२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुनको मूल्य माघयताकै उच्च, खपत ओरालो

रासस

काठमाडौँ — निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ । 

सुनको मूल्य माघयताकै उच्च, खपत ओरालो

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० ले बढेको हो । यही सोमबार र मङ्गलबार प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० ले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ पुगेको छ ।


यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा बिहीबार सुनको मूल्य प्रतिऔँस एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।


खपत ओरालो

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।


सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?