३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टोखा–छहरे सुरुङमार्ग : प्रारम्भिक अध्ययन सकियो

विमल खतिवडा

काठमाडौँ — चिनियाँ टोलीले काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेको छ । ९ जनाको टोलीले करिब एक महिना लगाएर सुरुङको अध्ययन गरेको थियो । अध्ययन टोली चीन फर्किसकेको छ ।

टोखा–छहरे सुरुङमार्ग : प्रारम्भिक अध्ययन सकियो

चैतसम्म टोलीले चीन सरकारलाई अध्ययन प्रतिवेदन बुझाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।


‘प्रतिवेदन बुझाइसकेपछि थप अध्ययनका लागि अर्को टोली आउनेछ,’ उनले भने, ‘त्यसपछि समझदारीपत्रमा हस्ताक्षर गरिन्छ । त्यसकै आधारमा टोलीले पूर्वसम्भाव्यता अध्ययन गर्नेछ ।’ प्रारम्भिक अध्ययनका क्रममा टोलीले साइट अवलोकन, डाटा संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । ‘उक्त क्षेत्रमा पर्ने सबै बस्ती र पहाडको सर्भे गरिएको छ,’ उनले भने, ‘अध्ययनको विस्तृत जानकारी हामीसँग आएको छैन, चीनमा सार्वजनिक गरेपछि मात्र आउनेछ ।’

कार्यालयले अध्ययनका लागि ठाउँ देखाउन नेपाली इन्जिनियरको टोली पठाएको थियो । टोलीले फर्किएको जानकारी इमेलमार्फत गराएको प्रमुख थापाले बताए । सुरुमा सुरुङको दूरी ७ किमि हुने भन्ने थियो । तर टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको छ । ‘लागतको कुरा आइसकेको छैन, रिपोर्ट आएपछि मात्र थाहा हुन्छ,’ थापाले भने, ‘सुरुङ निर्माण भने चीन सरकारबाटै हुनेछ ।’ यो खण्डमा सुरुङ निर्माण गर्नुको कारण रसुवागढी सडकको दूरी छोट्याउनु हो ।

‘सुरुङ निर्माण भएपछि करिब १२ किमि दूरी घट्नेछ,’ उनले भने, ‘अहिले रसुवागढी–स्याफ्रुबेसी–धुन्चे पुग्छौं, अब धुन्चे नपुगी रसुवागढीबाट स्याफ्रुबेसी–मैलुङ दोभान हुँदै विदुर आइनेछ ।’ गल्छी–त्रिशूली सडक घुम्नुपर्ने छैन । टोखाबाट गुज्रेभन्ज्याङ–छहरे–गंगटे सडक अहिले चालु छ । ‘त्यो सडक तादी नदीको किनारै किनार जान्छ,’ उनले भने, ‘गल्छीबाट पृथ्वी राजमार्ग–थानकोट हुँदै काठमाडौं छिर्नुभन्दा टोखाबाट नजिक पर्नेछ ।’


स्विस सरकारको सहयोगमा अहिले थानकोट–चित्लाङ सुरुङमार्गको अध्ययन भइरहेको छ । प्रारम्भिक अध्ययन अन्तिम चरणमा पुगेको प्रमुख थापाले जानकारी दिए । थानकोटबाट चित्लाङसम्मको दूरी ३ किमि रहनेछ ।

यसको प्रतिवेदन डेढ महिनाभित्र आउने उनले बताए । टोलीले फिल्डमा गएर अध्ययन गर्ने काम सकिसकेको छ । प्रतिवेदन बुझाउन मात्र बाँकी छ । रिपोर्ट आउनासाथ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु हुनेछ ।

यता बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा खण्डमा सुरुङ निर्माणका लागि डिजाइनको काम सकिएर ठेक्का प्रक्रियामा छ । स्विस सरकारकै सहयोगमा सुरुङको विस्तृत सम्भाव्यता अध्ययन गरिएको थियो ।

नेपाल सरकार आफैंले बनाउन लागेको यो सुरुङमार्गको लम्बाइ १ दशमलव ३ किमि छ । ‘अहिले यसको ठेक्का गर्ने तयारीमा छौं,’ प्रमुख थापाले भने, ‘धेरै समय लाग्दैन, छिट्टै ठेक्का गरेर काम सुरु गर्छौं ।’ यसको निर्माण लागत ८ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ ।

प्रकाशित : माघ १५, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?