कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दुई गुणा बढ्यो विदेशी लगानी प्रतिबद्धता

नुमा थाम्सुहाङ

काठमाडौँ — गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी दुई गुणा बढेको छ । स्वदेशी लगानीको वृद्धि भने नगण्य छ । उद्योग विभागको तथ्यांकअनुसार विगत ३ वर्षमा ६ महिनाको अवधिमा विदेशी लगानी प्रतिबद्धता बढ्दो छ । आव ०७५/७६ मा ८ अर्ब १३ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भएकोमा यस वर्षको ६ महिनामा २३ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । 

दुई गुणा बढ्यो विदेशी लगानी प्रतिबद्धता

आव ०७४/७५ मा १० अर्ब ८६ करोड ३४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालू आवमा आएको प्रतिबद्धता भने ०७४/०७५ को तुलनामा १३ अर्ब १२ लाख रुपैयाँ बढी हो । नेपालमा लगानी गर्न विदेशीहरू आकर्षित भएका कारण लगानी बढेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए । ‘नेपालमा लगानीको सम्भावना छ, विदेशी लगानीकर्ताहरूले रुचि पनि देखाइरहेका छन्,’ उनले भने, ‘यसको प्रक्रियालाई अझ सहजीकरण गर्न सके उद्योग दर्तामा वृद्धि हुन्छ । साथै देशमा आर्थिक गतिविधि बढाउन आवश्यक छ ।’


रकमका हिसाबले विदेशी लगानी प्रतिबद्धता बढे पनि उद्योगको संख्या भने घटेको छ । ०७५/७६ मा १३० उद्योग दर्ता भएकामा यो वर्षमा १२६ मात्र विदेशी लगानीका उद्योग दर्ता भएका छन् । ०७४/७५ मा भने ११८ दर्ता भएका थिए । ‘गत वर्षको तुलनामा विदेशी लगानी वृद्धि छ । यसको कारण भने नयाँ आएको औद्योगिक व्यवसाय ऐन–०७५ अनुसार लगानीको सीमा (थ्रेसहोल्ड) बढ्नु हो,’ विभागका सूचना अधिकारी विनोदकुमार खड्काले भने, ‘नयाँ व्यवस्थाअनुसार ५ करोड रुपैयाँभन्दा कम लगानीको पुँजी भएको विदेशी लगानी दर्ता हुँदैन ।’ यसको असर ठूला लगानीका उद्योग दर्ता भए, कम लगानीका नभएका कारण संख्या भने घटेको विभागले जानकारी दिएको छ ।


हालसम्म विभागमा ३ खर्ब २१ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ । यो प्रतिबद्धताअनुसार ४ हजार ९ सय ७३ विदेशी लगानीका उद्योग दर्ता छन् । विभागमा १० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योग दर्ता हुन्छन् । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी ६ प्रकारका उद्योग दर्ता हुन्छन् । विभागकै तथ्यांकलाई हेर्दा समग्र (स्वदेशी र विदेशी) सहितका उद्योग दर्ताको संख्या घटेको छ भने लगानी प्रतिबद्धताको वृद्धि नगण्य छ । यसको अर्थ स्वदेशी लगानी प्रतिबद्धता धेरै बढेको छैन । चालु आवमा ७३ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ लगानी प्रतिबद्धता गर्दै १६३ उद्योग दर्ता भएका छन् ।


गत वर्षको तुलनामा उद्योग दर्ता संख्याका आधारमा ७५ ले कम हो । लगानी भने १२ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बढेको छ । गत वर्ष २११ उद्योग दर्ता भएकोमा भने ६१ अर्ब ४६ करोड रुपैयाँ लगानी प्रतिबद्धता छ । विभागकै तथ्यांकअनुसार ०७४/७५ मा १८३ उद्योग दर्ता भएका छन् । १ खर्ब ४७ अर्ब ७ करोड ७० लाख रुपैयाँको उद्योगमा लगानी प्रतिबद्धता छ । हालसम्म विभागमा ८ हजार १ सय ५९ उद्योग दर्ता भएका छन् भने २० खर्ब ५४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता छ । समग्र वर्षमा हेर्ने हो भने लगानी उल्लेख्य वृद्धि हुने विभागका सूचना अधिकारी खड्का बताउँछन् ।


लगानी बढे पनि उद्योग दर्तामा कमी आउनुमा सरकारले ल्याएको नयाँ कानुन र बैंकिङ कर्जामा गरेको कडाइ कारण रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ छ । ‘सरकारले जुन सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित निर्देशन ल्याइरहेको छ, त्यसले उद्योगीहरूमा त्रास फैलिएको छ, उनीहरू लगानी गर्न डराइरहेका छन्,’ उनले भने । यसलाई व्यवस्थित नगरे लगानी प्रतिबद्धतामा समस्या पर्ने उनले बताए ।

प्रकाशित : माघ १९, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?