साढे दुई दशकपछि ‘स्टक डिलर’

मार्केट मेकर र स्टक डिलरले सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउँछन् 
यज्ञ बञ्जाडे

काठमाडौँ — औपचारिक रूपमा सेयर कारोबार स्थापनाको करिब साढे दुई दशकपछि ‘स्टक डिलर’ स्थापना हुने भएको छ । सेयर बजारमा स्थायित्व ल्याउने उद्देश्यले नागरिक लगानी कोष (सीआईटी) को नेतृत्वमा ‘स्टक डिलर’ कम्पनी ल्याउन लागिएको छ । बजारमा अस्वाभाविक उतारचढाव हुन नदिने स्टक डिलरको भूमिका महत्त्वपूर्ण हुन्छ । डिलरले बजारमा सेयर कम भएका बेला बिक्रीमार्फत आपूर्ति बढाउँछ र बढी भएको बेला खरिद गरी आपूर्ति घटाउँछ । 

धेरै पहिलेदेखि नै बजार निर्माता (मार्केट मेकर) स्थापनाको चर्चा थियो । यसका लागि पटकपटक अध्ययन पनि भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारबाट बजार निर्माताको अवधारणा हराउँदै गएको छ । यही कारण अहिले स्टक डिलर स्थापना गर्न लागिएको हो । ०५० पुसदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत औपचारिक सेयर कारोबार सुरु भएको हो ।


‘स्टक डिलरको तयारी अन्तिम चरणमा छ,’ कोषका कार्यकारी निर्देशक रमण नेपालले भने, ‘यही महिनाभित्र कम्पनी दर्ता गरी सञ्चालक समिति गठन गर्ने योजनामा छौं ।’ सोही सञ्चालक समितिले कम्पनी सञ्चालन कार्यविधि तयार गर्नेछ । नयाँ बन्ने कम्पनीको नाम ‘नागरिक स्टक डिलर’ प्रस्ताव गरिएको छ । कम्पनीमा कोषको ५१, नेपाल पुनर्बिमा कम्पनीको ९, नेपाल टेलिकमको १० र ३० प्रतिशत सेयर लगानी सर्वसाधारणको रहन्छ । बहुसंख्यक सेयर लगानी भएकाले स्टक डिलरको व्यवस्थापन तथा सञ्चालन कोषले गर्नेछ । स्टक डिलरको सञ्चालक समिति ७ जनाको हुनेछ । ‘सर्वसाधारणका लागि सेयर जारी नहुँदासम्म कोषबाट दुई, पुनर्बिमा र टेलिकमबाट १/१ र एक जना विज्ञ सदस्य गरी पाँच जनाको सञ्चालक समिति बनाइनेछ,’ स्रोतले भन्यो, ‘सर्वसाधारणलाई सेयर जारी भएपछि दुई जना सञ्चालक थपिनेछ ।’ स्टक डिलरमा अरू प्रवर्द्धक थप्न कोषबाट प्रयास भइरहेको छ । कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थानलगायत संस्थालाई प्रवर्द्धकका रूपमा ल्याउन पहल भइरहेको स्रोतले बताएको छ ।


सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो । कम्पनीले हरेक दिन बजार खोल्नुअघि आफूले खरिद–बिक्री गर्ने कम्पनीको सूची सार्वजनिक गर्नुपर्छ । यसमध्ये मार्केट मेकरले आफूले खरिद–बिक्री गर्ने कम्पनीको नाम र मूल्य पनि सार्वजनिक गर्नुपर्छ । तर, स्टक डिलरले कम्पनीको नाम मात्र सार्वजनिक गरे पुग्छ । खरिद–बिक्री गर्ने कम्पनीको मूल्य सार्वजनिक गरिरहनुपर्दैन ।


पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय बजारमा मार्केट मेकरको अवधारणा हराइसकेको छ । हाल धेरै राष्ट्रमा स्टक डिलर मात्र सञ्चालन छन् । यस्ता कम्पनीले आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् । यी कम्पनीलाई सेयर कारोबारका लागि ब्रोकरसमक्ष जानुपर्दैन । नियामक निकाय (फन्ट लाइन रेगुलेटर) ले छुट्टै ‘लगइन’ दिएको हुन्छ । त्यसैमार्फत आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् । ती कम्पनीले अरूको सेयर भने खरिद–बिक्री गर्न पाउँदैनन् । अरूको सेयर पनि खरिद–बिक्री गर्न कम्पनीले नियामक निकायबाट सेयर ब्रोकरको पनि अनुमति ल्याउनुपर्छ ।


सुरुमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र अधिकृत पुँजी १० अर्ब रुपैयाँ तय गरिएको छ । हालका लागि कम्पनीले यही पाँच अर्बको सीमाभित्र रहेर सेयर कारोबार गर्नेछ । कम्पनीले सेयर कारोबारका लागि ‘बास्केट फन्ड’ मार्फत रकम संकलन गर्ने योजना बनाएको छ । फन्डमा कुन विधि र प्रक्रियामार्फत रकम संकलन गर्ने भन्ने व्यवस्था कार्यविधिमा उल्लेख हुनेछ । ‘कोषले निश्चित प्रतिशत ब्याज वा प्रतिफल प्रदान गर्ने गरी संस्थाबाट रकम संकलन गर्न सकिने व्यवस्थाबारे छलफल भएको छ,’ स्रोतले भन्यो, ‘बास्केट फन्डमा सर्वसाधारण व्यक्तिबाट रकम संकलन गरिनेछैन ।’


स्टक डिलरले काम थालेपछि बजारमा निश्चित व्यक्ति वा समूहले सेयर कुम्ल्याएर राख्न (कर्नरिङ गर्न) नसक्ने जानकार बताउँछन् । यसले थोरै मात्रामा भए पनि बजारमा स्थिरता आउने उनीहरूको भनाइ छ । कोषसँग दोस्रो बजारबारे पर्याप्त ज्ञान भएकाले स्टक डिलर सञ्चालनका लागि सम्बद्ध विषयका विज्ञ छनोट गरी कारोबार गर्नुपर्ने उनीहरूको सुझाव छ ।


कोषले करिब साढे २ दशकभन्दा बढी समयदेखि सेयरमा पनि काम गर्दै आएको छ । हाल सो योजनाको आकार करिब १ अर्ब रुपैयाँ छ । सो रकम परिचालन गरी कोषले प्राथमिक र दोस्रोबाट विभिन्न कम्पनीका सेयर खरिद गर्दै आएको छ ।


१ अर्ब ६१ करोडको सेयर कारोबार

सेयर बजारमा सोमबार डेढ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनाका कारोबार रकम कम हो । सो दिन बजारमा साढे २ अंक सेयर बढ्यो । अघिल्ला दुई दिन क्रमशः १९ र २१ प्रतिशत बढेको बजारमा सोमबार वृद्धिदर साँघुरिएको हो । उक्त दिन करिब साढे १७ हजार कारोबारबाट १ सय ७७ कम्पनीका ४७ लाख ४८ हजार कित्ता सेयर किनबेच भए । यससँगै कुल बजार पुँजीकरण १७ खर्ब २० अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : माघ २१, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?