कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भ्रमण वर्षमै सुनसान रारा

सरकारले पर्याप्त तयारी र पूर्वाधार विकास नगर्दा रारामा छैन उत्साह
राजबहादुर शाही

(मुगु) — ‘नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनका अवसरमा संघीय र प्रदेश सरकारले तामझामका साथ विभिन्न कार्यक्रम आयोजना गरे । कर्णाली प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा ‘यसपालि घुमौं कर्णाली’ अभियान सुरु गर्‍यो । तर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा केही समययता सुनसान छ ।

भ्रमण वर्षमै सुनसान रारा

एक महिनायता रारामा कुनै चहलपहल छैन । फाट्टफुट्ट आउने ५/७ जना पर्यटकको भरमा रारामा सञ्चालित होटल चलिरहेका छन् । पर्यटकीय चहलपहल नहुँदा रारा राष्ट्रिय निकुञ्जका कर्मचारी, सेना र होटल व्यवसायी फुर्सदिला छन् । भ्रमण वर्ष सुरु भएपछि पर्यटक आउने आशामा बसेका होटल व्यवसायी निराश छन् । ‘हिमपात र आगन्तुक चराका कारण रारा क्षेत्र मनमोहक बनेको छ,’ भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले भने, ‘पर्यटक नआउँदा हामी पनि फुर्सदिला बनेका छौं, व्यवसाय करिब शून्य जस्तै छ ।’ दैनिक आउने ५/७ जना पर्यटकसमेत होटलमा नबस्दा आम्दानी शून्य बनेको उनले गुनासो गरे । भ्रमण वर्ष सुरु भएपछि रारा झन् सुनसान बनेको उनले बताए । तालमा निकुञ्जले व्यवस्था गरेका ६ वटा रबरका डुंगा पर्यटक अभावमा लामो समयदेखि थन्किएका छन् ।


सरकारले पर्याप्त तयारी र पूर्वाधार विकास नगर्दा भ्रमण वर्षले रारामा कुनै उत्साह नल्याएको स्थानीयको गुनासो छ । ‘पुसदेखि हिउँले ढाकिएपछि पर्यटकको लर्को लाग्ने अपेक्षा थियो,’ स्थानीय नीरज भामले भने, ‘हिउँले रारा चम्किरहेको छ । तर अवलोकन गर्ने मान्छे कोही छैनन् ।’


हिउँ पर्ने क्रम बढे पनि पर्यटक नआउँदा दिक्क लाग्न थालेको डाँफे गेस्ट हाउसका प्रबन्धक बलिराज शाहीले गुनासो गरे । रारा ताल छेवैका दुई ठूला होटलसहित माझघट्ट होमस्टे महिना दिनदेखि खाली छन् । पर्यटक बोक्ने प्रतीक्षामा रहेका डेढ सय घोडा पनि कामविहीन बनेको उनले जनाए । ‘घोडालाई कहिले ताल्चा त कहिले मिलीचौरतिर चराउँदै व्यवसायीले दिन काटिरहेका छन्,’ उनले भने, ‘पर्यटक नहुँदा हिमपातका बेला राराको महत्त्व घटेजस्तै भएको छ ।’


पर्यटक आए कृषि उत्पादनले बजार पाउने आशा भए पनि अहिले घरमै थन्क्याउनुपरेको मुर्मागाउँका गोर्ख रोकायाले गुनासो गरे । हिमपातका कारण गमगढी–नाग्मा सडक अवरुद्ध बनेपछि पर्यटक नआएको पर्यटन व्यवसायीको भनाइ छ । रारामा पर्यटक नआउँदा होटल सञ्चालक, घोडा व्यवसायी र डुंगा चलाएर जीविकोपार्जन गर्नेहरू बढी समस्यामा परेको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । हवाई सेवा भरपर्दो नहुँदा पनि यस वर्ष पर्यटकको संख्या घटेको हो । ‘गमगढी–नाग्मा सडक कालोपत्रे नहुँदा र हवाई सेवा प्रभावकारी नहुँदासम्म जतिसुकै गफ लगाए पनि पर्यटकलाई आकर्षित गर्न सकिँदैन,’ उनले भने, ‘सरकारले भ्रमण वर्ष भनेर प्रचार मात्र गर्‍यो, पूर्वाधार विकासमा ध्यान नदिँदा बर्सेनि पर्यटक घटिरहेका छन् ।’


रारामा पूर्वाधार विकासका काम लामो समयदेखि अलपत्र छन् । भ्रमण वर्षअघि विद्युत् प्राधिकरणले रारामा विद्युत् सेवा पुर्‍याउने घोषणा गरेको थियो । तीन वर्षअघि सुरु भएको विद्युतीकरणको योजना अलपत्र पर्दा रारा क्षेत्रमा सञ्चार सेवा पनि भरपर्दो बन्न सकेको छैन । गमगाढ साना जलविद्युत् आयोजनाबाट रारामा विद्युत् लैजान पोल र तार खरिद गरिए पनि अधिकांश सामग्री जंगल क्षेत्रमा अलपत्र छन् । ‘पोल गाड्ने र तार तान्ने काम भइसकेको छ,’ विद्युत् प्राधिकरण, गमगढीका कार्यालय प्रमुख शिवप्रसाद पाण्डेले भने, ‘आगामी फागुनभित्र रारामा बिजुली बल्छ ।’ विद्युतीकरणका लागि रारा कन्स्ट्रक्सनलाई जिम्मा दिइए पनि कम्पनीको लापरबाहीले समस्या भएको उनले जनाए ।


रारा वरिपरि साइकल मार्ग निर्माणका लागि प्रदेश सरकारले यस वर्ष ३ करोड रुपैयाँ विनियोजन गरेको छ । तर भ्रमण वर्षअघि नै सुरु हुने भनिएको काम अझै हुन सकेको छैन । राराको विकासका लागि प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको बजेटसमेत फ्रिज गएको थियो ।

प्रकाशित : माघ १७, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?