कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चुलियो लसुनको मूल्य

राजु चौधरी

काठमाडौँ — सिजनल हरियो तरकारीको मूल्य घटिरहेका बेला लसुनको भाउ भने चुलिएको चुलियै छ । सरकारी तथ्यांकअनुसार पछिल्ला तीन सातामा लसुनको मूल्य १५४ प्रतिशत बढेर होलसेलमै किलोको ५६० रुपैयाँ पुगेको छ । पुस २९ मा प्रतिकिलो २२० रुपैयाँ (थोक मूल्य) मा कारोबार भएको लसुन माघ २१ गते बढेर ५६० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । 

चुलियो लसुनको मूल्य

अन्य कृषि उत्पादनसरह लसुनमा समेत परनिर्भर हुँदा बजारमा समस्या देखिएको जानकारहरू बताउँछन् । माग र आपूर्तिबीच हुने असन्तुलनकै अवसर पारी बिचौलियाहरू सलबलाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएको उनीहरूको भनाइ छ । ‘स्वदेशमा पर्याप्त उत्पादन नहुँदा आयातकै भरमा छौ । चीनमा नयाँ वर्ष र लगत्तै नोवल कोरोना भाइरसले भन्सार सिज भएको छ,’ समितिका सुचना अधिकारी बिनय श्रेष्ठले भने, ‘व्यवसायीसँग भएको मौज्दात सकिएका कारण लसुनको मुल्य ह्वात्तै बढेको छ ।’ कालीमाटी तरकारी बजारभित्र चीनबाटै आयातित लसुन बिक्री हुन्छ । भाइरस प्रकोपलगत्तै चीनले निर्यातमा बन्देज गरेको श्रेष्ठको दाबी छ । ‘आयातमा कडाइ हुँदा होलसेलमै प्रतिकिलो ५ सयदेखि ५ सय ६० रुपैयाँसम्ममा लसुन बिक्री भएको छ,’ उनले भने । पुस २९ देखि समितिको तथ्यांकअनुसार बढ्न थालेको हो । पुस २२ मा प्रतिकिलो २ सय २० रुपैयाँमा बिक्री भएको लसुन माघ १ गते २ सय ५०, माघ २ मा २ सय ७० हुँदै क्रमशः बढेर माघ १६ गते ६ सय रुपैयाँ पुगेको थियो । माघ १७ मा एक सय रुपैयाँ घटेर ५ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १९ देखि मूल्य पुनः बढेर ५ सय ६० रुपैयाँ पुगेको छ ।


होलसेलमै ५ सय ६० रुपैयाँमा बिक्री हुँदा खुद्रामा ७ सय रुपैयाँभन्दा माथि कारोबार भएको व्यवसायी बताउँछन् । ‘ठूला व्यवसायीले लसुन लुकाएर एकदुई किलो मात्रै बिक्री गर्छन् । समितिले होलसेल मूल्य ५ सय ६० तोके पनि खुद्रामा खरिद गर्दा ६ सय ५० रुपैयाँ तिर्नुपर्छ,’ सुकेधाराका तरकारी व्यवसायी अनिल शाहले भने, ‘खुद्रामा ७ सय रुपैयाँ नलिए नाफा हुन्न ।’


तरकारी तथा फलफुल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले भने लसुनको मौज्दात सकिएकाले महँगो परेको दाबी गरे । ‘कोरोना भाइरसले भन्सार सिज भएको छ, भारतीय लसुन काठमाडौंमा छैन,’ उनले भने, ‘चीनको लसुनको स्टक सकिएको छ । एकदुई दिनमा त्यो पनि पाइँदैन ।’ व्यवसायीले लसुनको मौज्दात सकिएको दाबी गरे पनि भन्सार विभागको तथ्यांकले भने चालु आवको ६ महिनामा १३ लाख ४ सय ४७ किलो लसुन आयात भएको देखाउँछ । तथ्यांकअनुसार चीनबाट ७ लाख ५४ हजार र भारतबाट ५ लाख ४६ हजार किलो लसुन आयात भएको छ ।


यता व्यवसायी तथा समिति भने कालीमाटीमा भारतीय लसुन आयात नभएको दाबी गर्छन् । ‘कालीमाटीमा चीनकै लसुन भित्रिन्छ । माघको सुरुदेखि नै समस्या भयो,’ श्रेष्ठले भने, ‘अहिले नेपाली लसुन पनि छैन ।’ भारतीय लसुन सानो हुन्छ । केलाउन गाह्रो हुने भएकाले उपत्यकामा त्यति भित्रिँदैन । समितिका अनुसार भारतीय लसुन तराईमै खपत हुन्छ । चीनको लसुन ठूलो आकारमा हुने हुँदा प्रायः उपत्यकामै बिक्री हुने समितिको दाबी छ । नेपालमा लसुन उत्पादन हुने गरे पनि अपुग रहेको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । ‘स्थानीय तहमा उत्पादन भए पनि त्यसको बजारीकरण भएन,’ उनले भने, ‘अहिलेको अवस्थामा आयात धेरै नै गर्नुपर्छ । लसुनलाई प्राथमिकता दिने भनिए पनि मिसन कार्यक्रमकै रूपमा सञ्चालन हुन सकेको छैन ।’


मागअनुसार आपूर्ति नहुँदाको फाइदा उठाउँदै बिचौलियाहरूले समेत चलखेल गरेको साना व्यवसायी बताउँछन् । उनीहरूका अनुसार ठूला व्यवसायीले गोदाममा लसुन राखेर बिक्री गरिरहेका छन् । लसुनमा कार्टेलिङ भइरहँदा नियमक निकायले भने कुनै चासो दिएको छैन । कृषि उत्पादन र कृषि क्षेत्रको नियम निकाय कृषि मन्त्रालय र मन्त्रालयअर्न्तगत रहेका विभाग हुन् । तर यी निकायले प्रभावकारी अनुगमन र नियन्त्रण नगर्दा तरकारीमा उपभोक्ता ठगिने गरेका छन् । मूल्यका सन्दर्भमा उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अनुगमन गर्छ ।


अहिले बजारमा देखिएको मूल्यको सन्दर्भमा वाणिज्य विभागले नै हेर्नुपर्ने कृषिका प्रवक्ता केसीको दाबी छ । ‘उत्पादन र बजारसम्म पुर्‍याउने दायित्व कृषिको हो,’ उनले भने, ‘मूल्यसम्बन्धी सम्पूर्ण अधिकार वाणिज्यको हुन्छ । बजार नियमन गरी बढी मूल्य लिनेलाई कारबाही गर्ने दायित्व विभागकै हो ।’ तरकारीको विषयमा छलफल भए पनि अनुगमन नभएको विभागका सूचना अधिकारी नोखबहादुर बस्यालले बताए । ‘पहिले भन्सारको तथ्यांक विश्लेषण गर्छौं अनि लसुनको मूल्य वृद्धिका विषयमा अनुगमन गर्छौं,’ उनले भने ।

प्रकाशित : माघ २२, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?