माडी थुनेर १५६ मेगावाट विद्युत्
(रोल्पा) — सरकारले माडीखोला थुनेर विद्युत् उत्पादनका लागि सर्भे थालेको छ । जलाशय बनाएर १५६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनाका साथ सर्भे थालिएको हो । माडी जलाशययुक्त जलविद्युत् आयोजनामा नेपाल सरकार र चिनियाँ लगानी हुनेछ । आयोजना थाल्न जलविद्युत् उत्पादन लगानी कम्पनी र पावर चाइनाबीच गत साउन ५ मा सहमति भएको थियो । पावर चाइनाले मुलुकका अन्य जलविद्युत् आयोजनामा समेत लगानी र प्राविधिक सहयोग गर्दै आएको छ ।
रोल्पाको माडीचौरमा आयोजनाको सम्पर्क कार्यालय स्थापना गरिएको छ । आयोजनाको कार्यालय उद्घाटनमा दुई साताअघि जिल्ला आएका ऊर्जामन्त्री वर्षमान पुनले उक्त आयोजना प्रदेश ५ र मुलुककै गौरवको आयोजना हुने बताए । पुनले माडी नदीलाई सुरुङमार्फत दाङ लगेर हजारौं हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी नीति रहेको जानकारी दिए ।
ऊर्जा मन्त्रालयका अनुसार १८ महिनाभित्र सर्भे गरिसक्ने र त्यसपछि जलाशय निर्माण थाल्ने योजना छ । सर्भे गर्न चिनियाँ टोली आइसकेको छ । आगामी डेढ वर्षसम्म (खासगरी दुई हिउँद र दुई वर्षा) सर्भे सकिएपछि मात्रै आयोजनाको काम सुरु हुनेछ । ऊर्जामन्त्री पुनले डेढ वर्षभित्र आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसक्ने बताए ।
रोल्पा नगरपालिका र सुनिल स्मृति गाउँपालिकाको सीमा सिस्नेरी गाउँमा आयोजनाको जलाशय बनाइने भएको छ । जलाशय बनाउन १७० मिटर अग्लो ड्याम बनाइनेछ । जलाशयमा ४१.७ करोड घनमिटर पानी जम्मा गरिने र ३२.३ करोड घनमिटर पानीबाट १५६ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । जलाशयको क्षेत्रफल ७.५ वर्गकिलोमिटर हुनेछ । करिब ६ किलोमिटर लामो सुरुङ बनाइनेछ । सुनिल स्मृति गाउँपालिका–२ खुंग्रीमा बन्ने जलविद्युत् उत्पादन केन्द्रबाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको लागत ३२ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ ।
रोल्पा नगरप्रमुख पूर्ण केसीले जलाशय निर्माण र विद्युत् उत्पादनमा स्थानीयको समेत लगानी हुने बताए । माडीमा कम्तीमा १४ वटा हाइड्रोपावर आयोजना बन्न सक्ने सम्भावना छ । माडीलगायत राप्ती क्षेत्रलाई मुख्य जलाधारका रूपमा विकास गर्नुपर्ने योजनासमेत अघि सारिएको मन्त्री पुनले बताए । राप्तीलाई मुख्य जलाधार क्षेत्र मान्दा दाङमा ५६ हजार, बाँकेमा ४५ हजार, कपिलवस्तुमा ४१ हजार र अन्य क्षेत्रमा १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने सम्भावना छ ।
नौमुरे अन्योलमा
माडीमा जलविद्युत् आयोजना बन्ने भएपछि प्यूठानस्थित बहुउद्देश्यीय ‘नौमुरे’ जलविद्युत् आयोजना निर्माणमा अन्योल देखिएको छ । जलाशयको पानी नौमुरेमा नझारी दाङतर्फ लैजाँदा आयोजना प्रभावित हुने भएको हो । नौमुरे आयोजनामा पनि माडीकै पानीबाट विद्युत् निकाल्ने सरकारको तयारी थियो । नौमुरे आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिए पनि फिजिबिलिटी अध्ययन जारी छ ।
२७ वर्षअघि नौमुरे आयोजना थालिएको हो भने सम्भाव्यता अध्ययनमै २० करोड रुपैयाँ खर्च भइसकेको छ । उक्त आयोजनाबाट २४५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । माडीमै जलाशय बनाएर माडीमै खसालेमा नौमुरे आयोजना प्रभावित हुँदैन । नौमुरे आयोजनालाई असर नपर्ने गरी माडी आयोजना बनाउन विद्युत् विकास विभागले ऊर्जा मन्त्रालयलाई सुझाव दिएको छ ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार माडी जलाशययुक्त आयोजनाले नौमुरेलाई कुनै असर पर्दैन । उनले ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग र सिँचाइ मन्त्रालयको संयुक्त अध्ययनपछि मात्रै माडी आयोजना अघि सारिएको र दुवै आयोजना सम्भव भएको बताए ।
प्रकाशित : माघ २४, २०७६ ०७:४९