१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सातामै खपत हुन्छ दुई लाख गुलाब

नुमा थाम्सुहाङ

काठमाडौँ — फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे (प्रणय दिवस) का रूपमा मनाइँदै आएको छ । साता दिनयता यही दिवसलाई लक्ष्य गरी गुलाब ल्याउने क्रम बढेको छ । साताभर मनाइने यो दिवसमा १ करोड ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । 

सातामै खपत हुन्छ दुई लाख गुलाब

‘साताभरमा २ लाख गुलाबका स्टिक (प्रतिगोटा फूल) खपत हुन्छन्,’ उनले भने, ‘यसमा १ लाख ५० हजार स्टिक भारत र अन्य केही देशबाट आयात हुन्छन् । बाँकी स्वदेशी उत्पादन नै खपत हुन्छ ।’ प्रतिस्टिक गुलाबको थोक मूल्य ४०/५० रुपैयाँसम्म पर्छ । उपभोक्ताले भने फूलको ग्रेडअनुसार ७० देखि १ सय रुपैयाँसम्ममा पाउने पोखरेलले बताए । ‘सात दिनमध्ये पनि भ्यालेन्टाइन्स डेका दिन सबैभन्दा बढी फूल खपत हुन्छ,’ उनले भने, ‘काठमाडौं, पोखरा, चितवन, बुटवल, नेपालगन्ज र धरानलगायत सहरमा गुलाब खपत बढी हुन्छ ।’


चितवन गुन्जनगरका प्रकाश पन्त प्रणय दिवसका लागि १० हजार रुपैयाँको गुलाबका स्टिक मगाउने तरखरमा छन् । पाण्डे एब्लोम फ्लोरा फार्मका सञ्चालक उनको फार्मले गुलाबका फूलसमेत उत्पादन गर्छ । बिरुवा भर्खरै लगाएकाले भारतबाट गुलाब आयात गर्नुपरेको उनले बताए । गतवर्ष आफ्नै फार्मबाट ३५ हजार गुलाबका स्टिक बिक्री गरेको उनले दाबी गरे ।


यो दिन सबैले माया दर्साउन आफ्ना प्रेमीप्रेमिकालाई फूल दिने गर्छन् । पश्चिमा संस्कृति भए पनि यो पछिल्लो समय नेपाली युवापुस्तामाझ निकै रुचाइएको छ ।


युवा पुस्ताले मात्र नभई सबैले एकअर्कालाई माया साटासाट गर्न गुलाबको फूल दिने गरेको व्यवसायी गोमा रानामगरले बताइन् । उनले काठमाडौं, त्रिपुरेश्वरमा ६ वर्षदेखि न्यु फ्लोरिस्ट फ्लावर सफ सञ्चालन गर्दै आएकी छिन् । ‘अरु बेलाको तुलनामा भ्यालेन्टाइन्स डेका दिन यसको माग दोब्बर बढ्छ,’ उनले भनिन्, ‘अहिले भ्यालेनटाइन्स डे मात्र होइन, चकलेट डे, रोज डे आदि मनाउने चलन छ । तर यसमा गुलाबको फूल नै बढी प्रयोग गरिन्छ । यसैले फूलको कारोबार बढेको हो ।’ हुन त विवाह एवं विभिन्न समारोहका बेला पनि गुलाबको फूल माग हुने गरेको छ ।


तर बढी मात्रामा भ्यालेन्टाइन्स डेका अवसरमा खपत हुने उनले बताइन् । त्रिपुरेश्वरमै रहेको युनाइटेड फ्लोराका सञ्चालक लोकनाथ गैरेले पनि यस वर्ष प्रणय दिवसका लागि २० हजार स्टिक गुलाबको फूलको अर्डर लिएका छन् ।

नेपाली उत्पादन चैतदेखि मंसिरसम्म मात्र हुन्छ । त्यसैले जाडोका बेला मात्र आयातित गुलाबका फूल बिक्री गरिने उनले जानकारी दिए । भारतबाट आयातित फूल काठमाडौंका अतिरिक्त पोखरा, नेपालगन्ज, चितवन, धरान र धनगढीसम्म पुग्ने उनको भनाइ छ ।


४० लाख स्टिक स्वदेशमै


नेपालमा वार्षिक ४० लाख स्टिक गुलाबको फूल उत्पादन हुन्छ । यहाँको उत्पादन हुने गुलाबको कारोबार ५ करोड ६० लाख रुपैयाँबराबरको हुन्छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, सिन्धुली, काभ्रे, नुवाकोट, मकवानपुरलगायत जिल्लामा व्यावसायिक गुलाबको फूल खेती गरिँदै आएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव पोखरेलले बताए ।


भ्यालेन्टाइन्स डेलाई मात्र भनेर फूल उत्पादन गर्न स्वदेशी व्यवसायीलाई समस्या भएको उनको भनाइ छ । ‘भ्यालेन्टाइन्स डेका लागि मात्र भनेर खेती गर्न किसानलाई समस्या छ,’ उनले भने, ‘यसको भोलिपल्टको उत्पादनलाई कहाँ लगेर खपत गर्ने ?’ फूल व्यवसाय वार्षिक १५/२० प्रतिशत बढिरहेको उनले बताए । उत्पादनसँगै यसको खपतमा पनि बढी ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘नेपालका केही आधुनिक ग्रिन हाउसले मात्र उत्पादन गुलाब फूल उत्पादन गर्छन् । त्यसैले यो सिजनमा आयातकै भर पर्नुपर्छ,’ उनले थपे ।


चिसोका कारण काठमाडौंमा गुलाबको फूल उत्पादन नहुने नार्गाजुन नगरपालिकास्थित सिर्जना कट फ्लावरका सञ्चालक पाण्डव श्रेष्ठले बताए । ‘हामीले अन्य सिजनल फूल मात्र उत्पादन गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : माघ २५, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?