कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भेडालाई छैन चरन

भीमबहादुर सिंह

(जाजरकोट) — कुशे गाउँपालिका–९ चौराँटाका दीर्घबहादुर रोकायले भेडीगोठ औंलमा सारेको दुई महिना भयो । उनको गोठमा १ सय ५० भेडा छन् । कुशे–८ कफल्लाका दुर्गबहादुर रोकायले पनि गत मंसिरदेखि १ सय ७० भेडा बेंसी झारेका छन् । 

भेडालाई छैन चरन

उनीहरू मात्र होइन, अहिले कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाका सयौं किसानले गोठ तल्लो भेगमा सारेका छन् । मंसिर पहिलो सातादेखि नै कुशे, चाखुरेलगायत पाटनमा हिमपात सुरु भएपछि भेडा औंल सार्नुपर्ने बाध्यता भएको हो तर चरन क्षेत्र नहुँदा उनीहरूको व्यवसाय संकटमा परेको छ । भेडीगोठ रहेका सार्वजनिक स्थल र वनजंगलमा पर्याप्त घाँसपात छैन । यसले समस्या पारेको रोकायले गुनासो गरे । ‘कुशे पाटनमा हुँदा २५ किलो तौल भएका भेडा चरनक्षेत्र अभावमा २० किलोमा झरेका छन्,’ उनले भने, ‘पाटनमा बुकी र पोसिलो घाँस प्रशस्त पाइन्छ, यहाँ भेडालाई सुकेको घाँस खुवाउनुपर्ने बाध्यता छ ।’ औल क्षेत्रमा सुकेको घाँस पनि पर्याप्त नपाइने उनको गुनासो छ ।


भेडालाई चरिचरनका लागि किसानले ४ हजार मिटरभन्दा अग्ला पाटनमा लैजाने गरेका छन् । तर पाटनमा हिउँ पर्दा भेडा बेंसीमा झार्नुपर्ने बाध्यता छ । भेडाका लागि मसिनो खर, पातपतिंगर र हरियो झारपात आवश्यक पर्ने भए पनि तल्लो क्षेत्रमा नपाइने कुशे–८, जिन्तालाका किसान पदमबहादुर सिंहले बताए । उनको गोठमा करिब १ सय भेडा छन् ।


अहिले गाउँ आसपास चरिचरन गर्ने ठाउँ नै नभएको बारेकोट गाउँपालिका–४ जिरीका धनबहादुर बोहराको भनाइ छ । उनले २ सय भेडा औल झारेका छन् । वन विनाश, अतिक्रमणलगायत कारण भेडाबाख्राको चरिचरनमा समस्या भएको उनले बताए । ‘भेडा चराउने ठाउँमा मानिसको बस्ती नै बसेपछि खाली क्षेत्र पाउनै मुस्किल छ,’ उनले भने, ‘भएको खाली ठाउँमा पनि घाँस नहुँदा समस्या छ ।’ सामुदायिक वन उपभोक्ता समितिले गरेको कडाइले पनि भेडापालन संकटमा परेको उनले जनाए । चैत नलाग्दासम्म भेडालाई चरनको अभाव हुने गरेको छ । चैत सुरु भएपछि भेडा पाटनतिर उक्लन्छन् । भेडीगोठ ७ महिना पाटन र ५ महिना औलमा रहने उनले बताए ।


एक दशक अघिसम्म किसान भेडा लिएर जुम्लाका गुठीचौर, गर्ज्याङकोट, टोप्ला, डुँर्गी, ताम्तीलगायत ठाउँमा पुग्थे । पछिल्लो समय भेडाको माग बढ्दै गए पनि पाटनबाहेकका ठाउँमा चर्ने ठाउँ नै छैन । ‘उतिबेला औलका खुला चौर, जंगल र बाँझो पाखोमा भेडाका बथानै हुन्थे,’ सिंहले भने, ‘अहिले ती ठाउँमा स्थानीयकै भेडा चर्ने ठाउँ छैन ।’ पशुपालन व्यवसाय घट्दै गएको जिल्लाका किसान भेडापालनमा अग्रसर देखिएको उनी बताउँछन् ।


स्थानीय बजारमा एउटा भेडाको मूल्य १५ देखि २० हजार रुपैयाँ छ । पछिल्लो समय भेडाको मासु, ऊन, कम्बल, राडीपाखीलगायत सामग्रीको माग पनि बढिरहेको पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए । पाटनमा बस्ने भेडापालक किसानको आम्दानी वार्षिक ५ लाख रुपैयाँसम्म छ । स्थानीय सरकारले किसानलाई नस्ल सुधार गर्न उन्नत जातका ‘थुमा’ बोका वितरण गर्दै आएको उनले जानकारी दिए ।


जिल्लामा २५ देखि ३० हजार भेडा रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । बारेकोट गाउँपालिकामा मात्र १० हजार भेडा पालिएको कार्यालयको भनाइ छ । पाटनमा भेडालाई हावाहुरी तथा चट्याङ तथा वन्यजन्तुबाट जोगाउन चुनौती रहेको प्राविधिक सिंहको भनाइ छ ।

प्रकाशित : माघ १८, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?