विद्युत् खपत बढाउन वितरण प्रणाली बाधक

उपत्यकाको विद्युत् वितरण प्रणाली क्षमता करिब साढे ४ सय मेगावाट हाराहारी छ, गत पुसमा भने विद्युत् माग साढे चार सय मेगावाटसम्म पुग्यो 
विजय तिमल्सिना

काठमाडौँ — विद्युत् खपत बढाउने रणनीतिसहित नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकका लागि महसुल दर घटाउने निर्णय गरेको छ । तर, काठमाडौं उपत्यकाको वितरण प्रणालीले बढ्दो विद्युत् माग धान्नेमा शंका छ ।

विद्युत् खपत बढाउन वितरण प्रणाली बाधक

उपत्यकाको विद्युत् माग धान्न प्राधिकरणलाई हम्मे परिरहेको छ । वितरण प्रणालीको क्षमताभन्दा बढी विद्युत् माग हुँदा उपत्यकाका विभिन्न स्थानमा विद्युत् ट्रिपिङ हुने समस्या बढेको हो । उपत्यकाको विद्युत् वितरण प्रणालीको क्षमता करिब साढे ४ सय मेगावाट हाराहारीमा छ । विद्युत् माग पनि सोही हाराहारीमा छ, जसका कारण प्राधिकरणलाई वितरण व्यवस्थापनमा समस्या परेको हो । गत वर्ष पुसमा काठमाडौं उपत्यकामा विद्युत्को उच्च माग करिब साढे तीन सय मेगावाट हाराहारी थियो । यस वर्ष भने पुसमा विद्युत् माग साढे चार सय मेगावाट हाराहारीमा पुगेको भार प्रेषण केन्द्रको तथ्यांक छ ।


यो वर्षको चुनौतीबाट प्राधिकरणले पाठ सिकेको केन्द्रका प्रमुख सुरेश भट्टराईले बताए । ‘अहिले उपत्यकाका विभिन्न स्थानमा वितरण प्रणाली सुधारका धेरै परियोजना सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘आगामी दिनमा यस्ता चुनौती आउँदैनन् । वितरण प्रणाली सुदृढ हुँदै जान्छ ।’ वितरण प्रणालीलाई सुधार्न प्राधिकरण लागिपरे पनि घर नजिक तार तान्न नदिने र ट्रान्सफर्मर राख्न नदिने प्रवृत्तिका कारण समस्या भइरहेको उनको भनाइ छ ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि उपत्यकामा विद्युत् वितरण प्रणालीमा चुनौती रहेको स्विकार्छन् । तर, विद्युत्को बढ्दो माग पूरा गर्न सोहीअनुसार वितरण प्रणालीको क्षमता बढाउन प्राधिकरण सक्रिय रहेको उनको दाबी छ । ‘फिडर परिवर्तन गर्ने, ट्रान्सफर्मर फेर्नेजस्ता कामलाई तीव्रता दिएर माग धान्ने गरी स्तरोन्नति गर्दै छौं,’ उनले भने, ‘नयाँ सबस्टेसन निर्माणका लागि केही समयमै टेन्डर प्रक्रियामा जाँदै छौं ।’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष कुमार पाण्डे सरकारले विद्युत् उत्पादनमा ध्यान दिएको तर वितरण र प्रसारण प्रणालीको सुधार र स्तरोन्नतिमा काम गर्न नसकेको टिप्पणी गर्छन् । ‘मानिसको क्रयशक्ति र सहरीकरण बढेसँगै विद्युत् माग बढे पनि सोहीअनुसार वितरण र प्रसारण प्रणाली थपिएको छैन,’ उनले भने, ‘सरकारले उत्पादनको जिम्मा निजी क्षेत्रलाई छाडेर वितरण र प्रसारण प्रणालीलाई सुधार गर्नुपर्छ ।’ त्यसका लागि खर्बौंको लगानी आवश्यक पर्ने र यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।


उपत्यकामा वितरण प्रणालीको दीर्घकालीन समस्या समाधानका लागि काठमाडौंका रिभर करिडोर जोड्ने र नयाँ वितरण प्रणाली डिजाइन गर्ने प्राधिकरणको तयारी छ ।


प्राधिकरणले तत्कालका लागि भने ट्रान्सफर्मर फेरेर र फिडर व्यवस्थापन गरी विद्युत् वितरण गर्ने व्यवस्था मिलाएको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरेको थियो । प्राधिकरणका निर्णयलाई विद्युत् नियमन आयोगले सदर गरेपछि यो दर लागू हुनेछ ।


हाल घरायसी उपभोक्ताले जति बढी विद्युत् खपत गर्‍यो, उति बढी प्रतियुनिट शुल्क लाग्ने गरेको छ । प्राधिकरणको निर्णय कार्यान्वयन भए बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकलाई कम शुल्कमा विद्युत् खपतको सहुलियत हुनेछ । घरायसी प्रयोजनका लागि विद्युत् माग बढाउन प्राधिकरणले यस्तो कदम चालेको हो । बढी विद्युत् खपत गर्ने ग्राहकलाई सस्तोमा विद्युत् उपभोग गर्न दिँदा खाना पकाउने ग्यास विस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । आगामी वर्षदेखि वर्षायाममा खपतभन्दा बढी विद्युत् उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत् खपत बढाउने उपाय खोजिरहेको छ । अघिल्लो महिना प्राधिकरणले उद्योगहरूलाई महँगो शुल्क लिएर दिइँदै आएको डेडिकेटेड विद्युत्को महसुल हटाउने निर्णय गरेको थियो ।


नयाँ दर कायम गर्न ‘ब्लक’ समेत परिवर्तन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले १० युनिटसम्म मात्रै विद्युत् खपत गर्नेलाई मासिक ३० रुपैयाँ मात्रै लिएर विद्युत् उपलब्ध गराउने निर्णयसमेत गरेको छ । मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहक करिब ७ लाख भएको प्राधिकरणको तथ्यांक छ । यस्तै मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहक १७ लाख छन् । प्राधिकरणको हाल कायम विद्युत् महसुल दरअनुसार २० युनिटसम्म विद्युत् उपभोग गर्ने घरायसी ग्राहकले मासिक ३० रुपैयाँ सेवा शुल्कसहित प्रतियुनिट ३ रुपैयाँ विद्युत् महसुल तिर्नुपर्छ ।

प्रकाशित : माघ १९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?