च्याउ खेतीलाई उर्वर

नुमा थाम्सुहाङ

काठमाडौँ — गोकर्णमा ९ वर्षदेखि तिम्सिना च्याउ फर्म सञ्चालन गर्दै आएका सीताराम तिमल्सिना वार्षिक १२ लाख रुपैयाँसम्म नाफा कमाउँछन् । कृषिमा स्नातक सकेका उनले २१ वर्षसम्म यसै क्षेत्रमा जागिर पनि गरे । लामो समयसम्मको जागिरे अनुभव, अध्ययन गरेको विषय र रुचिको क्षेत्रले गर्दा उनी च्याउ खेतीमा आकर्षित भएका हुन् ।

च्याउ खेतीलाई उर्वर

‘जागिर मात्र नभई आफ्नै केही व्यवसाय गर्ने चाहनाले यो क्षेत्रमा आएँ,’ च्याउ खेतीबाटै ३ जनाको जहान पालिरहेका उनले सुनाए, ‘एकपटक लगाएपछि तीन महिनासम्म र वर्षभरि उत्पादन दिने भएकाले कन्ये च्याउको खेती गरेँ ।’ ३० लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेको ३ वर्षभित्रमै लागत उठाउन सफल भएको उनको भनाइ छ । अहिले यसैले राम्रो आम्दानी दिइरहेको उनले बताए ।


उनको फार्ममा च्याउको बल (पोका) बनाउने समयमा ८ जनासम्मले रोजगारी पाउँछन् । प्रतिबल ४० रुपैयाँ दिने गरेको उनले जानकारी दिए । ‘च्याउ राख्ने समयमा ८ जनालाई काम दिन्छौं । बाँकी समय परिवारबाटै काम चलाउँछौं । २३ टहरामा १२ हजारसम्म बल लाग्छन् । एकपटकमा ४ हजार केजीसम्म बीउ खर्च हुन्छ । वर्षमा ३ पटकसम्म बीउ लाग्छ । एउटा बलले साढे २ किलोसम्म च्याउ उत्पादन दिन्छ ।’


वर्षभरमा उनले ५० हजार केजीसम्म च्याउ उत्पादन गरी उपत्यकाका विभिन्न बजारसम्म पुर्‍याउने गरेका छन् । ‘हामीले प्रतिकिलो ९० देखि सय रुपैयाँसम्ममा बेच्छौं । बाहिर उपभोक्ताले २ सय रुपैयाँसम्ममा किन्छन्,’ उनले भने । च्याउ किसानलाई विशेषगरी कच्चापदार्थको समस्या भएको उनी बताउँछन् । सरकारले यसको बाली बिमा, कोल्ड स्टोर, औषधिको व्यवस्था र वास्तविक किसानको परिचय गरी अनुदान दिनुपर्ने उनको भनाइ छ ।


रविभवनस्थित एग्रो बिजनेस सेन्टर फर रिसर्च एन्ड डेभलपमेन्ट प्रालिका सञ्चालक यादवलाल कर्माचार्यले १४ वर्षदेखि विभिन्न च्याउका बीउ परीक्षण र बिक्रीवितरण गर्दै आएका छन् । नेपालको वातावरणअनुकूलका कन्ये, गोब्रे र सिताकेजस्ता बीउ उत्पादन गरी किसानलाई बिक्री गर्ने उनले वार्षिक २ देखि ३ लाख रुपैयाँसम्मको च्याउको कल्चर झिकाइरहेका छन् ।


गर्मी मौसममा बीउ लगाएको १८ दिन र जाडोयाममा एक डेढ महिनाभित्र उत्पादन दिने भएकाले कन्ये च्याउको माग बढी हुने उनले जानकारी दिए । ‘कन्ये च्याउको बीउ उत्पादन हामी वर्षैभर गर्छौं, अन्य च्याउको तुलनामा उत्पादन छिटो हुने भएकाले किसानले यही नै बढी लगाउँछन्, एक त यसका लागि कच्चा पदार्थ पराल भयो, जुन सजिलै उपलब्ध हुन्छ,’ उनले भने, ‘दैनिक रूपमा ३ हजार प्याकेटसम्म कन्येको बीउ माग हुन्छ । प्रतिप्याकेट २ सय ग्रामको ४० रुपैयाँ पर्छ ।’


