हो । नेपालको पर्यटनका दुई आधार पर्यटन र संस्कृति भए पनि नेपालको पर्यटन नीतिले प्रकृतिको मात्रै कुरा गरेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठ बताउँछन् । ‘पर्यटनको उद्गम नै धार्मिक पर्यटनबाट भएको हो । त्यो सम्भावनालाई नीति निर्माणको तहमा बसेकाले पहिचान नै गर्न सकेनन्,’ उनी भन्छन्, ‘धार्मिक सम्पदा व्यवस्थित नभएसम्म धार्मिक पर्यटन व्यवस्थित हुँदैन ।’ उनले धार्मिक सम्पदाबारे सरकारसँग पर्याप्त सूचना नहुँदा प्रचारप्रसार गर्न नसकिएको बताए । ‘स्वामीनारायणले तपस्या गरेको भूमि मुक्तिनाथ हो । भारतमा अक्षरधाम बनेका छन्, स्वामीनारायण समुदाय छ, जसका ८ करोड अनुयायी छन् । उनी पोखरामा एक वर्ष बसेका छन्,’ उनले भने, ‘हाम्रो सरकारसँग त्यसको सूचना छैन । राज्यले पर्यटनबाट आम्दानी गर्ने भए सबैभन्दा पहिला हाम्रो सूचना हुनुपर्‍यो । हाम्रो हिमाल, हिमालसँग जोडिएको ऋषिमुनिले गरेका तपस्याको सूचना हुनुपर्‍यो ।’


कालीगण्डकीलाई श्राद्ध गर्ने थलोका रूपमा स्थापित गर्न सके वार्षिक २० लाख पर्यटक भारतबाट मात्रै आउन सक्ने उनको आकलन छ । मठमन्दिर निश्चित मान्छेको आम्दानीको स्रोत बनेकोप्रति उनी चिन्ता व्यक्त गर्छन् । ‘धार्मिक पर्यटनका विषयमा हामीले सोचेकै छैनौं । सोचेको भए पशुपतिनाथको हालत यस्तो हुँदैनथ्यो । पर्यटक मान्छे आउनु र जानु मात्रै होइन, व्यवसाय पनि हो । लाभ लिने गरी तयारी गरेका छौं कि छैनौं,’ उनले भने, ‘भारतबाट साई बाबाको विभूति किनेर ल्याउँछौं । तर, पशुपतिनाथको विभूति हामीले कहिल्यै कसैलाई बिक्री गरेर पठाएका छैनौं ।’


विश्व हिन्दु महासंघका सल्लाहकार नारायणप्रसाद अधिकारी धार्मिक पर्यटन मात्र नभई विभिन्न ४ धर्मको प्रारम्भ नै नेपालमा भएको दाबी गर्छन् । नेपालमा ३–४ हजार वर्षअघिदेखि तीर्थाटनका रूपमा धार्मिक पर्यटक आउन सुरु भएको उनको भनाइ छ । चीनबाट धार्मिक पर्यटककै रूपमा मञ्जुश्री नेपाल आएको उनी बताउँछन् । ‘भारतमा परापूर्वकालमा ठूल्ठूला राजाघरानाका मान्छे शान्ति र आध्यात्मिक प्रगतिका लागि यो भूमिमा आउँथे,’ उनले भने, ‘यो भूमि परापूर्वकालदेखि बुद्ध भूमि हो । धर्मको प्रारम्भ पनि नेपालभूमिबाट भएको हो भन्ने सहजै भन्न सक्छौं ।’


डेढ अर्ब हिन्दु, एक अर्ब बौद्धमार्गी, डेढ करोड जैन र विश्वभर फैलिएका किरात धर्मावलम्बीलाई ती धर्मको उत्पत्ति नेपालमै भएको भन्ने बुझाउन सके मात्रै पर्यटनमा ‘भ्याइनभ्याइ’ हुने उनले बताए । ‘रामायण लेख्ने वाल्मीकि र महाभारत लेख्ने वेदव्यास दुवै नेपालकै हुन् भनेर स्थापित गर्न सकियो भने मात्रै पनि पर्यटनमा अरू केही सोच्नुपर्दैन,’ उनले भने, ‘त्यसका लागि नेपालका धार्मिक सम्पदा र तिनको महत्त्वबारे व्याख्या गर्न सक्नुपर्छ ।’


हिन्दु र बौद्ध संस्कृतिसँग सम्बन्धित थुप्रै पर्यटकीय सम्पदा भए पनि व्यावसायिक रूपले पर्यटनसँग जोड्न नसकिएको प्राध्यापक एवं पर्यटन अनुसन्धाता श्रीकान्त खतिवडाको भनाइ छ । ‘त्यसलाई पर्यटकीय हिसाबले कसरी विकास गर्ने, पर्यटन बजारसम्म कसरी ल्याउने, त्यसमा थप आकर्षण कसरी थप्ने भन्ने योजना ल्याउन सक्यौं भने धार्मिक, सांस्कृतिक पर्यटनप्रति चासो राख्नेप्रति रुचि बन्न सक्छ,’ उनले भने ।


धार्मिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्व के छ, त्यसबाट समाजले के लिन सक्छ, पर्यटकको रुचि केमा छ भनेर सोधखोज गरेर त्यसलाई पर्यटनको उपजका रूपमा विकास गरेर पर्यटन गतिविधि सञ्चालन हुनुपर्ने उनको सुझाव छ ।

प्रकाशित : माघ २८, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?