गोब्रे च्याउले साढे दुई महिनाभित्र उत्पादन दिन्छ । मागअनुसार २० देखि ३० हजार प्याकेटसम्म बीउ उत्पादन गरी किसानलाई बिक्री गर्ने गरिएको कर्माचार्यको भनाइ छ । किसानलाई २ सय ग्रामको प्याकेटको मूल्य ५० रुपैयाँ पर्छ ।


सिताके च्याउलाई बाह्रै महिना फलाउन कर्माचार्यको ल्याबले वाइड रेन्ज क्लाइमेट, कोल्ड क्लाइमेट र वार्म क्लाइमेट गरी तीन सिजनका बीउ उत्पादन गर्छ । उनको ल्याबले प्रतिदिन ३ हजारदेखि ५ हजार प्योकटसम्मका सिताके च्याउका बीउ बिक्री गर्छ । ४ सय ग्राममा पाइने प्रतिप्याकेट १ सय ६० रुपैयाँ पर्ने उनले जनाए । नेपालमा सामुदायिक वन फस्टाएकाले सिताके च्याउको सम्भावना प्रचुर रहेको उनी बताउँछन् । सिताके च्याउका लागि कच्चापदार्थ काठको टुक्रा हो । च्याउमा अहिलेसम्म साढे २ करोड रुपैयाँ लगानी गरिसकेको उनी सुनाउँछन् । नेपालमा च्याउ खेतीमा आकर्षण बढिरहे पनि धेरैजसो किसान यससम्बन्धी आवश्यक जानकारी नलिई देखासिकीको भरमा व्यवसाय गर्ने गरेको उनको भनाइ छ ।


राम्रो च्याउ खेती गर्न समुद्री सतहबाट १ हजार मिटरभन्दा बढी उचाइ उपयुक्त मानिन्छ । नेपालमा २४ देखि ३५ डिग्रीसम्मको तापक्रम हुने भएकाले च्याउका लागि उत्तम मानिने चीनको सिचुवान एग्रिकल्चर विश्वविद्यालयमा तीनवर्षे बायोटेक्नोलोजी अध्ययन गरेका सागर विष्टले बताए ।


व्यावसायिक रूपमा काठमाडौंको बलम्बु, भक्तपुरको दधिकोट र ललितपुरको चापागाउँ क्षेत्रमा कन्ये र गोब्रे जातका च्याउ खेती गरिँदै आएको छ । अहिले नेपालका विभिन्न भागमा कन्ये र गोब्रेका साथै सिताके, मिल्की, ग्यानोडर्मा जातका च्याउ उत्पादन र बिक्रीवितरण हुने गरेका छन् । अहिले नेपालका ४२ जिल्लामा व्यावसायिक च्याउ खेती हुने गरेको च्याउ उत्पादक संघका अध्यक्ष प्रेमनारायण अधिकारीले जानकारी दिए । च्याउ उत्पादनको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा हुने उनको भनाइ छ । वार्षिक रूपमा १ अर्ब रुपैयाँ बराबरको ८० लाख किलो कन्ये र २७ करोड रुपैयाँ बराबरको ९ लाख किलो गोब्रे च्याउ उत्पादन हुन्छ । त्यस्तै ७ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार केजी सिताके च्याउ र ३० लाख रुपैयाँ बराबरको अन्य च्याउ उत्पादन हुने उनी सुनाउँछन् । नेपालमा च्याउ खेतीको सम्भावना धेरै भएकाले यसको राष्ट्रिय नीति बनाउनुपर्ने उनको बुझाइ छ ।

प्रकाशित : माघ १९, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?